पाठेघरको मुखको भिआइए परीक्षणको योजनामा रोटरी क्लब

समाधान संवाददाता २०८१ पुष १० गते १६:४५

पोखरा ।
रोटरी क्लब अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी वर्ष २०२४/२५ मा महिलाहरूको निशुल्क पाठेघरको मुखको भिआइए परीक्षण गरिने भएको छ ।

Advertisement


यही पुस १८ गतेदेखि विभिन्न चरणमा यो वर्षभरि नै करिब १ हजार ५ सय जना महिलाहरूको निशुल्क पाठेघरको मुखको परीक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको कुरा मंगलवार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो ।


रोटरी डिस्ट्रिकले समेत नेपालभर नै भिआइए परीक्षणलाई महत्व दिएर अगाडि बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुर्‍याउने योजनासहित तयारीमा जुटेको छ ।

‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्यअन्तर्गत रहेर यो परीक्षण कार्यलाई यस वर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङलगायत गण्डकी प्रदेशका जिल्लाहरूका विभिन्न पालिका र वडाहरूका महिलाहरूमा भिआइए परीक्षण गर्न लागेको कुरा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले बताए ।


उनले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लब अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएको बताउँदै महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढिरहेको कारणले पनि ग्रामीण भेगमा यसको पहुँच पुर्‍याउन यो कार्यक्रम सहयोगी हुने बताए ।

Advertisement


वरिष्ठ स्त्रीरोग विशेषज्ञ चण्डीका पण्डितले स्क्रिनिङ परीक्षणको बारेमा प्रकाश पारे । रोटरी क्लब अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परीक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पीडित भई अन्तिम अवस्थामा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरू सजग रहने वातावरण बन्न सकोस् भन्ने मूल उद्देश्यअनुसार यस कार्यक्रमको घोषणा गरिएको बताए ।


क्लबका पूर्वअध्यक्ष सुवास सिग्देलले गण्डकी मेडिकल कलेजबाट सम्बन्धित डाक्टरसहितको प्राविधिक टोलीले यस भिआइए परीक्षणमा सहयोग गर्ने जानकारी दिए । पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिका सँगै विभिन्न जिल्लासँग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडि बढाउने र लक्ष्यभन्दा बढी संख्यामा भिआइए परीक्षण गर्ने योजना आयोजकको छ ।

तपाईको प्रतिक्रिया