सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि पोखरानजिकै झुप्राङकोट

समाधान संवाददाता २०८१ पुष ७ गते १९:५४

पोखरा । हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्दै जैविक विविधतामा रमाउने पर्यटकहरूका लागि पोखरामा एउटा नयाँ गन्तव्य थपिएको छ, ‘झुप्राङकोट’ (२,३०० मिटर) ।

Advertisement

पोखरा महानगरपालिका– १६ मा अवस्थित यस ठाउँलाई मुलकोट मन्दिर, कालिलेक र ग्रिन वालका रुपमा समेत सम्बोधन गरिन्छ ।


बिहानै उत्तरतिर अन्नपूर्ण, माछापुच्छ्रे सहितका हिमशृंखला र दक्षिणमा पोखराको मनोरम दृश्य देख्दा सबै रमाउँछन् । यहाँबाट करिब एक घण्टा हिँडेमा नागीडाँडा पुगिन्छ, जहाँबाट धौलागिरिदेखि मनास्लु हिमालसम्मको लामो लर्कन देख्न सकिन्छ ।
झुप्राङकोट ऐतिहासिक थलो पनि हो । यहाँ कास्कीकोटका राजा कुलमण्डन शाहले दरबार बनाएर बसेको इतिहास छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय पर्यटन अभियन्ता टंक सुवेदी भन्छन्, ‘कुलमण्डन शाहले कहिले कास्कीकोट र कहिले झुप्राङकोटबाट शासन गरेका थिए ।’


डाँडामा दरबारका भग्नावशेष छन् । दरबारको गारो र पर्खालका भग्नावशेषका साथै ओखल, ढिकी, जाँतो, बङकर देखिन्छ । केही पुराना भाँडाकुँडा पनि पाइएका छन् ।
कोटमा खाना र बासको सुविधा छैन । एक जना युवा लीलाबहादुर गुरुङले टि हाउस खोल्ने तयारी गरेका छन् । अहिलेका लागि झुप्राङकोटको बेस क्याम्प हर्पाक वा गर्लाङमा बस्नु पर्ने बाध्यता छ ।


हर्पाक गाउँमा होटल सुबिधा छ भने गर्लाङ गाउँमा होमस्टे । हर्पाकमा बाहुन, गुरुङ र दलित समुदायको बसोबास छ । त्यसैगरि गर्लाङ गुरुङ गाउँ हो ।

Advertisement


गर्लाङ वा हर्पाकबाट आधा घण्टा हिँडेमा आलेबारी पुगिन्छ । आलेबारीबाट अर्को डेढ घण्टा हिँडेमा झुप्राङकोटको थाप्लोमै पुगिन्छ । आलेबारीसम्म पोखराबाट सडक सञ्जाल जोडिएको छ । पोखराबाट एक घण्टामा मोटर बाइक वा निजी सवारी साधनमा पुग्न सकिन्छ । झुप्राङकोट चाँडै नै हिलस्टेसनका रुपमा चम्किने सम्भावना देखिन्छ । अचेल हिउँदमा यहाँ वनभोज खानेहरूको मेलै लाग्छ ।

‘झुप्राङकोटको सौन्दर्य शब्दमा वर्णन गर्नै सकिँदैन’, पर्यटन अभियन्ता सुवेदी भन्छन्, ‘यो त स्वर्गकै एउटा टुव्रmा हो । यसलाई पर्यटन गन्तव्यका रुपमा चम्काएरै छाड्छौं ।’

झुप्राङकोटबाट नागीडाँडा, ताराहिल टप, सिक्लेस, कपुचे लेक हुँदै ताङतिङसम्म पदयात्रा गर्न सकिन्छ । पहिलो दिन झुप्राङकोट बेस क्याम्पमा, दोस्रो दिन नागिडाँडा क्षेत्रमा, तेस्रो दिन सिक्लेस र चौंथो दिन ताङतिङमा बास बस्न सकिन्छ । यसलाई

नयाँ पदमार्गका रुपमा ब्रान्डिङ गर्ने कि ?
जंगलको बाटो शान्त र रमणीय छ । पदमार्ग सुधार, संकेत पाटीको व्यवस्था र ठाउँठाउँमा टि हाउस बनाउन सके नयाँ पदमार्ग संसारभरका पर्यटकका लागि अतुलनीय उपहार बन्न सक्छ । त्यसैले गाउँलेको होस्टेमा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार र पर्यटन बोर्डले हैंसे गर्नुपर्ने देखिन्छ ।


कसरी पुग्ने ?
पोखराबाट लामाचौर वा बाटुलेचौर हुँदै अमलाबिसौनी पुग्ने । त्यहाँबाट घार्मी, कुरेचौर हुँदै आलेबारीसम्म मोटरबाइक वा गाडीमा । आलेबारीबाट डेढ घण्टामा झुप्राङकोट । सम्पर्कः ९८५६०२०२१२


आउनोस् है

टंक सुवेदी
पर्यटन अभियन्ता

इतिहास, प्रकृति र संस्कृतिमा रमाउने पर्यटकका लागि झुप्राङकोट स्वर्ग नै हो । प्रकृतिले त हामीलाई दिएकै छ, अब यसलाई व्यवस्थित गरेर गाउँलेले पर्यटनबाट फाइदा लिनुपर्छ । त्यसका लागि गुरुयोजना बनाएर अघि बढने तयारीमा छौं । हामी सबैको सहयोगको प्रतीक्षामा छौं । तपाईं पनि घुम्न आउनुस् है, हामी सहयोग गर्न हरपल तयार छौं ।’

तपाईको प्रतिक्रिया