खाष्टेताल मत्स्य सहकारीमा नयाँ नेतृत्व
लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको खाष्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि छविलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रूपमा चयन भएको समितिको उपाध्यक्षमा शिवराज तिमिल्सेना, सचिवमा विकास अधिकारी, कोषाध्यक्षमा बुद्धिमोहन अधिकारी रहेका छन् भने समितिको सदस्यमा जंगबहादुर परियार, मधुमाया अधिकारी, हरिकृष्ण घिमिरे, इन्दिरा लामिछाने, कविता अधिकारी पौडेल, धनबहादुर विश्वकर्मा, र चिनादेवी लामिछाने रहेकी छन् । यसैगरी, समितिको लेखा संयोजकमा वालचन्द्र भण्डारी र सदस्यहरूमा तारानाथ पौडेल र लक्ष्मी पौडेल रहेका छन् ।
यसअघि कार्यक्रम उद्घाटन पछि पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले कानुनी रूपमा ताल संरक्षण र सहकारीलाई छुट्टै बनाउनुपर्ने बाध्यात्मक अवस्था आए पनि वडा नम्बर २६ भित्रका तीनैवटा ताल व्यवस्थित गर्दै आयआर्जनमा जोड्ने साझा अवधारणा बनाएर अगाडि बढ्ने विश्वास दिलाएका थिए ।
यस क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघसंस्था र स्थानीयहरूसँग सहकार्य गर्दै नमुना वडा बनाउनका लागि राजनीति, धर्म र क्षेत्र नहेरी सकारात्मक दृष्टिले रचनात्मक काम गर्नुपर्ने धारणा राखेका थिए । सोही अवसरमा सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीले लोपोन्मुख अवस्थामा पुगेको तालको स्थानीय स्तरमा संरक्षण गर्दै आयआर्जनका लागि सहकारीमार्फत माछा पालन गर्दै आएको र आगामी दिनमा वडा कार्यालयसँग सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जानकारी गराएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ताललाई व्यवसायिक रूपमा अगाडि बढाउनु पर्ने सुझाव राखेका थिए भने जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछाने, गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष वामदेव ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा लगायतले विकासमा समन्वयको आवश्यकता औंल्याएका थिए ।
सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ताल संरक्षण समितिकी उपाध्यक्ष इन्दु लामिछानेले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव नवराज ढुंगानाले गरेका थिए ।
तपाईको प्रतिक्रिया