![](https://www.samadhannews.com/wp-content/uploads/2024/12/1-Sunil-Ulak-2.jpg)
पोखरा । पोखराको बाटुलेचौरमा २०२४ सालमा अनौठो आकाशीय घटना भएको थियो । जसले नेपालको मात्र नभई विश्वकै चासो र ध्यान आकर्षित गर्यो । त्यसरात ८ बजेतिर एक चम्किलो वस्तु आकाशमा देखापरेको, त्यससँगै एक ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय बताउँछन् ।
सुशान्त प्रधानको पोडकास्टमा हालै कुराकानी क्रममा संरक्षणकर्मी एवं इतिहासविद् पोखराका सुनील उलकले युएफओ (अनआइडेन्टिफाइङ अब्जेक्ट) सम्बन्धी खुलासा गरेका थिए । उनले यस विषयमा रोचक जानकारी र आफ्नो धारणा प्रस्तुत गरेका थिए, जसले स्रोताहरूको ध्यान खिचेको थियो । पोखरेलीले बिर्सिसकेको घटना पुनः चर्चामा आएको छ ।
युएफओ (अनआइडेन्टिफाइङ अब्जेक्ट) अर्थात अज्ञात उडान तस्तरी । के साँच्चै युएफओ हुन्छ ? पोखराको बटुलेचौरमा ५ दशकअघि भएको अनौठो घटनालाई किन अमेरिकाले युएफओ भनेर प्रस्तुत गरिरहेको छ ।
युएफओका बारेमा विज्ञानले आजसम्म चुरो कुरो पत्ता लगाउन सकेको छैन । तर बाटुलेचौरमा भएको घटनालाई अमेरिकी निकायहरुले युएफओ भनेर अथ्र्याए । घटना भएको भोलिपल्ट, घटनास्थलमा स्थानीयले धातुको एउटा पाता फेला पारेका थिए, जुन लगभग ६ फिट चौडाइ र ४ फिट उचाइको थियो । पाता स्थानीय कुलप्रसाद तिमिल्सिनाको बारीमा भेटिएकाले उनले लगे ।
उलकका अनुसार स्थानीय बासिन्दाहरूले आकाशमा अनौठो चम्किलो वस्तु देखेका थिए, जसले उनीहरूलाई आश्चर्यचकित बनायो । यो वस्तु केही समयसम्म आकाशमा देखापरेर अचानक गायब भएको थियो । घटनापछि, स्थानीयहरूले यसबारे विभिन्न अड्कलहरू लगाए । तारा खसेको अनुमान भयो तर यसको वास्तविकता पुष्टि हुन सकेन । उलकले यो घटना युएफओ देखिने घटनाहरूको सूचीमा थपिएको उल्लेख गरेका छन् ।
बाटुलेचौरमा युएफओ खसेको भनेर अमेरिकाले भन्नुको पछाडि सैन्य परीक्षण, जासूसी कार्यक्रम वा भू–राजनीतिक उद्देश्य लुकेको हुन सक्छ
विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पढाउने एकजना भोलिन्टियर अमेरिकन शिक्षकले घटनास्थलको फोटो खिचेर र घटना सम्बन्धी सम्पूर्ण जानकारी अमेरिकन दुतावासलाई दिएको हुन सक्ने त्यसपश्चात अमेरिकाबाट अनुसन्धान गर्न आएको स्थानीयको धारणा रहेको उलको भनाइ छ । उनले त्यससम्बन्धमा स्थानीयलाई खासै जानकारी पनि दिएनन् ।
डेढ महिनापछि कुनै स्थानीयले तत्कालीन अञ्चलाधीश दक्षबहादुर गुरुङलाई पाताको बारेमा जानकारी दिएपछि उनले पाता ल्याउन गाडी पठाएका थिए । उनले पाता अमेरिकन दुतावासमा दिएको हुन सक्ने स्थानीयको ठम्याइ छ । अञ्चलाधीश कार्यालय लगिएको पातो त्यसपछि कतै भेटिएन । त्यसको बारेमा सोध्दा विन्ध्यवासिनी विद्यालयमा फिर्ता पठाइसकेको बताएका थिए ।
त्यसरात आकाशबाट खसेको अज्ञात उडिरहेको वस्तुको अवशेष तल्लाकोट, अर्मलाकोट तथा तुरेपसलमा पनि भेटिएको थियो । त्यही रात बाटुलेचौर बगैंचामा पनि ठूलो समीको रुखको हाँगा र पातहरु समेत डढ्ने गरी सानो ताउलो जस्तो वस्तु खसेको तथा खरानी पनि भेटिएको थियो ।
घटनाको ५ दशकपछि पनि उक्त घटनाको वास्तविकता पत्ता लागेको भने छैन । घटना विभिन्न कुरासँग जोडिएको उलक बताउँछन् । घटना स्थानीय र अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको थियो । अमेरिकाले यस घटनालाई गम्भीरताका साथ अध्ययन गर्न सुरु गरेको थियो ।
![](https://www.samadhannews.com/wp-content/uploads/2024/12/ulak-746x1024.jpg)
प्रारम्भिक अनुमान अनुसार, यो वस्तु एउटा युएफओ भएको सोचियो तर पछि थप अनुसन्धानले यसलाई सोवियत संघको कसमस २०८ उपग्रहको अवशेष भएको पुष्टि ग¥यो । जसले २१ मार्च १९६८ मा पृथ्वीको कक्षामा प्रवेश गरेको थियो र २५ मार्चमा पृथ्वीको वातावरणमा प्रवेश गर्दा यसका अवशेष पोखरा क्षेत्रको बटुलेचौरमा खस्न पुगेको थिए ।
अमेरिकी अधिकारीहरूले यसको विश्लेषणका लागि प्रमाणहरु नेपालबाट अमेरिका पठाउन अनुरोध गरे । नेपाल सरकारले यस घटनामा चासो लिएको भए पनि, थोरै अवशेषमात्र अमेरिका पठाउन अनुमति दिइयो । तर, त्यहाँ सोभियत संघले यस घटनामा कुनै चासो देखाएको छैन, जसले यसलाई थप रहस्यमय बनाएको छ ।
यो घटनाले अन्तरिक्षसँग जोडिएको कुरा प्रमाणित गर्न सकेन, तर यसले नेपालका लागि एक ऐतिहासिक घटना बनाएको छ । अमेरिकाको ‘प्रोजेक्ट मून डस्ट’ अन्तर्गत अनुसन्धान गरिएको थियो । उक्त परियोजना युएफओ तथा अन्य अनौठा आकाशीय घटनाहरूको अनुसन्धानका लागि थियो । घटनापछि अमेरिकाले नेपालको सरकारसँग सहकार्य गरेर थप अनुसन्धान गरेको उल्लेख छ ।
युएफओ घटनासँग खम्पा विद्रोहको सम्बन्ध
खम्पाहरू (तिब्बती लडाकु) र उनीहरूको नेपालमा गतिविधिलाई यस घटनासँग जोडेर उलकले व्याख्या गरेका छन् । खम्पाहरूले चीनविरुद्ध विद्रोह गर्ने क्रममा नेपालको भूभाग प्रयोग गरेका थिए, जसले यस क्षेत्रमा अन्तर्राष्ट्रिय ध्यान खिच्यो । यूएफओ घटनाले खम्पासँग सम्बन्धित रहस्यमय गतिविधि हो कि भन्ने शंका उत्पन्न गरायो । उनीहरूलाई अमेरिका, विशेष गरी सीआईएले सहयोग गरेका थिए । उलकले यूएफओ दुर्घटनालाई खम्पा गतिविधि ढाकछोप गर्न गरिएको षड्यन्त्रका रूपमा हेर्ने सम्भावना प्रस्तुत गरे । खम्पाहरूको गतिविधिलाई अन्तर्राष्ट्रिय शक्तिहरूले नजरअन्दाज गर्न र चीनसँग तनाव बढाउन यो घटना प्रयोग भएको हुन सक्छ ।
नेपाल सरकारको रिपोर्ट
नेपालले सन् १९६८ मा पोखरामा भएको यूएफओ दुर्घटनाबारे कुनै आधिकारिक सार्वजनिक रिपोर्ट जारी गरेको छैन । यस घटनामा अमेरिकी सेनाले अनुसन्धान गरेको भन्ने अनुमान गरिएको छ, तर नेपाली सरकारको कागजात वा रिपोर्ट सार्वजनिक भएका छैनन् ।
सुनील उलक युएफओ घटनालाई नेपालका लागि ऐतिहासिक रहस्य, अन्तर्राष्ट्रिय षड्यन्त्र, र रणनीतिक चुनौतीका रूपमा व्याख्या गर्छन् । यसले नेपाललाई केवल युएफओ दृष्टिकोणको केन्द्र मात्र नभई भू–राजनीतिक खेलको हिस्सा पनि देखाएको बताउँछन् । पोखरामा भएको युएफओ दुर्घटनासँग सम्बन्धित सार्वजनिक भएका रिपोर्ट गोप्य छन् । तर केही प्रमुख रिपोर्ट र अनुसन्धान बाहिर आएका छन् ।
अमेरिकी पेन्टागन र ‘प्रोजेक्ट ब्लु बुक’
‘प्रोजेक्ट ब्लु बुक’ अमेरिकाको १९५२–१९६९ बीचको युएफओ अनुसन्धान परियोजना थियो । जसले धेरै युएफओ घटनाहरूलाई दस्तावेज गरेको थियो । यस परियोजनामा पोखराको युएफओ घटनाबारे कुनै आधिकारिक रिपोर्ट छैन, तर युएफओ घटनाहरूको सार्वजनिक विवरणका आधारमा यस घटनालाई यो परियोजना अन्तर्गत समेटिएको मानिन्छ ।
रोसवेल र अन्य युएफओ घटनाहरूको सार्वजनिक
रोसवेल दुर्घटनाले धेरै युएफओ घटनाको खोजीलाई सार्वजनिक बनाएको छ, र पोखरामा भएको युएफओ दुर्घटनासँग यसको कनेक्सन खोजिने प्रयास गरिएको छ । धेरै रिपोर्टहरू र पुस्तकहरू जसले यूएफओ र एलियन कवर–अपका बारेमा चर्चा गरेका छन्, यिनीहरू खम्पा विद्रोह र नेपालमा भएको घटनासँग जोडिएका छन् ।
अमेरिकी दाबीको सत्य जाँच्नुपर्छ
सुनील उलक, इतिहास अध्येता
२०२४ सालमा बाटुलेचौरमा भएको भनिएको घटनालाई अमेरिकाले युएफओ भनेर वास्तविक गतिविधिलाई ढाकछोप गर्न खोजेको हुन सक्छ । अमेरिकाले एउटा पनि प्रमाण नछोडि लैजानु, अनुसन्धानको लागि आइरहनु तथा अन्य देशले बाहेक अमेरिकाले मात्र युएफओ भनेर प्रमाणित गर्न खोज्नु शंकास्पद छ । अमेरिकाले विगतमा पनि कतिपय युएफओ घटनाहरूलाई आफ्नो रणनीतिक उद्देश्यका लागि ‘अज्ञात वस्तु’ को रुपमा प्रस्तुत गरेको इतिहास छ । जानकारीलाई गोप्य राख्न, अथवा आफ्ना सैन्य तथा गुप्त परीक्षणलाई ढाकछोप गर्न पनि यस्तो गरिएको हुन सक्छ ।
ध्यान मोड्ने रणनीति अनुरुप अमेरिकाले परिक्षण गरिरहेको गुप्त विमान वा अन्य प्राविधिक विवरण लुकाउन ‘अज्ञात वस्तु’ भनिएको हुन सक्छ । अमेरिकाले दिएको बयानलाई छानबिन गरी प्रमाणका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ । घटनाबारे प्रमाण र तथ्यहरूको खोजी नेपाल सरकार र वैज्ञानिक संस्थाहरूले गर्नुपर्छ । अमेरिकाले दिएको विवरणको सत्यता जाँच्न आवश्यक छ । घटनाका प्रत्यक्षदर्शी वा स्थानीय स्रोतहरूसँग प्रमाण जुटाउनु महत्वपूर्ण छ । सत्यतथ्य बाहिर ल्याउन गम्भीर अनुसन्धान आवश्यक छ ।
![](https://www.samadhannews.com/wp-content/uploads/2022/05/Pramila-100x100.jpg)
प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया