रगतको जानकारी बेवसाइटमा उपलब्ध

पोखरा ।
रगतको आवश्यकता पर्ने जो कोहीले प्रादेशिक रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा कुन रक्त समूहको कुन कम्पोनेन्टको रगतको स्टक के कति छ भनेर सहज रुपमा हेर्न पाउने भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले ब्लड बैंकको रगत र रक्त तत्वको उपलब्ध स्टकसमेत देखिने गरी बेवसाइट निर्माण गरेपछि रगतको आवश्यकता पर्नेलाई सहज भएको रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । ‘बेवसाइट हेरेपछि कुन समूहको कुन कम्पोनेन्ट के कति स्टक छ थाहा हुन्छ,’ उनले भने, ‘स्टकको आधारमा रगतको आवश्यकता पर्नेले माग गर्न सक्ने छन् ।’
उनले ब्लड बैंकमा स्टक कमी भएको रगतलाई दाताहरुलाई खबर गरेर समयमै संकलन गर्न सकिने बताए । उनले नियमित रक्तदाता स्वयंले रेडक्रसको बेवसाइट हेरेर आएर रगत दिन सक्ने उल्लेख गरे ।
औपचारिक रुपमा सुरुवात गरेको बेवसाइटमा रक्त सञ्चार सेवाका अलवा रेडक्रस कास्कीले गरेका नियमित गतिविधि हेर्न पाइने कोषाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार बेवसाइटमा अहिलेसम्म सबभन्दा बढी रक्तदान गर्ने उत्कृष्ट १० रक्तदाताको समेत नाम समावेश गरिएको छ । हालसम्ममा लक्ष्मण गुरुङले ८८ पटक रक्तदान गरेका छन् ।
रेडक्रस कास्कीले वि.सं. २०३५ सालदेखि रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ । रक्त सञ्चार सेवाको विस्तार, समयसापेक्ष र गुणस्तरीय बनाउने क्रममा सिर्जनाचोक स्थित ब्लड बैंकको बहुउद्देश्यीय मुल भवनबाट २४ सै घण्टा रक्त सञ्चार सेवा प्रदान गर्न थालेको कोषाध्यक्ष अधिकारीले जनाए । संघ प्रदेश स्थानीय तह, युनिका फाउन्डेसन नेदरल्यान्ड लगायतका निकायको सहयोमा ७ करोड ३२ लाख १३ हजार ७ सय ५८ रुपैयाँको लागत भवन बनेको हो ।
उनले प्रादेशिक रक्त सञ्चार सेवालाई ए ग्रेडको बनाउने लक्ष्यका साथ प्रयोगशालाका लागि उपकरण खरिद र जडानको काम भई रहेको बताए । सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्त जन्य सेवा शुल्क छुट दिदै आएको थियो । गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोगमा रेडक्रस कास्कीले प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको छ । ब्लड बैंकले गण्डकी प्रदेशका अलवा काठमाडौ र चितवनमा समेत रक्त सेवा प्रदान गर्दै आएको छ ।
रेडक्रस कास्कीले आगामी दिनमा रक्त सञ्चार सेवा मार्फत आपतकालिन अवस्थामा रगतको आपूर्ति र रगतजन्य पदार्थहरूको वितरणमा थप प्रभावकारिता र क्षमता थप्ने लक्ष्य राखेको छ । प्रकोप व्यवस्थापन, आकस्मिक व्यवस्थापन, सामुदायिक विकास, शैक्षिक अभियान, स्थानीय तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) लगायतका संघ, संस्थाको साझेदारीमा विपद् व्यवस्थापन मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको कोषाध्यक्ष अधिकारीले जनाए ।
उनले २०७९ माघ महिना यता संस्थागत बचत तथा अनुदान गरी रेडक्रस कास्कीको कोषमा ६ करोड ४८ लाख ९२ हजार ९ सय १७ रुपैयाँ रहेको बताए ।
धधध।लचअकपबकपष्।यचन
तपाईको प्रतिक्रिया