संघर्षशील सहकारी ठगीमा अध्यक्ष विक्रम पाण्डे र सचिव सुवेदी पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. २३ कार्कीको तगरा स्थित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारीका अध्यक्ष विक्रम पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदीलाई निक्षेपकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो। सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान भइरहेको यस घटनामा सम्मानित कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी मुद्दामा सात (७) दिनको म्याद थप भइसकेको छ।
जाहेरी दिन आग्रह
गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितहरूलाई जाहेरी दर्ता गर्न आह्वान गरेको छ। सहकारीमा रकम जम्मा गरेको प्रमाणस्वरूप शेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतका कागजातसहित पीडितहरूले जाहेरी दिन सक्नेछन्।
पीडितहरूले आफ्नो नागरिकताको प्रतिलिपिसहित मिति २०८१।०९।२० गतेभित्र अनिवार्य रूपमा जाहेरी दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मुद्दाको हदम्यादलाई मध्यनजर गर्दै पीडितहरूलाई चाँडोभन्दा चाँडो जाहेरी दिन आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया