पोखरा महोत्सव पुस २५ बाट

समाधान संवाददाता २०८१ पुष ७ गते १९:५७

पोखरा । युनाइटेड क्लब पोखराले तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी गरिरहेको छ । पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवबारे आइतबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।
क्लबले तेह्रौं संस्करणको पोखरा महोत्सवबाट युनाइटेड छात्राबास निर्माणलाई सघाउने भएको छ । पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी छात्राबास निर्माणका गर्न लागिएको हो । डिपिआरस्हित निर्माण थालिएको छात्रावासको शिलान्यास भइसकेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Advertisement


शिक्षासँगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत क्लबले काम गरिरहेको छ । १३ औं संस्करणसम्म आइपुग्दा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना र शैक्षिक सामग्री गर्ने गरेको छ । ग्रामीण बस्तीमा निशुल्क स्वास्थ्य शिवि र विभिन्न खेलकुद प्रतियोगितालाई सहयोगसमेत गर्ने गरिएको छ ।
क्लबले पोखरामा खुला चिडियाखानाको अवधारणा लिई पचभैया क्षेत्रमा पर्ने सामुदायिक वनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको थियो ।

चिडियाखाना अहिले गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजनामा समावेश भएको छ । क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले पोखरा महोत्सव आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले पोखरा महानगरसँग गरिने जनाए ।
प्रथम उपाध्यक्ष शान्तबहादुर थापाले युनाइटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करणसम्म आइपुगेको बताए । १२ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल रहने छन् । महोत्सवका सबै स्टल बुकिङ भइसकेको महोत्सव प्रचारप्रसार संयोजक सुनारले बताए । महोत्सव २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।


महोत्सवमा १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भई २८ लाख १५ हजार बचत गर्ने लक्ष्य छ ।


महोत्सवका आकर्षणमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योति मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्तिश्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानीय कलाकारको प्रस्तुति रहनेछ । लाइभ कन्सर्टतर्फ भिटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एन्ड दाजुभा, जेमससँगै स्थानीय ब्यान्डहरुको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

हांस्य व्यंग्यतर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढा, नेपाली संस्कृति झल्कने प्रस्तुति बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायतका कार्यक्रम रहने छन् ।

महोत्सवमा फरक क्षमता भएका, वृद्धवृृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेश दिइनेछ ।

तपाईको प्रतिक्रिया