
गीत रमाइलोको लागि मात्र होइन, हाम्रो मानसिक शान्तिका लागि, तनावलाई कम गर्न र हाम्रो आत्मालाई आनन्दित बनाउनका लागि पनि सुन्छौं । संगीतले हाम्रो भावना र स्मृतिहरुलाई जीवित राख्छ, हामीलाई अतीतका ती मीठा पलहरुमा फर्काउँछ र अहिलेको क्षणलाई अझ अर्थपूर्ण बनाउँछ ।
जब थकानले हाम्रो जीवनलाई गाह्रो बनाउँछ, संगीतले नयाँ ऊर्जा दिन्छ; जब हामी खुशी हुन्छौं, संगीतले खुशीलाई दुई गुणा बढाउँछ । जब हामी दुःखी हुन्छौं, संगीतले सान्त्वना दिन्छ । गीत मनोरञ्जनको साधन मात्र होइन, हाम्रो जीवनका गहिरा क्षणहरुलाई जोड्ने माध्यम पनि हो ।
गीतले हाम्रो भावनालाई छुनुका साथै, प्रेरणा दिन्छन् र जीवनका कठिन पलहरुलाई सहज बनाउँछन् । तर, सबै गीतले सधैं सकारात्मक प्रभाव मात्र पार्दैनन् । केही गीतहरु विशेष गरी नारी शक्तिको विषयमा आधारित, शक्तिशाली र गहिरो सन्देश लिएर आउँछन्, तर तिनको प्रस्तुति कहिलेकाहीं धेरै भावनात्मक र अशान्त बनिदिन्छ ।
यस्ता गीतले चेतना जगाउन र सामाजिक विषयहरूमा संवाद गर्न महत्वपूर्ण भूमिका खेल्छन्, तर सुन्ने क्रममा हामीलाई भावनात्मक रूपमा असहज बनाउने सम्भावना पनि हुन्छ । त्यसैले, संगीतको छनोट गर्दा यसले हाम्रो मानसिक अवस्थामा के प्रभाव पार्न सक्छ भनेर ध्यान दिनु जरुरी हुन्छ ।
गीतमा महिलाको उपस्थिति, रुप र समाजले निर्धारण गरेका सौन्दर्यका मापदण्डप्रति व्यंग्य गरिएको छ
बेला ‘बिल्ड अ बिच’
मानसिक अवस्थालाई खलल पार्ने फिलिपिनी अमेरिकी गायीका बेला पोर्चको एउटा गीत पनि हो । उनकोे ‘बिल्ड अ बिच’ गीत सुन्दा, यो गीतले सुरुबाटै मानिसलाई असहज र डिस्टर्बिङ महसुस गराउन सक्छ । यो गीतमा महिलाको उपस्थिति, रूप र समाजले निर्धारण गरेका सौन्दर्यका मापदण्डहरूप्रति व्यंग्य गरिएको छ ।
गीतले समाजले महिलालाई ‘परफेक्ट डल’ जस्तो बनाउन खोज्ने प्रवृत्तिलाई उजागर गरेको छ । भिडियोमा प्रयोग भएका दृश्यहरु–महिलाको रूपलाई प्लास्टिक जस्तो परिमार्जन गर्न खोज्ने, मानौं उनीहरु कुनै प्रयोगात्मक गुडिया हुन् । गीतका शब्दले पनि महिलामाथिको धारणा चुनौती दिएको छ, तर यसलाई प्रस्तुत गर्ने तरिका केही हदसम्म ग्राफिक र भयानक छ ।
भिडियोमा देखाइने कार्टुनिस तर डार्क सिनले मानसिक असहजता सिर्जना गर्छ । सन्देश प्रबल भए पनि प्रस्तुत गर्ने शैलीले सबैलाई सहज महसुस गराउन सक्दैन । गीतले सौन्दर्य र पूर्णताका मापदण्डप्रति विद्रोह गरे पनि यसको स्वरुपले कतिपयलाई निराश पार्न सक्छ । यो गीत शक्तिशाली सामाजिक आलोचना हो तर यसले मानिसलाई सकारात्मक रूपमा प्रेरित गर्ने भन्दा पनि असहज बनाउने सम्भावना धेरै छ । यदि तपाईं संवेदनशील हुनुहुन्छ भने, गीतले तपाईलाई मानसिक रूपमा अशान्त बनाउन सक्छ ।
सन् २०२१ मा आएको उनको यो पहिलो गीत हो । उनी पहिलो गीतबाटै चर्चित भएकी हुन् । गीतले महिला सशक्तिकरण र आत्मसम्मानलाई उठान गरेको छ । यो गीत युटुबमा मा ५ सय ७ मिलियनभन्दा बढी पटक हेरिएको छ ।

ह्वासा ‘मारिया’
त्यस्तै, अर्काे दक्षिण कोरियाली गायीका ह्वासाको ‘मारिया’ गीत पनि डिस्टर्बिङ छ । तर मारिया गीत मात्र होइन, यो आत्म–अवलोकन, आत्मबल, र आफूलाई माया गर्ने सन्देशसहितको सशक्त प्रस्तुति हो । यो गीतमार्फत ह्वासाले आफूले सामना गरेका आलोचना र मानसिक संघर्षको सामना गर्दै आफ्नो व्यक्तिगत शक्तिलाई फेला पारेको कथा सुनाएकी छन् ।
गीतमा ह्वासाले आफूलाई लक्षित गरिएको आलोचना र घृणाप्रति दिएको प्रतिक्रियालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरेकी छिन् । मारिया भन्ने नामले उनी आफ्नै आत्मालाई सम्बोधन गर्दै आफूलाई माया गर्न र बलियो रहन प्रेरित गर्छिन् । गीतको संगीतमा कडा बीट र मेलोडिक तत्वको उत्कृष्ट संयोजन छ । स्रोतालाई भावनात्मक रूपमा जोड्ने र उनीहरुको आत्मबल जगाउने क्षमता यस संगीतमा छ ।
गीतको म्युजिक भिडियोमा अँध्यारो, भव्य र सिर्जनात्मक दृश्यहरू छन् । रंगीनता र अँध्यारोपनको मिश्रणले ह्वासाको मनोवैज्ञानिक संघर्ष र अन्ततः प्राप्त भएको विजयलाई चित्रित गर्छ । गीतले व्यक्तिगत संघर्षबाट पार पाउन प्रेरणा दिन्छ । उनको गहिरो स्वर र भावनात्मक प्रदर्शन गीतलाई अझ प्रभावकारी बनाएको छ ।
केही स्रोतालाई गीतको गहिरो र डार्क टोनले भारी महसुस गराउन सक्छ । गीतका केही सन्देश व्यक्त गर्न गीतको गति कहिलेकाहीं अलि सुस्त लाग्न सक्छ । यसको रेटिङः ४.७/५ रहेको छ जुन उत्कृष्ट हो । युटुबमा मा ३ सय २६ मिलियनभन्दा बढी पटक हेरिएको छ ।
ह्वासालाई दक्षिण कोरियाली समाजमा परम्परागत सौन्दर्य मान्यता अनुसार राम्री मानिँदैन, तर उनले ती मान्यतालाई चुनौती दिँदै आफ्नो अनौठो व्यक्तित्व र प्रतिभाले आफूलाई स्थापित गरेकी छिन् । ह्वासा गहुँगोरो छाला, घुमाउरो शरीर, र बोल्ड व्यक्तित्वका कारण यी परिभाषाबाट फरक छिन् । उनले सधैं आफूलाई प्रेम गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।

बिबी ‘भेन्जेन्स’
दक्षिण कोरियाली गायीका बिबी को ‘भेन्जेन्स’ गीत सन् २०२२ आएको हो । गीतमा उनले एक सशक्त र बदला लिने व्यक्तित्व प्रस्तुत गरेकी छिन्, जसले आफ्नो चोट, पीडा, र अन्यायको सामना गर्न तयार छ । ‘भेन्जेन्स’ बदला, आक्रोश, र सशक्तीकरणको कथा हो । यो गीतमा बिबीले आफूलाई कमजोर बनाउन खोज्नेलाई जवाफ दिन्छिन् र आफ्नो शक्ति प्रदर्शन गर्छिन् । गीतले व्यक्तिगत संघर्ष र आन्तरिक शक्तिलाई उजागर गर्दछ, जसले स्रोतालाई पनि प्रेरणा दिन्छ ।
पावरफुल र डार्क भाइब जसले बदला लिने भावनालाई राम्ररी व्यक्त गर्छ । गीतको भिडियो सशक्त छ, जसमा बदला लिने पात्रको साहसिक यात्रा देखाइएको छ । गीतले चोट र धोका पाएपछि कसरी व्यक्तिले आफ्नो शक्ति प्रदर्शन गर्न सक्छ भन्ने देखाउँछ । गीतले व्यक्तिको आन्तरिक द्वन्द्वलाई उजागर गरेको छ ।
चोट सहेर चूप लाग्ने कि आफ्नो शक्ति प्रदर्शन गर्ने, बदला लिने इच्छाले व्यक्ति कति अन्धकारमय र ठूलो परिवर्तन गर्न सक्छ भन्ने कुरा गीतमा झल्किएको छ । ‘भेन्जेन्स’ बदला लिनेबारे मात्र होइन, यो एउटा चेतावनी हो कि चोटले कसरी व्यक्तिलाई अन्धकारतर्फ धकेल्न सक्छ । यो गीत सुन्दा र हेर्दा गहिरो सोच र संवेदनशीलता आवश्यक पर्छ ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया