महिला सशक्तीकरण र कृषि यान्त्रीकरणमा अनुदानको प्रभाव

सुरक्षा पोख्रेल २०८१ पुष ९ गते १९:३४

Advertisement

कृषिमा प्रविधिको प्रयोग महिला कृषकहरूको सशक्तीकरणका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। कृषि विकास रणनीति (एडिएस) ले महिला, युवा, र विपन्न वर्गद्वारा सञ्चालित सूक्ष्म, साना र मध्यम कृषि उद्यमहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसले महिला कृषकहरूलाई स्रोत र अवसरमा समान पहुँच प्रदान गर्दै लैङ्गिक समानता र सामाजिक समावेशीकरण (GESI) प्रवर्द्धन गर्नेमा जोड दिएको छ। साथै, यस रणनीतिले किसानहरूको सहयोगका लागि निजी क्षेत्रद्वारा सञ्चालित यान्त्रीकरण विकल्पहरूलाई प्राथमिकता दिएको पाईन्छ। तर, महिला कृषक सशक्तीकरणलाई प्राथमिकता दिएको दाबी गरे तापनि एडीएस अन्तर्गतका कृषि यान्त्रीकरण कार्यक्रमहरू महिला कृषकका विशिष्ट आवश्यकताहरू सम्बोधन गर्न असफल भएका पाईन्छन्। अधिकांश कृषि यन्त्रहरू, जस्तै हाते ट्र्याक्टर, पावर टिलर, र थ्रेसर, पुरुषहरूको शारीरिक क्षमतालाई ध्यानमा राखेर डिजाइन गरिएका छन् । यी उपकरणहरू महिला कृषकहरूको लागि व्यवहारिक हुन नसक्दा उनीहरू यन्त्रहरूको प्रभावकारी प्रयोग र मर्मतसम्भारबाट बञ्चित भइरहेको भान भयो ।

महिला कृषकहरूले कृषि यन्त्र प्रयोग गर्न नपाउनुका मुख्य कारणहरूमा प्रविधिको पहुँच, यन्त्र सञ्चालनमा तालिमको अभाव, र लैङ्गिक असमानता प्रमुख हुन्।          

कृषि यान्त्रीकरण कार्यक्रमहरूले प्रायः महिला कृषकहरूका लागि लक्षित तालिम सत्रहरू प्रदान गरेको देखिदैन। महिलाहरूलाई यन्त्रहरूको प्रयोगमा थप परिधिमा धकेलिरहेको पाइन्छ। एडिएसका पहलहरूले प्रायः महिला कृषकहरूलाई यन्त्रहरू खरिद गर्न सहयोग गर्ने वित्तीय समर्थनका संयन्त्रहरू उपलब्ध गराउन पनि असफल भएका छन्। एडिएसको उद्देश्य महिला कृषकहरूको सशक्तीकरण भए तापनि कृषि यान्त्रीकरण कार्यक्रमले महिला कृषकहरूको पहुँच र व्यावहारिकतामा ध्यान पुर्‍याउन भने सकिराखेको छैन । ग्रामीण महिला कृषकहरू पहिलेदेखि नै निर्णय क्षमताको अभाव, आर्थिक अवसर पहुँचमा कमी, र अन्य स्रोतहरूमा अभावका कारण थप परिधिमा छन्। यस्तो अवस्थामा, कृषि यान्त्रीकरणले उनीहरूलाई परिधिमा तान्ने ठाउँमा झन् टाढा धकेलिरहेको पाइन्छ।

कृषिमा नयाँ प्रविधिहरूको प्रवेश स्वभावतः लैङ्गिक रूपमा पक्षपाती हुने गरेको देखिन्छ। यो भिन्नता समयक्रममा सूक्ष्म रूपमा देखा पर्ने भए पनि यन्त्रहरूको प्रत्यक्ष प्रयोग र पहुँचमा स्पष्ट रूपमा देख्न पाईन्छ । कृषि यान्त्रीकरण अनुदान कार्यक्रमहरूको अन्तराल बुझ्नका लागि हामीले पोखरा–२१ मा रहेको फुस्रेखोला कृषि तथा पशुपालन कृषक समूह र पोखरा–१६ मा रहेको अर्मला साना किसान कृषि सहकारी संस्थाको अवलोकन गर्‍यौं । १७ महिला र २० पुरुष सदस्य रहेको फुस्रेखोला समूहमा, अनुदानमा प्राप्त यन्त्र प्रयोग गर्ने २० पुरुष र केवल ५ महिला मात्र रहेको पाइयो। यसै गरी ७७० महिला सदस्यहरू मात्र रहेको अर्मला सहकारी संस्थामा भने अनुदानमा प्राप्त यन्त्र प्रयोग गर्ने महिला सदस्य केवल ५ मात्र रहेको पाईयो। यी किसान समूह र सहकारीहरूले अनुदानमा प्राप्त यन्त्रहरू किसानहरूलाई किफायती शुल्कमा उपलब्ध गराए पनि प्रयोग गर्नेहरूमा महिलाको संख्या निकै कम छ।

Advertisement

महिला कृषकहरूले कृषि यन्त्र प्रयोग गर्न नपाउनुका मुख्य कारणहरूमा प्रविधिको पहुँच, यन्त्र सञ्चालनमा तालिमको अभाव, र लैङ्गिक असमानता प्रमुख हुन् । कृषि यन्त्रको पहुँचलाई महिला-कृषकमैत्री बनाउन नसक्दा, उनीहरू झन् परिधिमा धकेलिएका यसले स्पष्ट रूपमा देखाउँछ। तसर्थ, कृषि यन्त्रहरूलाई महिला कृषकहरूको आवश्यकता अनुरूप परिमार्जन गर्नुका साथै उनीहरूलाई तालिम, अनुदान, र वित्तीय सहायता प्रदान गर्नु अत्यावश्यक रहन्छ । लैङ्गिक न्यायसहितको यान्त्रीकरणले मात्र एडीएसको उद्देश्यलाई सार्थक बनाउन सक्छ।

नेपालका पहाडी क्षेत्रमा युवा बाहिरिने प्रवृत्ति र कृषि क्षेत्रमा महिलाको बढ्दो भूमिकाले कृषिमा संग्लग्न जनशक्ति अभाव सिर्जना गरेको छ । फलस्वरुप, साना कृषकहरूको उत्पादकत्वमा नकारात्मक असर पारेको देखिन्छ। धेरैजसो खेतबारी बाँझो छोडिएका छन् । वार्षिक रूपमा एक मात्र बाली लगाइन्छ। यस समस्याको समाधान गर्न तथा कृषि व्यवसायलाई दिगो, प्रतिस्पर्धात्मक र व्यवसायिक बनाउँदै भौगोलिक र सामाजिक-आर्थिक अवस्थाअनुसार उपयुक्त यान्त्रीकरणको माध्यमबाट उत्पादकत्व बढाउने उद्देश्यले सरकारद्वारा २०१४ मा कृषि यान्त्रीकरण प्रवर्द्धन नीति लागु भयो ।

कृषि यान्त्रीकरण नीतिका चार मुख्य उद्देश्यहरूमध्ये तेस्रो उद्देश्य महिलामैत्री कृषि मेसिन र उपकरणको प्रवर्द्धन गर्ने प्रतिवद्धतासहित विशिष्ट रूपमा अगाडि आउँछ। सरकारले कृषि परिप्रेक्ष्य योजना, कृषि विकास रणनीति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कृषि यान्त्रीकरणमालाई केन्द्रित गर्दै विभिन्न तहमा यसको प्रवर्द्धन गरिरहेको देखिन्छ ।

यान्त्रीकरणमा अनुदान योजनाले कृषकहरूलाई श्रम बचत गर्ने उपकरण र प्रविधिहरू प्राप्त गर्न आर्थिक सहयोग प्रदान गर्दछ तर महिला कृषकहरूले सामना गर्ने विशेष आवश्यकता र चुनौतीहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न प्रायः असफल भएको देखिन्छ। फिल्ड अवलोकन पश्चात जमिनको सानो टुक्रामा, विशेष गरी पहाडी र असमान भूभागमा, हाते ट्राक्टरलाई प्राथमिकता दिइएको तथा ठूलो समतल जमिनमा पावर टिलरको माग भएको देखियो। तर, महिलाहरूले चलाएको फार्ममा मेसिनरी वितरण भए तापनि, महिलाहरूले घर वा समुदायका पुरुष सदस्यहरूको इच्छाशक्ति र उपलब्धताको आधारमा काम तय गर्नुपर्ने अवस्था देखियो।

महिलाको सहभागिता बढाउने र उनीहरूको सहयोग गर्ने उद्देश्यले नीति निर्माण गरिए पनि यसले व्यावहारिक आवश्यकताहरू सम्बोधन गर्न असफल भएको देखिन्छ। उपयुक्त प्रचार-प्रसार, तालिम, लक्षित अनुदान, र सबैभन्दा महत्त्वपूर्ण कुरा, महिलामैत्री हल्का तौलका मेसिनको अभावका कारण, महिलाहरूले खेतीमा मेसिन प्रयोग गर्न संघर्ष गर्नु परेको अवस्था छ । महिला कृषकका अनुसार, महिलामैत्री प्रविधिहरू प्राथमिकतामा राख्दा उनीहरूको शारीरिक श्रम घट्नुका साथै समावेशी विकासमा उनीहरूको सहभागिता बढ्ने बताउछन्। हाते ट्राक्टरको वजन र कम्पनका कारण, ढुंगाहरूको कारण, खाल्डाखुल्डी भएको खेत/बारीका कारण समस्या उत्पन्न गराउने हुदा चलाउन धेरै गाह्रो भएको महिलाहरु बताउछन्। यसै गरी हाते ट्राक्टर एक घरबाट अर्को घरमा पुर्‍याउन उचित बाटो नभएका कारण कठिनाई खेप्नु परेकोमा महिलाहरु गुनासो गर्छन।

समेटिनुपर्ने प्रमुख बुँदाहरू

सरकारी अनुदान कार्यक्रममा प्राथमिकता दिने: महिला सहकारीहरूलाई लक्षित अनुदान, सीप विकास, र महिलामैत्री उपकरणहरू मार्फत सहयोग प्रदान गरेर सरकार यो खाडललाई कम गर्न र लैंगिक समावेशी कृषि विकासलाई प्रोत्साहन गर्न सक्दछ। यसको राम्रो उदाहरण लमजुङको चिती गाउँमा स्थापना गरिएको महिला नेतृत्व यान्त्रीकरण भाडा सेवा हो, जहाँ बेँसीशहर नगरपालिकाले सहकारीमार्फत महिलाहरूले मेसिनमा सहज पहुँच पाउने गरी कस्टम हायरिंग सेन्टरको स्थापना र सञ्चालनमा सहयोग पुर्‍याएको छ। 

प्रभावकारी अनुगमन र निरीक्षण संयन्त्र: यस प्रक्रियाले उपकरणहरूको कम प्रयोग, मेसिन खराबी, वा गलत प्रयोगजस्ता समस्याहरू पत्ता लगाउन मद्दत गर्दछ, जसले सुधारात्मक कदम चाल्न र तालिम अद्यावधिक गर्न सहज बनाउँछ। नियमित अनुगमन र सहयोग विना, विशेष गरी महिलाहरूले, महँगो उपकरणको पूर्ण फाइदा लिन सक्दैनन्। त्यसकारण, यान्त्रीकरण कार्यक्रमहरूको स्थायित्व र प्रभावकारिता सुधार गर्न, कृषि उत्पादकत्व बढाउन र कृषकहरूलाई सशक्त बनाउन सरकारद्वारा नियमित अनुगमन र सहयोग हुन् आवश्यक छ ।

आर्थिक सहयोग: यन्त्रीकृत खेती गर्नका लागि महिलाहरूले वित्तीय पहुँच पाउन आवश्यक रहन्छ । तर, महँगो लागत र सीमित ऋण पहुँच तथा लैंगिक पूर्वाग्रहजस्ता अवरोधले लगानी गर्न कठिन बनाउँछ। सरकार र वित्तीय संस्थाहरूले महिला कृषकका लागि न्यून ब्याजदरमा ऋण, अनुदान, वा सहुलियत प्रदान गर्नुपर्छ। उत्पादकत्व र जीविकोपार्जन सुधार गर्न लचिलो किस्ता प्रणाली र सजिलो ऋण पहुँचले महिलाहरूलाई यान्त्रीकरण अपनाउन सशक्त बनाउँछ।

महिला केद्रित कृषि सेवा संरचना: प्रादेशिक र स्थानीय सरकारसँग सहकार्य गरी कृषि कार्यक्रम सञ्चालन निर्देशिका तयार गर्न आवश्यक देखिन्छ। यसमा विभिन्न सेवा प्रदायकहरूको भूमिका स्पष्ट गरी लक्षित मोडेलका साथ सेवा वितरण संरचना समावेश गरिनुपर्छ। जस्तै, कृषि व्यवसायमा लगानी गर्न इच्छुक तर आप्रवासनका कारण घरमै रहेका महिलाहरू, परिवार पोषणका लागि खाद्य उत्पादन गर्ने महिलाहरू; जमिनमा पहुँच चाहने महिलाहरू; अनुसन्धानमा महिलाको भूमिका आदि।

नेपालको कृषि क्षेत्रमा यान्त्रीकरण कार्यक्रमले रूपान्तरण ल्याउने सम्भावना देखिन्छ, तर यसका पूर्ण प्रभावहरू हासिल गर्नका लागि विद्यमान खाडलहरूलाई सम्बोधन गर्न आवश्यक रहन्छ। पहुँच, लक्षित रणनीति, र स्थायित्व सुधार गरेर सरकारले कृषकहरूलाई सशक्त बनाउन, उत्पादकत्व वृद्धि गर्न र क्षेत्रको समान विकासलाई प्रवर्द्धन गर्न सक्छ।

पोख्रेल पोखरा रिसर्च सेन्टरमा अनुसन्धाता छन् ।

तपाईको प्रतिक्रिया