प्रदेश सभा सदस्य सुनीता थापालाई बहिरा संघको सम्मान

पोखरा । गण्डकी प्रदेश सभामा अपांगता भएका व्यक्ति (बहिरा)बाट प्रतिनिधित्व गरेकी सुनीता थापालाई गण्डकी बहिरा संघ पोखराले बुधबार सम्मान गरेको छ ।
गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङ, प्रमुख सल्लाहकार हरिप्रसाद बराल, सिर्जना बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनील भण्डारी लगायतले प्रदेश सभा सदस्य थापालाई सम्मान गरे । प्रदेश सभा सदस्य थापाले बहिरा व्यक्तिले सवारी साधन अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउन कठिनाइ भएको बताइन् ।
ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि नीतिगत व्यवस्था गर्न प्राथमिकताको साथ उठाउने उनले उल्लेख गरिन् । ‘अपांगता भएका व्यक्ति र आवाजविहीनका लागि नीति, नियम र योजना बनाउनको लागि ध्यान दिनेछु,’ उनले भनिन्, ‘बहिरा व्यक्तिलाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्न र सांकेतिक भाषाको प्रवद्र्धन र गुणस्तरीय शिक्षाको लागि पहल गर्ने छु ।’
उनले बहिरा क्षेत्रमा धेरै हार्दिकता भएको र आगामी दिनमा साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।संघका प्रमुख सल्लाहकार बरालले बहिरा, अपांगता भएका व्यक्तिको मात्र नभएर सबैको सांसद बन्न सुझाव दिए । विषय विज्ञको राय लिएर काम गर्न र विकास निर्माणको काममा ध्यान दिन उनले आग्रह गरे ।
सिर्जना बहिरा माविका प्रअ कोइरालाले पूरै परिवर्तन सम्भव नभएकाले शिक्षण विधि र पाठ्यक्रमलाई बहिराको अनुकूल बनाउन माग गरे । थापालाई प्रदेश सभा सदस्य बनाउन बहिराको हात रहेको दाबी गर्दै उनले थापा सांसद बन्दा पार्टीभन्दा बहिरा बढी खुसी भएको र सबै बहिराले प्रदेश सभा सदस्य बनेको अनुभूति गरेको जानकारी दिए ।
गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङले सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिलाउन र बहिरालाई सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न पहल गर्न आग्रह गरे । कार्यक्रममा बहिरा फुटबल क्लबका अध्यक्ष सूर्यमोहन बराल, गण्डकी बहिरा संघका उपाध्यक्ष पार्वती भुजेल, महासचिव विश्वमित्र भित्रकोटी लगायतले बहिरा समुदायको शिक्षा, रोजगारीका लागि वकालत गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया