स्याउ बगैचा स्याहार्दै किसान

सुन्दरकुमार थकाली २०८१ पुष १० गते ११:५६

जोमसोम ।
मुस्ताङका किसान यतिखेर स्याउ बगैचा व्यवस्थापनमा व्यस्त छन् । स्याउको उचित स्याहार पुगेमात्रै गुणस्तरीय र बढी उत्पादन हुने भएकाले किसानले बर्सेनि हिउँद याममा स्याउ बगैचा स्याहार्ने गरेका छन् ।

Advertisement


मुस्ताङमा असोज, कात्तिक महिनामा स्याउको पोस्ट हार्भेस्ट गरेपछि बिक्रीका लागि बजारिकण गरिन्छ । त्यसपछि स्याउ बगैचा खाली हुन्छन् । स्याउ बगैचामा पोस्ट हार्भेस्ट गरेपछि उजाड र नांगो देखिन्छन् । बगैचामा बोटको पात झरेर नांगो भएपछि बगैचाको उचित व्यवस्थापन सुरु गर्ने गरिन्छ ।


स्याउ बगैचा व्यवस्थापनको उचित समय पुस, माघ महिना हो । चिसो याममा पात झरेर उजाड बनेका स्याउ बगैचाहरुको समुचित व्यवस्थापन गरेमात्रै गुणस्तरीय स्याउ उत्पादन हुन्छ । यसैका खातिर मुस्ताङमा स्याउ बगैचा व्यवस्थापन चिसो महिना पुस र माघमा गर्ने प्रचलन छ ।


चिसो याममा स्याउ बगैचा व्यवस्थापन नगरी ढिला गरेमा तापक्रम वृद्धि हुने र यसले स्याउको फूल र फल लाग्ने लाग्ने पालुवामा असर पुग्न सक्छ । गर्मीयाम सुरु हुनुअगावै स्याउको समुचित व्यवस्थापन सक्नुपर्ने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । मुस्ताङका किसान हिउँद याममा जाडो छल्न बेंसी झर्ने हतारोले गर्दा मंसिरको अन्तिम सातादेखि स्याउ बगैचा व्यवस्थापन सुरु गरिसकेको बताए ।


‘मुस्ताङका कृषि लक्षित कार्यालयबाट पनि स्याउ बगैचाको तालिम तथा फिल्ड अभ्यास हुने गरेको छ,’ निमित्त प्रमुख आत्रेयले भने, ‘हामीले पनि टेलिफोनबाट फिल्डमै पुगेर र सामाजिक सञ्चालको माध्यमबाट स्याउ बगैचा व्यवस्थापन गर्ने विधि र प्रक्रियाहरु सिकाउने गरेका छौं ।’

Advertisement


मुस्ताङको आर्थिक समृद्धिको मुख्य आधार स्याउ खेती हो । स्याउ खेतीको माध्यमबाट मुस्ताङका किसानले बर्सेनि मनग्ये आम्दानी लिने गरेका छन् । स्याउबाट राम्रो आम्दानी प्राप्त गर्ने सकिने भएकाले मुस्ताङमा स्याउ खेतीतर्फको आकर्षण बढ्दो छ । स्याउ बगैचा व्यवस्थापन कार्य अन्तर्गत स्याउको उचित स्याहार सुसार महत्वपूर्ण हुन्छ ।

मुस्ताङी किसानको मुख्य आम्दानीको स्रोत बनेको स्याउ खेती अहिले १ हजार ४ सय हेक्टरमा छ


स्याउ बगैचा व्यवस्थापनका लागि यतिखेर मुस्ताङका किसानले स्याउ बगैचामा बोटको अनाधिकृत हाँगाबिगा काँटछाँट गर्ने, सिंचाई पहुँच पु¥याउने, स्याउ बगैचा गोडमेल गर्ने, स्याउ बगैचामा पशुचौपायाहरुको मलको मात्र मिलाउने र स्याउमा लाग्ने विभिन्न प्रकोप नियन्त्रणका लागि बिषादीहरु छर्किने लगायतका कार्य हुन्छन् ।


स्याउ बगैचाभित्र अन्तरबाली स्वरुप उवा, आलु र फापर लगाएर दोहोर आम्दानी समेत गर्ने गरिएको छ । बोटमा रहेका अनावश्यक हाँगाबिगाका कारण सूर्यको प्रकाश सबै हाँगासम्म नपुग्ने र यसले स्याउ बोटलाई प्राप्त हुने तत्व कमी हुँदा स्याउ धेरै फले पनि गुणस्तरीय उत्पादन नहुने केन्द्रका निमित्त प्रमुख आत्रेयले जनाए । स्याउ बोटको काँटछाट गर्दा प्राविधिकको सल्लाह सुझावले लिएर गर्नुपर्ने हुन्छ ।


हुबहु स्याउको हाँगा काँटछाँट गर्दा स्याउ उत्पादनमा ह्रास आउने र बजारको माग अनुसार स्याउको फलसमेत राम्रो नहुने निमित्त प्रमुख आत्रेयको भनाइ छ । मुस्ताङका किसानले हिउँद याममा अनुकूल समय मिलाएर स्याउ बगैचा व्यवस्थापन गर्ने गर्छन । मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ बगैचा व्यवस्थापन गर्ने कार्य धमाधम चलिरहेको केन्द्रका निमित्त कार्यालय प्रमुख आत्रेयले बताए ।


हिउँद यामको चिसो मौसममा स्याउ बोट काँटछाँट र बगैचा व्यवस्थापन हुने र यो समयमा हिउँ परेमा किसानका लागि थप फाइदा पुग्ने स्याउ किसान अजित थकाली बताउँछन् । हिउँद यामको हिउँ किसानका लागि बरदान साबित हुने र यसले कृषकले उत्पादन गर्ने स्याउ लगायतका अन्न बालीलाई ठूलो फाइदा पुग्ने थकालीको भनाइ छ ।


हिउँद यामको हिउँले सिंचाइ र स्याउमा लाग्ने प्रकोप नियन्त्रणमा अर्गानिक विषादीको काम गर्ने किसानहरु बताउँछन् । हिउँ अनुकूल समय हुँदासमेत हिउँ नपरेको किसान थकालीको भनाइ छ । ‘कुनै वर्ष कात्तिकमै हिउँ पथ्र्यो, यो वर्ष पुस लाग्दासमेत परेको छैन,’ किसान थकालीले भने, ‘हिउँ परेन भने त यहाँको स्याउ बालीलाई ठूलो नोक्सानी हुन्छ ।’


पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा असमान प्रकारको हिमपात हुने गरेको छ । अघिल्लो वर्ष अनुकूल समयमा हिमपात नभएको र स्याउको परागसेचन (पोलिनेसन) हुने समयमा वर्षा हुँदा उत्पादनमा ह्रास आएको थियो । हिउँदको अनुकूल समयमा परेको हिउँले खेतीयाग्य जमिनको भित्री तहसम्म रिचार्ज गर्ने भएकाले खासै सिंचाईको आवश्यक पर्दैन ।


मुस्ताङमा जलवायु संकटका कारण अनकुल समयमा हिउँ नपर्ने, आशिंक हिमपात हुने र कुनै वर्ष भारी हिमपात हुने जस्ता घटना देखिन थालेको जोमसोमका किसान भूपिन शेरचन बताउँछन् । चिसो अत्यधिक मात्रामा बढे पनि हिउँ नपर्दा किसान चिन्तित देखिएको कृषक शेरचनको भनाइ छ ।


पछिल्लो समय बेनी जोमसाम कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङको स्याउले समुचित बजार पाएको छ । किसानले उत्पादन गरेको स्याउ स्थानीय र जिल्ला बाहिरका व्यापारीले ठेक्कामा लिएर बिक्रीका लागि बजार पुर्‍याउने गर्छन् । किसानका स्याउ बगैचाबाटै सहजै बिक्री हुने भएकाले स्याउ खेतीमा कृषक आकर्षित हुन थालेका छन् ।


मुस्ताङमा एउटै किसानले वार्षिक ५ लाखदेखि करोडसम्मका स्याउ बिक्री गर्छन् । स्याउ खे्तीतर्फ राम्रो आम्दानी भएकै कारण पछिल्लो समय मुस्ताङमा छिटो, छरितो रुपमा उत्पादन दिने उच्चघनत्व प्रविधिको स्याउ खेती विस्तार भइरहेको छ । लगाएको दोस्रो वर्षमै फल दिने भएकाले इटालीबाट आयात गरिएका हाइब्रिडस्याउ खेतीलाई यहाँका किसानले पछ्याउन थालेका हुन् ।


मुस्ताङमा परम्परागत उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ खेती हुन्छ । स्याउ खेतीबाट छिटो लाभ लिन किसानले उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, गोल्डेन, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्स जातका स्याउ खेती गरेको पाइएको छ ।


मुस्ताङको मुख्य आम्दानीको स्रोत स्याउ खेती भएकाले अहिलेसम्म १ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ । त्यसमध्ये ५ सय ८५ हेक्टरमा लगाएएको स्याउले उत्पादन दिने गरेको छ । मुस्ताङमा यस वर्ष ७ हजार ३ सय ३० टन स्याउ उत्पादन भएको छ । ६ हजार ८० मेट्रिक टन स्थानीय जातका र २ सय ५० टन स्याउ उच्च घनत्वको फलेको थियो । यस वर्ष ८३ करोडको स्याउ निकासी भएको छ । अघिल्लो आर्थिक वर्ष प्रतिकूल मौसमका कारण स्याउको फूल फूल्ने समयमा अर्थात वर्षा हुँदा स्याउ थोेरै फलेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया