नोबेल विजेता काङका प्रमुख रचना

दक्षिण कोरियाको सबैभन्दा ठूलो र प्रख्यात पुस्तक पसल हो ‘क्योबो’ । २३ लाख पुस्तक सजाइएको त्यो पसलको एउटा दराज भने खाली नै थियो । त्यो दराजमा एउटा सूचना टाँसिएको थियो । जसमा लेखिएको थियो, ‘साहित्यमा नोबेल पुरस्कार विजेता दक्षिण कोरियाली लेखकको लागि आरक्षित” । त्यही खाली दराज हान सन् २०२४ को साहित्यमा नोबेल पुरस्कार विजेता भए पश्चात् खाली रहनु परेन ।
त्यो खाली ठाउँ दक्षिण कोरियाकी लेखिका हान कांङको पुस्तक ‘द भेजिटेरियन’ ले मात्र लिएन कि बरु विश्व साहित्यमा एउटा नयाँ अध्याय थपियो र कोरियाली साहित्यानुरागीमा उत्साह र हौसला पनि थपियो । हानले साहित्यमा काव्यपूर्ण अभिनव र प्रयोगात्मक शैली अपनाएर समकालीन गद्य लेखन क्षेत्रकी महत्त्वपूर्ण लेखिका बनेकी छिन् । हान तीस वर्षदेखि निरन्तर प्रकाशित लेखिकाको रूपमा रहेर साहित्यमा गरेको योगदान र कोरियाली संस्कृतिको बढ्दो विश्वव्यापी प्रभावको समयमा साहित्यमा नोबेल पुरस्कार जित्नु एसियाको लागि गर्व हो ।
अन्य वर्षको तुलनामा यस वर्षको साहित्यमा दिइएको नोबेल पुरस्कारको विशेष अर्थ र महत्त्व छ । किनकी पहिलो पटक एसियाली र कोरियाली महिला लेखिकालाई सम्मान मिलेको छ । सन् १९७० मा कोरियाको ग्वाङ्जु शहरमा जन्मिएकी हानले लेखनको माध्यमबाट मानवीय जीवनका त्रासदी तथा त्यसबाट उत्पन्न गल्ती, हिंसा, पीडा र अस्तित्वमा अन्वेषण गर्दै आएकी छिन् । हानलाई स्वीडिस एकेडेमीले पुरस्कारको घोषणामा भनेको थियो, ‘हानको लेखनमा शरीर र आत्मा. तथा जीवित र मृतकबीचको सम्बन्धको अद्वितीय तथा अनौठो चेतनामा जोड दिइएको छ’ ।
समितिले घोषणा समारोहमा हानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उपन्यास ‘द भेजिटेरियन’ साथै ‘द ह्वाइट बुक’, ‘ह्युमन एक्टस्’, ‘ग्रिक लेसन्स’ पुस्तकका चर्चा गरेको थियो । पूर्ण मानवीय सङ्घर्ष, जीवनको दुर्दशा र समाजको जटिलतालाई अति मार्मिक तबरबाट चित्रण गरेर छोटो समयमा नै विश्व साहित्यमा उज्यालो छर्न सफल भएकी हानको बाल्यकाल चुनौती र कठिनाइले भरिएको थियो ।
सन् २०१६ मा आएको उपन्यास ‘द ह्वाइट वुक’ एउटा दुःखको दस्तावेजका रूपमा मानिन्छ । यो उपन्यासले उनको काव्यात्मक शैलीलाई उजागर गरेको छ । ‘स्वेत रङगमा सबै रङ सम्मिलित हुन्छन् । संसारका सबै किरण यसैमा घुलेका हुन्छन् । स्वेत रङ्ग र शान्तिबिच कुनै सम्बन्ध हुँदैन ।’ पुस्तकको उक्त पङ्क्तिले कोरीयाली समाजमा गहिरो प्रभाव पारेको थियो । सन् १९९३ देखि साहित्यमा हात हालेकी हानको पहिलो रचना ‘पाँच कविताका एक सङ्गह’ दक्षिण कोरियाली पत्रिका ‘साहित्य र समाज’ मा प्रकाशित भएको थियो । यहीँबाट प्रारम्भ भएको उनको साहित्यिक यात्राको निरन्तरता सन् १९९५ मा पहिलो कथा सङ्ग्रह ‘लव आँफ एवसू’ प्रकाशनसँगै हालसम्म चलेको छ ।
हान आफ्नो साहित्यमार्फत मानव समुदायलाई मानवीय सम्बन्धका तापमान भिन्नभिन्न भूगोलमा फरक फरक हुन सक्छन् तर अन्ततः हामी एक अर्काका लागि उभिनु र मिल्नुपर्छ । यो नै निर्विकल्प सत्य हो भन्ने सन्देश दिन चाहन्छिन् । हानको साहित्यिक रचनाको इपिसेन्टर मानवीय संघर्ष हो । उनले प्रेम, घृणा, विछोडको व्यथा र बाँच्ने रहर जस्ता भावनाका शब्दहरूलाई निचोरेर एउटा बेजोड अनुभवको स्वाद प्रदान गरेकी छन् ।
द भेजिटेरियनः उनको हालसम्म कै प्रसिद्ध कृति हो । मासु छोड्ने निर्णय गरेकी योङ्ग हायको निर्णयबाट उत्पन्न शारीरिक तथा मानसिक हिंसाको श्रृङ्खलालाई पाठक समक्ष छर्दै र उक्त निर्णयबाट व्यक्तिलाई कसरी हिंसातर्फ उन्मुख गराउँछ भन्ने विषय प्रस्तुत गर्दै महिलाको जीवनमा उत्पन्न भएको पारिवारिक तथा सामाजिक तनावको कथा उठाएकी छिन् । कसरी एउटा महिलाको निर्णयमा समाज बाधक बन्छ ? अस्वीकृतिका पर्खाल निर्माण गरिन्छ ? दबाबमा राख्ने अनवरत प्रयास हुन्छ ? साथै सामाजिक मान्यतामा बाँध्ने प्रणाली कै विरुद्धमा आलोचना गर्न बाध्य बनाइन्छ ?
हानको साहित्यिक रचनाको इपिसेन्टर मानवीय संघर्ष हो । उनले प्रेम, घृणा, विछोडको व्यथा र बाँच्ने रहर जस्ता भावनाका शब्दहरूलाई निचोरेर एउटा बेजोड अनुभवको स्वाद प्रदान गरेकी छन्
मानवीय स्वतन्त्रता, शरीरको स्वायत्तता, हिंसा, पहिचान र समाजिक नियन्त्रण जस्ता विषयलाई शब्दमार्पmत उद्घाटित गरेर मानवीय भावनाका विभिन्न पाटोमा अन्वेषण गरेकी छिन् । वास्तवमा मासु खान छोड्ने निर्णय केवल आहार सम्बन्धी परिवर्तन वा छनौट होइन । यो एउटा मौन विप्लव हो । शरीरमा स्वायत्तता स्थापनाका लागि गरिएको अथक प्रयास हो । अस्तित्वको लागि गरिएको खोज र लडिएको लडाइँ हो । उपन्यासमा योङ्ग हाय समाजको मूल्य मान्यताबाट उन्मुक्त भएर अस्तित्वको नयाँ अर्थ खोज्दै, प्रकृतिसँग अनमोल सम्बन्ध बनाउँदै प्राकृतिकमय जीवन बिताउने पक्षमा उभिन्छिन् र भन्छिन्ः ‘मानव भन्छ कि म केवल शाकाहारी बन्न चाहन्छु । तर म किन शाकाहारी बन्न चाहन्छु भन्ने कुरा मात्र मेरो निर्णय होइन । यो मेरो अस्तित्वको मामिला हो ।’
महिला पात्र योङग हायको वरिपरि घुमेको उपन्यास तीन फरक पात्र योङग हायका पति, भिनाजु र दिदीको चरित्रका दृष्टिकोणबाट बुनिएको उपन्यास योङग हायको दृष्टिकोण भन्दा नितान्त विपरित छ । तीन फरक पात्रका दृष्टिकोण विद्रोह र निषेध, हिंसा तथा कामुकता एवम् स्वको जटिल रूपान्तरणमा उतारिएको मन नै बिथोल्ने उपन्यास हो– ‘द भेजिटेरियन’ । मानवीय स्वतन्त्रता, पहिचान र समाजिक दवाव र जटिलता जस्ता विषयलाई जोडदाररूपमा उठाएकी ‘द भेजिटेरियन’ को मुख्य महिला पात्रले शारीरिक तबरबाट मासु खान छोडेपछि उत्पन्न पारिवारिक, मानसिक र सामाजिक दवावका तह लुकेका हुन्छन् भन्दै मानवीय अस्तित्वको खोज गरेकी छिन् । कोरियाली समाजको सांस्कृतिक, पारिवारिक र लैङ्गिक संरचनाको आलोचना गर्दै महिला स्वतन्त्रता, शरीर र पहिचानका विषयमा प्रखर बक्ताको रूपमा ‘द भेजिटेरियन’ मा उभिएकी छिन् ।
उपन्यासमा योङग हाय एक साधारण गृहिणी हुन् । उनले एक रात सपनामा आफु रगत तथा मासुमा लतपत्तिएको डरलाग्दो तथा घृणित प्राणीमा परिणत भएको र पछि मांसाहारीबाट शाकाहारी बनेको देख्छिन् । उनी मानवको क्रुरताको प्रतिरोधमा वृक्ष बन्न चाहन्छिन् । यो सबै कार्यमा अदृश्य र अचेतन शक्तिको हात रहेको हुन्छ । यो घरेलु कथा योङग हायको श्रीमान, उनको दिदी र भिनाजुको विचारलाई प्रकट गर्दछ । उपन्यासको पहिलो वाक्य ‘मेरी श्रीमती शाकाहारी बन्नुभन्दा अगाडि मैले उनलाई सबै तरिकाबाट सामान्य रुपमा महसुस गरे ।’
अब प्रश्न उठ्छ को सामान्य छ ? उपन्यासले हामीलाई यौन उत्पीडनको सामना र यौन सौन्दर्यसँग परिचय गराउँदै भन्छ, ‘अब म मेरो स्तनमा मात्र भरोसा गर्न सक्छु । मलाई मेरो स्तन मन पर्छ, उनीहरू कसैले मार्न सक्दैनन् । हात, खुट्टा, जिव्रो, दृष्टि सबै हतियार हुन् । जुन कुनै पनि सुरक्षित छैनन् ।’ उपन्यासको अन्त्यतिर, योङग हायले आफूलाई पानी र सूर्यको किरण मात्र आवश्यक भएको वृक्षको रूपमा महसुस गर्छिन् । उपन्यासको पहिलो भाग ‘द भेजिटेरियन,’ दोस्रो भाग ‘ब्लु म्गाग्नोलियन मार्क’ राखिएको जुन भिडियो कलाकार चेओङ्को कथालाई निरन्तरता दिन्छ र तेस्रो भागले दिदी इन–हेको विचार र अनुभवलाई उजागर गरेको छ ।
यो उपन्यास योङग हाय, उनका पति, दिदी, भिनाजु आदि पात्रका बिचमा अलमलिएको र जटिल सम्बन्धको चित्रमा योङ–हायको सङ्घर्ष, दिदीको मौन समर्थन, दुबै पुरुष पात्रहरूको उदासीनता र स्वार्थी प्रवृत्तिका मानसिकताले भरिएको छ । उपन्यासका मुख्य पात्रहरू एकातर्फ प्रायः मानसिक तनाव, अस्तित्वको सङ्कट र व्यक्तिगत पीडासँग जुधिरहेका छन् । अर्कोतर्फ संवेदनशीलता, असहमति र जीवनका विभिन्न जटिलतासँग सामना गरेका हुन्छन् । वास्तवमा व्यक्तिगत स्वतन्त्रता, मानसिक सङ्घर्ष र सामाजिक बन्धनका बीच हुने द्वन्द्व र सङघर्ष नाम हो– ‘द भेजेटेरियन’ ।
ह्युमेन एक्ट्सः ग्वाङ्जु विद्रोहको पृष्ठभूमिमा लेखिएको हान काङ्गको अर्को प्रमुख कृति हो । जुन विद्रोहले कोरियाको लोकतान्त्रिक आन्दोलनलाई गति प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो विद्रोहलाई कोरियाको इतिहासमा राजनीतिक प्रेरणा, मानव अधिकार र लोकतन्त्र प्राप्तिका लागि गरिएको सङ्घर्ष र ग्वाङ्गजु नरसंहारबाट सिर्जना भएको सामुहिक पीडाको यथार्थ बिम्बको रूपमा लिइन्छ । उपन्यासमा हान काङ्गले सैन्य तानाशाहको लाठी–गोलीबाट मारिएका जनताको उत्सर्गको अविस्मरणीय सौर्यलाई उद्घाटित गरेकी छिन् । हानले “किम” नामको युवालाई कोरियाको मानवता र सङ्घर्षको नायकको रुपमा देखाएर वर्तमान कोरियाली समाजलाई आजको कोरियाको आर्थिक समृद्धि र शान्तिको नीवमा हकको लडाइँ लडेका हजारौँ कोरियाली वीर सहिदका गौरवपूर्ण बलिदानको इतिहासलाई स्मरण गराउने कोसिस गरेकी छिन् ।
द व्हाइट बुकः मुख्य पात्र हान नै बनेर परिवारको इतिहास र आमाको मृत्युमा साक्षी बसेर लेखिएको सम्मरणात्मक कृति हो । जहाँ जीवन, मृत्यु, शोक तथा संस्कृति जस्ता विषयको गहिराइमा पुगेर जीवन, मृत्यु र मानवीय सम्बन्धका गाम्भीर्यलाई उठान गरेकी छिन् । जीवनका अमूल्य अनुभवलाई लिएर आफ्नो बाल्यकाल, परिवार र समाजसँग संवाद गर्दछिन् । मृत्यु र शोकलाई केन्द्रमा राखेर अस्तित्व र शोकलाई सौन्र्दयताका साथ प्रस्तुत गरिएको ध्यानमग्न र परावर्तनशील सिर्जना हो ।
योर कोल्ड हैँड्सः उपन्यासको विषयवस्तु तथा कलाले हानलाई कोरियाली साहित्यिक जगतमा परिचित तथा स्थापित गराउन सफल र पश्चिमी साहित्यमा औधी रूचाइएको उपन्यास हो । एउटा हराएको मूर्तिकारद्वारा महिलाको मूर्ति निर्माणको क्रममा कलाकारको मनमा उठेको दमित इच्छा र कामप्रतिको प्रतिबद्धताबाट उत्पन्न आन्तरिक द्वन्द्वको छट्पटिएको कथालाई देखाएकी छिन् । फ्रान्समा मेडिसिस र एमिल गुइमेट पुरस्कारबाट सम्मानित उपन्यास ‘आई डू नाँट बिड फेयरवेल’ मा काङले विचारशीलता, प्रेम र विछोड जस्ता विषयवस्तुमा ध्यान केन्द्रित गरेकी छिन् । मानव जीवनका महत्त्वपूर्ण क्षण, सम्बन्धका जटिलता र भावनात्मक सङ्घर्ष चित्रण गरेर उपन्यासलाई एउटा मनोवैज्ञानिक र भावनात्मक यात्रातर्फ डोर्याएकी छिन् ।
ग्रीक लेसन्सः उपन्यासमा उनले पात्रको माध्यमबाट जीवन, पहिचान र व्यक्तिगत तथा सांस्कृतिक सङ्घर्षको अनुसन्धान गर्दै हानले ग्रीक भाषा र संस्कृतिको अध्ययनबाट आत्माको खोजको प्रकृयालाई देखाउन खोजेकी छिन् । पात्रको अनुभवको आधारमा उनी भन्छिन्, आफ्नो धरातलसँग सदैब जोडिनुपर्छ र नयाँ भाषा सिक्नु केवल व्यक्तिगत विकास गर्नु मात्र होइन्, बरू विश्व समुदायप्रति एउटा संवेदनशील र समझदार मानवको निर्माण हुनु हो । मानव समुदायमा शिक्षा र संस्कृति केवल ज्ञानको साधन मात्र होइनन् बरु हाम्रा पहिचान र अस्तित्वको लागि महत्त्वपूर्ण छन् भन्दै मानव समुदायले आफ्नो पहिचान बिर्सनुहुँदैन, संस्कृतिलाई सम्मान र ज्ञानप्रतिको जिज्ञासालाई मर्न दिनु हुँदैन भन्ने प्रेरणा दिएकी छिन् ।
अन्त्यमा, हान काङ भन्छिन्, बिसौँ शताब्दीका अमानवीय घाउँका टाटाहरू केवल कोरियाका सडक र भित्तामा मात्र छैन्न बरू पूरा मानवतामा नै टाँसिएका छन् । उनले सन् १९१० देखि १९४५को समयको जापानलाई देखिनन्, न कोरिया युद्धलाई नै देखिन् । सन् १९९३ देखि लेखन प्रारम्भ गरेकी हान्को लेखन अभियान आजसम्म चलेको छ । उनको लेखन कर्ममा जीवन के हो ? मृत्यु के हो ? म को हुँ ? भन्ने प्रश्न रहेको छ । यिनै प्रश्नर्को गम्भीरतामा सत्य र वास्तविकताको खोजीमा हान प्रयासरत छिन् । उनको विचारमा यी सबै दृष्टिकोण चेतनाको संसारमा डरलाग्दो र कहालीलाग्दो कुरा हो ।
यो सत्य प्रश्नले हरेक संवेदनशील मानवलाई बेचैन बनाउँछ । तसर्थ हामी सबैले यसमा विचार विमर्श गर्नुपर्छ । न्यनी ओन्दा’ (बच्चा आ रहा है) को नेपालीमा अनुवाद गर्दा यसले सामजिक र राजनीतिक अस्थिरतासँग सम्बन्धित गहिरा भावनालाई उजागर गर्दछ। यस पुस्तकको मुख्य पात्रमा किमू नामको एक युवा व्यक्ति रहेको छ, जसले कोरिया को मानवता र न्यायको लागी संघर्ष गर्ने सन्देशलाई केन्द्रित रूपमा प्रस्तुत गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ।
यस पुस्तकमार्फत, हान कांगले यो संकेत गर्न चाहन्छन् कि आजको कोरिया को आर्थिक समृद्धि र शान्तिको आधारमा, हजारौं कार्यकर्ताको बलिदान र संघर्ष रहेको छ। उनले दर्शाउँछन् कि यो केवल एक साम्राज्यवादी शासनविरुद्धको लडाइँ मात्र होइन, बरु यो मानवता र सामाजिक न्यायको लागी भएको सामूहिक संघर्षको प्रतिनिधित्व गर्दछ।
तपाईको प्रतिक्रिया