डा. मनोज पौडेलद्वारा गण्डकी बोर्डिङका विद्यार्थीलाई ७ लाखको छात्रवृत्ति प्रदान

समाधान संवाददाता २०८१ पुष ६ गते १६:१८

पोखरा । अमेरिकाको एक प्रतिष्ठित अस्पतालमा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत नेपाली डा. मनोज पौडेलले आफ्नो मातृभूमिको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

Advertisement

महाराजगन्ज मेडिकल कलेजबाट एमबिबिएस गरेका डा. पौडेलले अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियाका विश्वविद्यालयबाट स्पाइनल कर्ड र स्पोर्ट्स मेडिसिनमा एमडी गरेर क्यालिफोर्नियाका विभिन्न अस्पतालमा डाक्टरी पेशाको अनुभव सँगालेका थिए। सन् २०२३ मा उनी अमेरिकाको मेरिल्याण्डस्थित बाल्टिमोरको जोन होप्सन अस्पतालमा भर्ना भई मेडिकल साइन्समा डिएम कोर्स पूरा गरेर क्यालिफोर्नियाकै एक प्रतिष्ठित अस्पतालमा वरिष्ठ डाक्टर पदमा नियुक्त भएका हुन्।

गण्डकी बोर्डिङ स्कूलबाट सन् २००२ मा एसएलसी र २००४ मा प्लस टु उत्तीर्ण गरेका डा. पौडेलले आफूले प्राप्त गरेको ज्ञान र सीपलाई देशको सेवामा लगाउन चाहेको बताएका छन्। उनले आफ्ना बुबाआमाको नाममा स्थापित ‘शोभाकान्त-विना पौडेल छात्रवृत्ति’मार्फत गण्डकी बोर्डिङ स्कूलका दुईजना विद्यार्थीलाई रु. ७ लाखको छात्रवृत्ति प्रदान गरेका हुन्।

Advertisement

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी प्रवीण घर्ती (बागलुङ) र अमृत भण्डारी (स्याङ्जा) गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन्। आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका यी दुवै विद्यार्थीलाई डा. पौडेलको यो सहयोगले नयाँ जीवन पाएको छ।

गण्डकी बोर्डिङ स्कूलको वार्षिक उत्सवमा एक भव्य समारोहबीच डा. पौडेलका बुबाआमाको हातबाट विद्यालयका प्राचार्यलाई रु. ७ लाखको चेक हस्तान्तरण गरिएको थियो। यस अवसरमा डा. पौडेललाई विद्यालयले प्रशंसापत्र प्रदान गरेको थियो।

Advertisement

विद्यालयका पूर्व सहायक प्राचार्य शिवलाल धितालले यस कार्यक्रमको संयोजन गरेका थिए। उनले डा. पौडेलको यो सहयोगले विपन्न विद्यार्थीहरूलाई उज्ज्वल भविष्य बनाउन प्रेरणा मिल्ने बताए।

तपाईको प्रतिक्रिया