पोखरा पब्लिक स्कुलको ३० औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष १२ गते १४:५९

पोखरा

Advertisement

पोखराको चाउथेसिथ्त अनुमप टोलमा रहेको पब्लिक स्कुलले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो ।

वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम अन्तर्गत बिहीबार २०८० सालको एसइई परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएका सलिना सुवेदीलाई नगद पच्चिस हजार रुपैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका सहप्राचार्य विजय पौडेलले जानकारी दिए । द्वितीय भएकी रीतिका थापा तथा तृतीय भएका प्रतीक थापालाई चाँदीको पदकले सम्मान गरियो । एसइइ उत्रिर्ण भएका सबैलाई सम्मान गरिएको थियो ।

कक्षा १२ एसएलसी परीक्षामा सहभागी बनेर विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू अर्चना क्षेत्री, प्रेजु पाठक, मनिष दर्जी सहित ३१ जनालाई समेत सम्मान गरिएको थियो । यसैगरी वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई १० गते र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई बिहीबार सम्मान गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व नेपाली विभाग प्रमुख डा.रामनाथ ओझा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसी, शिक्षक जीवन परियार लगायतले विद्यालयको बारेमा बोलेका थिए ।

वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा विद्यार्थीले तयार पारेका चित्रहरू राखिएको थियो । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको थप आकर्षणको रुपमा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक भेषभूषा लगायत समेत रहेको थियो ।

Advertisement


आज भन्दा ३० वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्मको पढाइ हुन्छ । १ हजार ५० को हाराहारीका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ५५ जना शिक्षक र २५ जना कर्मचारी गरेर कुल ८० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारी गरेर १७ जनालाई सम्मान समेत गरिएको पौडेलले जनाए ।

सम्मानित हुनेमा उत्कृष्ट वर्ष शिक्षक माध्यामिक तह तथा एसइई रिजल्टमा नारायण सुवेदी, उत्कृष्ट वर्ष शिक्षक आधारभूत तथा उत्कृष्ट आधारभूत तह रिजल्ट (बिएलइ) बाट नरबहादुर श्रेष्ठ, उत्कृष्ट वर्ष शिक्षक पूर्व बालविकास तह नारायणी घिमिरे बराल, उत्कृष्ट कक्षा कोठा व्यवस्थापनमा पूर्व बाल विकास तहमा मञ्जु केसी, प्राथमिक तह कल्पना बराल सेढाइँ,आधारभूत तह सुस्मा गुरुङ, १० वर्ष सेवा गरेका शिक्षिका गीता पराजुली, कर्मचारी दुर्गा त्रिपाठी, प्राचार्य पुरस्कारबाट रोजिना पोख्रेल, विद्यालय व्यवस्थापन सहयोगीमा गीता पराजुली र संगीता पौडेल सम्मानित भए । त्यसैगरी उत्कृष्ट कर्मचारीमा मनबहादुर रानाभाट, बस सहचालक सुनील बस्याल र चन्द्रकला रानाभाट  पनि सम्मानित भए ।

विद्यालयलाई आजको अवस्थासम्म ल्याउनको लागि साथ सहयोग गर्ने सबैप्रति संस्थापक प्रिन्सिपल केसीले आभार व्यक्त गरे । विद्यालय यो शैक्षिक सत्रदेखि  सामाजक सुरक्षा कोषमा समेत आवद्ध भएको छ ।

तपाईको प्रतिक्रिया