
सरुभक्त
कालो लेखिए पनि
माछापुच्छ्रे सुन्दर देखिन्छ
चिन्ताका कर्कटपाताहरू
अनुहार हराएका अनुहारमा टाँसेर
स्तम्भनका सन्नाटा स्नान गरी
वर्तमान नबाँच कोलाहलमा
सुकेको झरनामा
काकाकुल तिर्खाले उडेर
एआइहरू कृतिम यथार्थका उपस्थितिमा
हाँस्ने छन् क्वान्टाका रक्सी धोकेर
साइबर गल्लीहरूमा
इतिहासका हत्याराहरू
समयान्तर उभिएर
गाउँदैनन् प्रशान्त बोधिगीतहरू
रक्तबीजका रक्तिमता चुसेर मोटाएका
स्याँउँस्याँउती जुकाहरू
स्वधर्मका विषपान गरेर
पृथ्वी परिकल्पनामा निमग्न छन्
च्यातिएका अोजन छिद्रबाट
घुसेका आतङ्क वेखवर
मानिसको एउटा ज्ञानी पुस्ता
परमाणु बमका जुस पिएर
निदाएका छन्
आफ्नै फोक्सोका क्रन्दन सुन्दै
ध्रुवीय हिउँका गीतहरू
शताब्दीको अन्तिम शिवरात्रीमा
उखु पड्केका छन्
गुइँठाको धुनीमा
लामखुटटे विमानहरू उडेका छन्
छेपारो छद्मावरणमा
पुतली नाचेर
सन्तप्त सुनामी उर्लेका सागरहरू
हिमालतिर फर्केर
अर्जी हाल्दैछन्- “आँसुको खोला भएपनि बगाइदेउ ! “
एकादेशका कथा
वन र वनेली सभ्यता
उत्खनन् प्रतीक्षामा भूमिगत छन्
अतिथि युगको पर्खाइमा
भूमिगत जलभण्डारहरू तिर्खाएका क्रन्दनले
ढुङ्गाका यार्सागुम्बाहरूलाई सुनाइरहेछन्
लेकाली पावनताका गीतहरू
विषाक्त हावा तानेर बाँचेको
अवशिष्ट मानवता
विस्तारित ब्रह्माण्डका महत्वाकांक्षा बोकेर
युद्धरत् छन् अन्तरिक्षमा
पृथ्वीसूक्तका पानाहरू
झ्यारछ्यार च्यातेर
अतिमानवहरू महामानवहरूका खोजमा
तपश्चर्यारत् छन्
माइकल ज्याक्सनका उपनिवेशवादी तृष्णाले
छालाको रङ्ग बदले पनि
बदलिदैनन् मनका रङ्गहरू
वैश्विक उष्णताको चङ्गा उडाएर
तिमी सोचको वर्णपटमा किन
सेतो रङ्गको महाख्यानमा भुलेका छाै ?
के नेल्सन मण्डेलाको कालो रङ्ग
सुन्दर थिएन ?
धरतीका यावत् रङ्गहरू
धरती जस्तै सुन्दर हुन्छन्
तिमी नैसर्गिक रङ्गहरूको हत्या गरी
आखेट यात्रामा निस्कन्छाै भने
पर्याविनाशको जालमै त जाकिन्छाै
माकुराको भोजन बन्न
तिमी साइबर गल्लीहरूबाट
मातेर निस्केका एआइहरूलाई नसोध-
माछापुच्छ्रे किन कालो देखिन्छ?
मातमा पनि तिनले
कृतिम यथार्थ मनले
सत्य बोल्नेछन्-” तिम्रो मन कालो भएर ।”
अन्यथा,
कालो देखिए पनि
सेतो देखिए पनि
माछापुच्छ्रे सुन्दर देखिन्छ ।
तपाईको प्रतिक्रिया