बन्दीपुर बुझेकी प्रधान

प्रमिला कुँवर २०८१ पुष ११ गते ११:३६

पोखरा ।
साँझ ५ बजिसकेको छ । हेमन्त ऋतु सुरु भइसकेकाले चिसो बढ्नु र दिन छोटो हुनु नौलो थिएन ।सम्साँझको समय थियो । बन्दिपुर बजारको विन्धवासिनी मन्दिरको आँगनमा बसेर एउटा हँसिलो मुहार पर्यटकतिर नजर डुलाउन व्यस्त देखिन्थ्यो ।
हरेक साँझ त्यहाँ आएर पर्यटकसँग कुरा गर्ने, अनुभूति सोध्ने उनको दिनचर्या नै हो ।

Advertisement

उनी पर्यटकलाई बन्दीपुरका बारेमा जानकारी दिन्छिन्, विदेशी पर्यटकसँग टुटेफुटे अंग्रेजी पनि जोडिहाल्छिन् । उमेरले छ दशक पार गरिसकेकी उनी हुन् बन्दीपुरे गणेशकुमारी प्रधान । मंगलबारका दिन जन्मिएकाले उनका बुवाले गणेशकुमारी नाम राखिदिएको रमाइलो प्रसंग उनले सुनाइन् ।


गणेशकुमारीको जन्म २०२० मा बन्दिुपरमा भएको हो । बाहिरबाट हेर्दा उनको जीवन जति सरल देखिन्छ । नजिकबाट उति नै जटिल लाग्छ । ‘दुख ट कटी परे, कस्ता कस्ता आइपरे, न ट दुखमा आट्टिएँ, न सुखमा माट्टिएँ,’ नेवारी लवजमा उनी आत्मविश्वासी सुनिइन् ।


गणेशकुमारीको बाल्यकाल र किशोरावस्था सुखमा बित्यो । सम्पत्ति पुग्दो थियो, घरखर्च धान्न सहज थियो । त्यस समयमा छोरीलाई पढाउने चलन थिएन । भाग्यबस उनले भने पढ्न पाइन् । उनले बन्दीपुरको भानु माध्यमिक विद्यालयमा पढेकी हुन् ।
२०३७ सालमा दोस्रो श्रेणीमा एसएसलसी उत्तीर्ण गरिन् ।

उच्च शिक्षा पढ्ने रहर भए पनि गाउँमा विद्यालय थिएन, बाहिर पठाउन परिवारले नमान्दा यतिमै पढ्ने रहर कठ्यांग्रियो, रोकियो । ‘मेरा बुवा तत्कालीन प्रधान पञ्च हुनुहुन्थ्यो । छोरीले पनि पढ्नुपर्छ भन्ने सोच थियो बुवाको । उहाँले कुनै पनि कुरामा छोराछारीबिच भेदभाव गर्नुभएन,’ उनी थप्छिन्, ‘छोरीले पढेर केही गरोस्, जागिर खाओस् भन्ने बुवाको इच्छा थियो ।’

Advertisement


अन्तरजातीय बिहे
एसएलसी सकिएपछि उनले भानु माविमा पढाउन थालिन् । उनी सामाजिक शिक्षा पढाउँथिन् । त्यही क्रममा उनको भेट सुर्खेतका प्रेमबहादुर चन्दसँग भयो । चन्द त्यहाँ बन्दै गरेको निजी स्कुलमा वायरिङ गर्न आएका थिए ।

‘दुख ट कटी परे, कस्ता कस्ता आइपरे, न ट दुखमा आट्टिएँ, न सुखमा माट्टिएँ,’ नेवारी लवजमा उनी आत्मविश्वासी सुनिइन् ।


‘एक अर्कालाई देखे पनि कहिल्यै बोलेका थिएनौं । चितवन गएर फकिर्ने बेला उहाँ (प्रेमबहादुर)सँग भेट भयो । उहाँ पनि चितवनबाटै फर्किदै हुनुहुन्थ्यो । त्यस दिन चिनजान भयो, बोलियो, प्रेम बस्यो,’ उनले प्रेम कथा उजागर गरिन्, ‘छुट्टिने बेलामा मलाई तिमी मन पर्छ, बिहे गर्न चाहन्छु भन्नुभयो । त्यसको केही दिनपछि भागेर बिहे गर्‍यौं । घरमा भनेको भए पनि मान्नुहुन्थ्यो होला तर भन्ने हिम्मत भएन ।’


सुर्खेत चितवन बन्दिपुर
उनी सुर्खेतमा ५ वर्ष जति बसिन् । अन्तरजातीय बिहे भए पनि घरमा सबैले सहजै स्वीकारेको बताउँदै रीतिरिवाज बुझ्न र मान्न भने केही गाह्रो भएको गणेशकुमारीको भनाइ छ । ससुरा, जेठाजुको अघि टाउको छोप्नुपर्ने चलन खड्किएको प्रधानको अनुभव छ ।


उनले त्यहीको एउटा विद्यालयमा पढाउन थालिन् । दिनचर्या राम्रै चलिरहेको थियो । उनले एउटा छोरो पनि जन्माइन् । छोराको भविष्य राम्रो बनाउने इच्छासहित खर्च धान्न गाह्रो भएपछि सुर्खेतबाट चितवन बसाई सरिन् । चितवनमा केही वर्ष इन्द्रदेव सिनेमा हलमा किराना पसल खोलिन् । सोचेजस्तो नभएपछि प्रधान बन्दीपुरै आइन् ।


‘बन्दीपुर आएपछि बुवाले आफ्ना लागि आफैं गर्नुपर्छ भनेर खर्चपानी दिएर हस्तकला सिक्न काठमाडौं पठाउनुभयो । काठमाडौंमा हस्तकला, धागो निकाल्ने तालिम लिएर यहाँ आएर बन्दीपुर हस्तकला उद्योग खोलें । उद्योग खोल्ने आवश्यक सरसामान किन्ने पैसा सबै बुवाले दिनुभएको हो,’ उनले भनिन्, ‘पहिला जस्तो व्यापार छैन अहिले, एक्लो ज्यानलाई पुग्दो छ । छोरा र श्रीमान विदेशमा छन् । उनीहरुले पठाएको पैसा जम्मा गरेर राखेकी छु । घर बनाउने योजना छ । अहिले भाडाको घरमा बस्छु ।’


गणेशकुमारीको दिनको सुरुवात बिहान ६ बजे हुन्छ । बिहान उठेर बजार फन्को गर्ने अनि चिया खाएर घर फर्किने उनको नित्यकर्ममै पर्छ । उनी भन्छिन्, ‘एक्लै भएर अल्छी लाग्छ चिया पकाउन, घनश्याम मिष्ठान्न भण्डारमा जान्छु, साह्रै मिठो हुन्छ त्यहाँको चिया ।’


बढ्यौली लाग्दै गए पनि अझै स्वस्थ र बलियो भएको प्रमाण दिइरहेका छ गलबन्दी बनाउन तयार भएका तानले । हस्तकलाका सामान बनाउन र किन्न नयाँ पुस्ताको रुचि नदेख्दा लोप हुने हो कि भन्ने चिन्तामा छिन् उनी । हस्तकला बन्दीपुरको पहिचान भएको साथै स्वास्थ्यका लागि पनि प्रभावकारी हुने उनको भनाइ छ । रेशम, अल्लो, केराको बोक्राबाट बनेका सामग्रीको महत्व बुझेकाहरु सामान किन्न आइरहने उनले उल्लेख गरिन् ।


दरबार जस्तो घरको कथा
बन्दीपुर बजार प्रवेश गर्नेबित्तिकै पुरानो दरबार जस्तै एउटा घर देखिन्छ । चन्द्रगोपाल प्रधानले १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर यो घर बनाएका थिए । चन्द्रगोपाल गणेशकुमारीका हजुरबुवा हुन् ।


दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरी ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएको गणेशकुमारीलाई उनकी हजुरआमाले सुनाएकी थिइन् । ‘नौ तले घर बनाउने योजना थियोे रे, राणाहरूको बनाउन नदिएपछि सात तला निर्माण भइसकेको घरको तल्लो दुई तला पुरेर अहिले पाँचमात्रै छ । त्यसमा मेरो भाइले अहिले बन्दीपुर गेस्ट हाउस सञ्चालन गरेको छ,’ उनले भनिन् ।


पुरानो सदरमुकामको साख
तनहुँको सदरमुकाम दमौली सार्नुअघि बन्दिपुर थियो । २०२५ सालमा दमौली सारिएको थियो सदरमुकाम । तत्कालीन समयमा ईश्वरगोपाल प्रधान प्रधानपञ्च थिए । सदरमुकाम दमौली सार्दा उनले विरोध गरेका थिए । स्थानीय, युवा, विद्यार्थीको सक्रियतामा ठूलो विरोध भएको थियो । बन्दीपुरमै सदरमुकाम राख्न ठूलै संघर्ष भएको थियो ।


ईश्वरगोपालको घरमा जिल्ला पञ्चायत कार्यालय थियो । उनी नभएको समयमा झ्यालबाट पसेर कार्यालयका कागजात चोरेर दमौली पुर्‍याइएको उनलाई बुवाले सुनाएका थिए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया