असफललाई भूपी काव्य पुरस्कार

पोखरा ।
थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । हरेक २ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ ।
नेपाली साहित्यको क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट योगदान गरेकोमा असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनोट समिति संयोजक ई. रुजिन्द्र तुलाचनले बताए ।
पुतलीबजार ७ स्याङ्जामा जन्मेका गौतमका ‘सबैका सारथि संगी’ (जीवनी–२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजलसंग्रह–२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास–२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास–२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना–२०६९), ‘बिस्कुन’ (समालोचना–२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तकसंग्रह–२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास–२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम–२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित छन् ।
नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर उनी सम्पादन र अखबारी लेखनमा पनि क्रियाशील छन् । उनी मानवअधिकार पत्रकार संघ गण्डकी अध्यक्ष असफल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष छन् ।
१९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् । भूपीको ९१ औं जयन्ती समारोहबीच यही पुस १० मा पोखरामा पुरस्कार अर्पण गरिने थकाली सेवा समिति अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी दिए ।
यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।
तपाईको प्रतिक्रिया