‘टुर दी पोखरा’ : स्वास्थ्य र पर्यटनका लागि साइकल

पोखरा । साइकल सिटी पोखराले पुस १३ गते सातौंं ‘टुर दी पोखरा’ साइकल र्याली गर्ने भएको छ । स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल मूल नारासहित साइकल सिटीले साइकल यात्रीको सहभागितामा र्याली गर्न लागेको हो । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने बताए ।
‘अहिले हाम्रो देशबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको छ,’ उनले भने, ‘यो कुरा पहिले नै थाहा भएको भए न हाम्रो स्वास्थ्य बिग्रन्थ्यो न वातावरण ।’ साइकलले इन्धन खर्च नगर्ने भएकाले यसको महत्व बढ्दै गएको उनले सुनाए । ‘साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ,’ उनले भने, ‘साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । टुर दी पोखरालाई पोखराको ब्रान्ड बनाउन लागि परेका छौं । यसबाहेक सहरलाई साइकल सिटीका रुपमाअघि लैजान पनि हाम्रो प्रयास हो ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं साइकल सिटी पोखराका वरिष्ठ सल्लाहकार आनन्दाराज मुल्मीले टुर दी पोखरालाई अन्तराष्ट्रियस्तरमा चिनाउन आफूहरु लागी परेको बताए ।
पुस १३ गते पृथ्वीचोक, बसपार्क, बुद्ध चोक, रामबजार, अमरसिह चोक, गौडामुख, रानीपौवा, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, पिएन क्याम्पस, मोहोरिया चोक, सिर्जनाचोक, लेकसाइटको हल्लन चोक, राष्ट्र बैंकचोक, बिरौटा, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोडबाट सभागृह हलमा पुगी र्याली सकिने छ । र्यालीमा ५ सय जनाको सहभागिता रहने आयोजकको अनुमान छ ।
त्यसदिन लामो समयदेखि साइकल चलाउने व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । सम्मान गर्ने व्यक्तिको नाम केहि दिनमा सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । र्यालीमा सहभागिताका लागि १ हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ । उक्त शुल्क तिरेपछि ज्याकेट, खाजा र मेडल प्राप्त गर्न सकिने पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।
यसअघि साइकल सिटी पोखराले स्वास्थ्य मुटुको लागि साइकल, साइकल सिटीका लागि जहिले पनि जहाँ पनि, स्वास्थ्य वातावरण तथा पर्यनका लागि साइकल, बोसो पगालौं इन्धन बचाऔं, थोपा थोपा इन्धन बचाउ लगायतका नारामा टुर दि पोखरा मनाएको थियो ।
यसपटकको टुर दी पोखराका लागि गण्डकी प्रदेशको सामाजिक विकास तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
तपाईको प्रतिक्रिया