पोखराको संगम सहकारी प्रदेशमै उत्कृष्ट

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड गण्डकी प्रदेशमै उत्कृष्ट भई सम्मानित भएको छ । गण्डकी प्रदेशमा बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भई कारोबार गरिरहेका सहकारीहमध्ये संगम सहकारीले उत्कृष्टता हाँसिल गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३७ औं स्थापना दिवसको अवसरमा देशका सातै प्रदेशबाट उत्कृष्ट सात सहकारी छनोट गर्ने क्रममा गण्डकी प्रदेशबाट संगम परेको हो । सोही घोषणा बमोजिम हालै बुटवलमा भएको नेफ्स्कुनको साधारण सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका अध्यक्ष नवराज तिवारीलाई सम्मानपत्र प्रदान गरे ।
२०७८ सालमै कास्कीको उत्कृष्ट सहकारीको अवार्ड पाउन सफल संगम सहकारीले नेफ्स्कुनबाट कास्की जिल्लाको उत्कृष्ट सदस्य संस्थाको सम्मान, राष्ट्रिय सहकारी बैंकद्वारा उत्कृष्ट कारोबारी संस्थाको सम्मान, कास्की बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट ब्यवस्थापक अवार्ड लगायतका थुप्रै सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ ।
संगमले गण्डकी प्रदेशकै उत्कृष्टको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको सल्लाहकार संयोजक निरज थापाले बताए । पोखरा १५ रामबजारको प्रधान कार्यालय र न्यूरोडको सेवा केन्द्रमार्फत कास्की जिल्लाभर यसले सेवा दिइरहेको छ ।
नेफ्स्कुनको सहकारी स्तरीकरण गर्ने प्रोबेसन कार्यक्रममा सात वर्षदेखि सहभागी हुँदै आएको संगम सहकारी नीति, विधि र प्रविधिमा चलेको छ । ६३ करोड वासलात रहेको यो सहकारीको ४५ करोड बचत, ४८ करोड कर्जा लगानी र ८.९८ प्रतिशत संस्थागत पुँजी रहेको छ । यसले पोखरा १५ मा जग्गासमेत खरिद गरिसकेको छ ।
तपाईको प्रतिक्रिया