सम्पादकीय—एनपिएलले भरेको ऊर्जा

नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालको खेलकुद क्षेत्र खासगरी क्रिकेटको क्षेत्रमा नयाँ उत्साह, ऊर्जा र सम्भावना उजागर गरेको छ । प्रतियोगितामा जनकपुर बोल्ट्सले उपाधि हात पारेको पार्यो भने सुदूरपश्चिम उपविजेता बन्यो । टिमहरुमा आकर्षण देखाउन विभिन्न नाम राखिए पनि खासमा यो प्रादेशिक प्रतिस्पर्धा थियो । एक करोड दश लाख पुरस्कार, उत्कृष्ट खेलाडीलाई कार उपहार जस्ता अवसर सिर्जना गर्नमात्र होइन, अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडी अनुबन्ध गराएर खेलाइएको एनपिएल नेपालमा नयाँ र पृथक सुरुआत हो ।
जसले आगामी दिनमा अन्तर्राष्ट्रिय खेल नेपालमै आयोजना गर्न सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ । झण्डै तीन साता नेपाललाई क्रिकेटमय बनाउनु यसको सबैभन्दा महत्वपूर्ण कुरा हो । प्रतियोगिताका हरेक खेलमा दर्शकको जुन आकर्षण देखियो, त्यसले खेल क्षेत्रलाई निश्चय नै उत्साहित बनाएको छ । देशभित्र राम्रा प्रतियोगिता आयोजना गर्दा जनस्तरबाट उल्लेख्य समर्थन प्राप्त हुन्छ भन्ने तथ्य यसले देखाएको छ ।
भारतमा हुने आइपिएलको हरेक वर्ष चर्चा भए पनि त्यही स्तरको खेल नेपालमा आयोजना गर्नु निकै कठिन मानिन्थ्यो । अहिले यो व्यवहारमै सम्भव भएको छ । अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडी समेतको सहभागितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने र त्यसमा कतिपय नयाँ प्रतिभाको खोजी गर्नु यो एनपिएलको अर्काे सराहनीय पक्ष हो । यस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धा आयोजना बढाएर नै नेपाललाई खेल क्षेत्रमा अघि बढाउन सकिन्छ । यो प्रतियोगिता खेलाडीमा मात्रै सीमित भएन ।
यसले राज्यलाई आँखा देखाउने काम गरेको छ भने समाजका अन्य क्षेत्रलाई खेलसँग जोडेको छ । अन्तर्राष्ट्रिय खेल मञ्चहरुमा नेपालले एकपछि अर्को उपाधि जितिरहेका बेला भएको खेलले देशभित्र खेलप्रति जनस्तरमा पनि ठूलो आकर्षण पैदा गरेको छ । तथापि यस्तो सम्भावना बोकेको क्षेत्रको विकासका लागि राज्यको लगानी भने नगण्य मात्रा छ । अहिलेसम्म पनि देशमा राम्रो क्रिकेट मैदान नहुनु लज्जाको विषय बनेको छ ।
यो प्रतियोगिताले खेल क्षेत्रसँग निजी क्षेत्रलाई पनि जोडेको छ । खेल आयोजना गर्नमात्रै एक अर्ब बढी खर्च भएको छ । निजी क्षेत्रले बजार प्रवद्र्धनकै रुपमा खेल क्षेत्रमा ठूलो लगानी गरेको देखियो । निजी क्षेत्रकै लगानीमा आठ क्लबका खेलाडीका लागि मात्रै करिब १७ करोड खर्चिएको छ । यो खेल क्षेत्रको व्यावसायिक विकासको एउटा सिँढीसमेत हो ।
नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गरी खेल पर्यटनको विकास गर्न सकिन्छ भन्ने पनि यसले पुष्टि गरेको छ । आगामी वर्ष पनि एनपिएललाई निरन्तरता दिंदै यस्तै प्रकृतिका अन्य प्रतियोगिता गर्नु जरुरी छ । जसले सुनौलो क्षितिज देखिएको नेपाली क्रिकेटको विकाससँगै विश्व रंगमञ्चमा नेपालको गौरव बढाउँदै दरिलो उपस्थितिका लागि पनि सघाउने छन् ।
तपाईको प्रतिक्रिया