गण्डकी प्रदेश सरकारद्वारा लोककल्याणकारी विज्ञापनका लागि सञ्चार माध्यमहरूबाट आवेदन आह्वान

समाधान संवाददाता २०८१ पुष ८ गते १९:२५

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभित्रका सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापनमा सहभागी हुन आह्वान गरेको छ।

पहिलो पटक गरिएको आवेदन आह्वानमा अपेक्षित संख्यामा आवेदन नपरेपछि कार्यालयले पुनः सूचना प्रकाशित गरेको हो। यस पटक सञ्चार माध्यमहरूले आगामी ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

कसले दिन सक्छ आवेदन ?

Advertisement

यसअघि गण्डकी प्रदेश सरकारमा सूचीकृत भएका सञ्चार माध्यमहरूले नविकरणका लागि आवेदन दिन सक्नेछन्। उनीहरूले आर्थिक वर्ष २०७९/८० को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

नयाँ सूचीकृत हुन चाहने सञ्चार माध्यमहरूले संस्था दर्ता प्रमाणपत्र, इजाजत पत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र, सञ्चालकको विवरण, प्रवन्धपत्र/विधान, अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, लेखा परीक्षण प्रतिवेदन, सञ्चार माध्यम सञ्चालनको एक वर्ष पूरा भएको प्रमाण जस्ता आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ।

Advertisement

सञ्चार माध्यमहरूले आफ्नो आवेदन कार्यालयको इमेल ठेगाना lkb.molcpa.gandaki@gmail.com मा पठाउन सक्नेछन् वा प्रत्यक्ष रूपमा कार्यालयको प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखामा बुझाउन सक्नेछन्।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न विकास निर्माण तथा सामाजिक कार्यक्रमहरूको प्रचारप्रसारका लागि लोककल्याणकारी विज्ञापन जारी गर्ने गर्दछ। यसरी जारी गरिने विज्ञापनहरू विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रसारण हुनेछन्।

सञ्चार माध्यमहरूले गण्डकी प्रदेश लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि, २०७९ कार्यालयको वेबसाइट https://ocmcm.gandaki.gov.np/ मार्फत प्राप्त गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया