चिसोबाट जोगिन दाउरा जोहो गर्दै मुस्ताङी

सुन्दरकुमार थकाली २०८१ पुष ७ गते १९:३४

जोमसोम । मुस्ताङका अधिकांश लेंकका जंगलमा स्थानीयलाई अहिले दाउरा संकलन गर्न भ्याइनभ्याइ छ । हिउँदा याममा दाउरा संकलन गर्ने यहाँको पुरानो चलन हो ।

Advertisement

मुस्ताङमा उपल्लो र तल्लो गरी १६ एक्याप अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)छन् । ती अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सञ्चालित छन् । जसमध्ये वारागुङ मुक्तिक्षेत्रदेखि तलको भूभागमा १० संरक्षण क्षेत्र व्यवस्थापन समितिले बर्सेनी हिउँद याममा दाउरा फुकुवा गर्ने गरेका छन् ।

एक्याप जोमसोमको स्वामित्वमा रहेको जंगल र लेकमा सम्बन्धित संरक्षण व्यवस्थापन समितिले हिउँद याममा समय अनुकूल कार्यतालिका मिलाएर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने गरिएको छ । मुस्ताङका ३ स्थानीय तहमा हिउँद याममा स्थानीयले जंगलका दाउरा संकलन गर्छन् ।

बर्खे बाली थन्क्याइ सकेर हिउँदे बाली लगाएपछि मुस्ताङका किसान फुर्सदिला हुन्छन् । यद्यपि मुस्ताङमा स्याउ बगैचा व्यवस्थापन लगायतका नियमित कृषि कर्म चलिरहन्छन् । हिउँदमा पशुचौपायालाई कुडो पकाउन, घरायसी प्रयोजनका लागि खाना पकाउन र हिउँद याममा चिसो थेग्न दाउरा आवश्यक पर्छ ।

यही प्रयोजनका लागि लेकमा स्थानीय सरक्षण व्यवस्थापन समिति र गाउँ समाजले मिलेर निश्चित अवधिका लागि दाउरा फुकुवा गर्ने चलन छ । घरपझोङ ४ जोमसोमका संरक्षण व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर थकालीले जोमसोमको लेकमा पुस १ गतेदेखि स्थानीय गाउँमा कुरिया दर्ता भएका घरधुरीलाई दाउरा संकलन गर्न फुकुवा गरिएको बताए । उनले समितिले निश्चत अवधि तोकेर कुरिया दर्ता भएका घरधुरीलाई लेकमा पुगेर सुकेका दाउरा ल्याउन अनुमति प्रदान गरेको सुनाए ।

Advertisement

हिउँद यामको दाउरा संकलन गर्न स्थानीय चिसो सहदै झिसमिसेमै लेक प्रस्थान गर्छन् । लेकमा पुगेर त्यहाँ सुकेका दाउरा संकलन गरिन्छ । जंगलमा काँचो दाउराहरु ढलेर काम नलाग्ने अवस्थामा भेटिएमा त्यस्ता काँचो दाउरा पनि ल्याउन दिइन्छ ।
एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले प्राकृतिक स्रोत, साधनको रक्षा, संरक्षण र उपयोग गर्ने अख्तियारी सम्बन्धित स्थानीय संरक्षण समितिमा रहेको बताए । उनले स्थानीय आवश्यकता र औचित्य हेरी लेंक, जंगलका दाउरा र अन्य प्राकृतिक स्रोतहरुको उपयोग गर्ने अख्तियारी एक्यापले समितिलाई प्रदान गरेको उल्लेख गरे ।

असार र भदौ मसान्तसम्मबाहेक अन्य समयमा लेक, जगलका दाउरा र अन्य प्राकृतिक स्रोतको उपयोग र अधिकार समितिले गर्ने गरेको छ । स्थानीयल कृषि प्रयोजनका लागि पालन गरिएका गोरु, झोपा, घोडा र खच्चड जस्ता घरपालुवा चौपाया लिएर पायक पर्ने लेंक जंगल पुग्छन् । उनीहरु दाउरा खोजेर तिनै चौपायालाई बोकाई घर फर्कन्छन् । चौपाया नहुनेहरुले आफैं बोकेर दाउरा घर ल्याउँछन् ।

मुस्ताङका लेकमा दाउरा टिप्दा काँचो काट्न पाइदैन र काँचो काटेको प्रमाणित भएमा हर्जाना तिर्नुपर्ने हुन्छ । कुरिया दर्ता भएका घरधुरीले मापदण्ड विपरीत वा काँचो दाउरा ल्याए नल्याएको समिति र स्थानीय जनप्रतिनिधि मिलेर नियमित अनुगमन गर्ने गरिएको छ ।

यसअघि सुनसान हुने मुस्ताङका वनपाखामा दाउरा संंकलन गर्नेहरुको भीडले रौनक थपेको छ । यस प्रकारको रौनक बर्सेनी यार्सागुम्बाको सिजन सुरु हुँदा पनि हुने गर्छ । घरपझोङ गाउँपालिको जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा, छैरो र चिवाङका बासिन्दाहरु नीलगिरी र धौलागिरी हिमाली फेदका जंगल पुगेर दाउरा संकलन गर्छन् ।

थासाङ गाउँपालिकाका लेकमा पनि गाउँलेले मातहतका जंगलमा दाउरा खोज्ने गरेको थासाङ २ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए । ‘गाउँ मुखिया र संरक्षण व्यवस्थापन समितिले निश्चित समयका लागि दाउरा फुकुवा गर्ने थासाङका हिराचनले उल्लेख गरे ।

जोमसोमका किसान लेखबहादुर गुरुङका एक जोडी झोपा छन् । खेत जोत्ने, मल ओसार्ने र दाउरा संकलन गर्ने प्रयोजनमा पालिएका गरेका तिनै झोपामार्फत उनी दैनिक चार भारी दाउरा घर ल्याइरहेका छन् । उनी बिहानै ४ बजे उठेर झोपा खेद्दै नीलगिरी लेकको जंगल पुग्छन् ।

‘चिसो मौसम छ तर चिसोको महसुस हुँदैन’, उनले भने, ‘गाउँभन्दा जंगलमा दाउरा टिप्नेको रमाइलो छ, अहिले टिपेको दाउराले वर्ष दिन पुर्‍याउनुपर्ने हुन्छ ।’ अर्का किसान मनोज गोतामेले पनि झोपाकै सहयोगमा दाउरा संकलन गरेका छन् । अघिपछि खेती किसानी र अरानमा व्यस्त रहने मनोज ती सबै काम थाँती राखेर दाउरा संकलन गर्न जुटेका हुन् ।

‘संरक्षण व्यवस्थापन समिति, जनप्रतिनिधि र गाउँ प्रतिनिधिले १० दिन जंगल खुला गरेको छ’, उनले भने, ‘वस्तुभाउ र परिवारले आगो ताप्न दाउरा चाहिन्छ, खोजिएका दाउराले १ वर्ष पुर्‍याउनुपर्छ ।’

जोमसोम र अन्य गाउँमा कुरिया दर्ता भएका र खेतवारी कमाइ बसेकालाई मात्र दाउरा संकलन गर्न अनुमति दिइन्छ । स्थानीयले दाउराका साथसाथै सल्लो र धूपीका पात (सन्) ओसार्ने गर्छन् । यो उनीहरु अर्गानिक मलको रुपमा प्रयोग गर्न मलखाद्मा बिच्छ्याउछन् । कतिपयले दाउरा खोज्न आफूसँग भएका चौपाया अधियाँ दिएर दाउरा बराबरी भाग लगाउने चलन पनि छ ।

मुस्ताङका प्रत्येक गाउँमा छतमाथि दाउरा राख्ने चलन छ । घरको अगाडी दाउरा पाज्ने चलनले स्थानीय कला, संस्कृति झल्काउने गरेको छ । छतमाथि ठूलो दाउराको चाङ हुनुलाई यहाँ सम्पन्नताको प्रतीकसमेत मान्ने गरिएको छ । पछिल्लो समय मुस्ताङमा सडक सञ्जाल सहज हुँदै गएपछि दाउराको खपत घटेको छ । खाना पकाउन एलपी ग्यासको समेत प्रयोग बढेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया