सम्पादकीय—विदेसिनुको विकल्प कृषि बनाऊ

समाधान संवाददाता २०८१ पुष ११ गते १०:३७

अचेल केही वर्ष विदेश बसेर नेपाल फर्किएकाहरुले गरेका उद्यम अनुकरणीय बन्न थालेका छन् । अवसर र वाध्यताका कारण विदेशिनेहरुले देश फर्किएर गरेका काम सामान्य हुनुपर्ने हो । तर, अवस्था त्यस्तो छैन । युरोप, अमेरिका जस्ता राम्रा देशमा गएकाहरु हम्मेसि फर्कनन् । खाडी देशमै गएकाहरु पनि विदेशबाट फर्किएपछि सके गाउँ छाडेर सहर झर्छन्, नसके गाउँ नजिककै सडकछेउ सर्छन् । अहिले नेपालका लाखौं युवाले विदेशमा श्रम बेच्न बाध्य हुने छ । वार्षिक झन्डै छ लाखभन्दा नेपाली युवा रोजगारको खोजीमा विदेशिन्छन् ।

Advertisement

स्वदेशमैं उपयोग गर्न सकिने युवा श्रम, सीप र दक्षता विदेशिनुले देशभित्र रोजगारको अवसर खुम्चिनुका साथै कृषि क्षेत्र जस्तो सम्भावनायुक्त क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन । परिणामस्वरूप राष्ट्रलाई दीर्घकालीनरूपमा आर्थिक र खाद्य सुरक्षामा असर पुगेको छ । नेपालबाट विदेशिने श्रमिकले वार्षिकरूपमा १० खर्बभन्दा बढी विप्रेषण पठाउने गर्छन्, जसले राष्ट्रिय अर्थतन्त्रलाई केही राहत दिएको छ । तर यसको ठूलो हिस्सा खाद्यान्न, फलफूल, तरकारी र दूधजस्ता कृषि उपज आयात गर्नमैं खर्च भइरहेको छ ।


देशले वार्षिक झन्डै ३ खर्बको कृषि उपज आयात गर्छ । जसमा चामल, गहुँ, दलहन, तेलहन, तरकारी र फलफूल मुख्य छन् । देशभित्रकै जनशक्ति कृषि क्षेत्रमा परिचालन गर्न सके आयातमा निर्भरता कम हुनुका साथै रोजगार सिर्जना हुन्छ । कृषिप्रधान देशका लागि कृषि क्षेत्र रोजगार सिर्जना र आयात प्रतिस्थापनको भरपर्दो माध्यम हो । यहाँको भूगोल, हावापानी र जलवायु कृषि उत्पादनका लागि उपयुक्त छ ।

तर देशको कुल भूमिमा २८ प्रतिशत जमिनमात्रै कृषि उत्पादनमा उपयोग भइरहेको देखिन्छ । त्यसमा पनि परम्परागत खेती प्रणालीको वर्चस्व छ । त्यसो त कृषि क्षेत्रमा नेपालभन्दा कम प्राकृतिक स्रोत, साधन भएका देशहरूले अत्याधुनिक प्रविधि र उत्पादनशील कृषिमा लगानी गरेर ठूलो प्रगति गरेका छन् । नेपालमा पनि आधुनिक कृषि प्रणाली, प्रविधिको प्रयोग, सिंचाइको विस्तार र कृषि व्यवसायमा निजी क्षेत्रको आकर्षण बढाउन सकिएमा यस्ता सफलता प्राप्त गर्न सकिन्छ ।


वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै कृषिमा आकर्षित गर्न दीर्घकालीन नीति आवश्यक छ । यसका लागि पूर्वाधार सुधार हुनुपर्छ । सिंचाइको सुविधा, पहुँचयोग्य बजार, यातायात सुधार र काम गर्नेहरुलाई प्रोत्साहन जरुरी छ । कृषिका लागि सहुलियतपूर्ण कर्जा र बिमा सुविधा सरकारले उपलब्ध गराउने हो भने युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न सके स्वदेशी उत्पादनलाई प्रवर्धन गरी निर्यातमुखी बनाउन सकिन्छ । यसले युवाशक्तिको विदेश पलायन रोक्नेमात्रै होइन, देशको आर्थिक सन्तुलन कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । उपभोक्ताबादी बजार र वैदेशिक रोजगारीले देशको अर्थतन्त्र सुधारिनै सक्दैन । त्यसैले नेपालको समृद्धिका लागि कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रमा सम्भावना खोज्नैपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया