कोरियाबाट सिकेर पोखरामा हरित क्रान्ति

समाधान संवाददाता २०८१ पुष ५ गते १९:४२

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको टोलीले दक्षिण कोरियाको सियोल अपसाइक्लिङ प्लाजाको अध्ययन भ्रमण गरेको छ । विश्वकै सबैभन्दा ठूलो अपसाइक्लिङ केन्द्रको रुपमा परिचित यस प्लाजाले फोहोर व्यवस्थापनमा उदाहरणीय काम गरेको छ ।

Advertisement


सियोल अपसाइक्लिङ प्लाजाले फोहोरलाई स्रोतमा रूपान्तरण गर्दै सर्कुलर इकोनोमीलाई प्रवद्र्धन गरेको छ । यसले सरकारी निकाय, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै अपसाइक्लिङ संस्कृतिलाई फैलाएको मेयर आचार्यले बताए ।
आचार्यले भने, ‘पोखरामा सञ्चालन हुने हरित परियोजनाका लागि यो भ्रमणले महत्वपूर्ण ज्ञान प्रदान गरेको छ ।’ उनका अनुसार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन बहुउद्देश्यीय ‘ग्रिन भेन्चर जोन’लाई सियोल अपसाइक्लिङ प्लाजाको मोडेलमा विकास गर्ने लक्ष्य राखिएको छ । यसले ‘हरित पोखरा, स्वच्छ पोखरा’ अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


सियोल अपसाइक्लिङ प्लाजाः फोहोरबाट सुन
सियोल अपसाइक्लिङ प्लाजा फोहोरलाई धनमा बदल्ने एउटा अद्भुत उदाहरण हो । यहाँ फोहोरलाई विभिन्न चरणमा प्रशोधन गरी नयाँ र उपयोगी उत्पादन बनाइन्छ । प्लाजामा पुग्नेबित्तिकै यस्तो लाग्छ कि फोहोरको पहाडबाट कला र सौन्दर्यको सिर्जना भएको छ । यहाँ फोहोरलाई विभिन्न प्रकारमा वर्गीकरण गरी पुनः प्रयोगका लागि तयार पारिन्छ । कलाकार, डिजाइनर र इन्जिनियर मिलेर फोहोरबाट अद्वितीय कलाकृति र उपयोगी वस्तुहरू बनाउँछन् । यी उत्पादनहरूलाई विशेष रूपमा डिजाइन गरिएका पसलहरूमा प्रदर्शन गरी बिक्री पनि गरिन्छ ।


प्लाजामा विभिन्न उमेर समूहका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिन्छ जसले अपसाइक्लिङको महत्वबारे जनचेतना फैलाउँछ र नयाँ पुस्तालाई यस क्षेत्रमा काम गर्न प्रेरित गर्छ। आधुनिक प्रविधिको प्रयोग गरी यहाँ कम जनशक्तिबाट अधिकतम उत्पादकत्व हासिल गरिएको छ ।

रिसाइकल र अपसाइकलमा फरक
रिसाइकलमा फालिएका सामग्रीलाई प्रशोधन गरेर नयाँ उत्पादन बनाइन्छ भने अपसाइकलमा सृजनात्मकता प्रयोग गरी फोहोरलाई उच्च मूल्यका उत्पादनमा रूपान्तरण गरिन्छ ।

Advertisement

पोखरामा सञ्चालन हुने हरित परियोजनाले फोहोर व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको मेयर धनराज आचार्यले बताए । यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने, रोजगारी सिर्जना गर्ने र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनेछ । पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन बहुउद्देश्यीय ‘ग्रिन भेन्चर जोन’ ले कोसेली घर र अध्ययन केन्द्रकारुपमा काम गर्दै स्थानीय उत्पादनहरूको प्रदर्शनी र ज्ञान आदानप्रदानको थलोको रूपमा विकास हुने उनको भनाइ छ ।


परियोजनाले पोखराका ३३ वटै वडाका १ सय २६ समूहलाई समेट्दै करिब ३ हजारलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ । यो सतप्रतिशत अनुदानमा आधारित परियोजना हो ।
परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि ज्ञान आदानप्रदान गर्ने हेतुले कोरिया गएको टोलीमा मेयर धनराज आचार्य वडाध्यक्षहरू रुद्रनाथ बराल (वडा नम्बर ८), दीपेन्द्र मर्सानी (वडा नम्बर ९), सरसफाइ शाखा प्रमुख बलराम पाठक, सार्वजनिक निजी साझेदारी शाखाका प्रमुख इन्जिनियर नेत्र तिमिल्सिनासहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद रिजाल, उपसचिव महेन्द्रकुमार सापकोटा, युएनडिपीका सुदीप अर्याल र यमुना सुवाल लगायत छन् ।


कोरियाको सफल फोहोर व्यवस्थापन प्रणालीबाट प्रेरणा लिँदै पोखरामा पनि यसैरी प्रभावकारी व्यवस्थापन गर्ने लक्ष्य राखिएको मेयर आचार्यले जनाए । ‘कोरियाको भ्रमणबाट प्राप्त ज्ञान र अनुभवलाई पोखरामा लागु गरी दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रयास गरिनेछ,’ उनले भनेका छन् ।


परियोजनाले नेपाल र कोरियाबीचको विकास साझेदारीलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । कोइका र युएनडिपीको सहयोगले पोखराको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया