पोखराको नयाँ ब्रान्ड : टुर दी पोखरा

सञ्जय रानाभाट २०८१ पुष १२ गते १९:४४


पोखरा । पोखरा प्राकृतिक सुन्दरताका लागि मात्र होइन, साहसिक गतिविधिहरूका लागि पनि प्रसिद्ध छ । फेवातालमा हिमालको प्रतिबिम्बले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ नै अझ यहाँको प्याराग्लाइडिङ, हटएअर बेलुन, ट्रेकिङ बञ्जी जम्पिङ, माउन्टेन बाइकिङ र र्‍याफ्टिङले थप रोमाञ्चित बनाउँछ ।

Advertisement

त्यसमाथि अहिले साहसिक गतिविधि मनपराउने प्रेमीहरुलाई साइक्लिङ नयाँ आकर्षण बनेको छ । पोखराको खुला हावा, प्राकृतिक सौन्दर्य र पहाडी रुटहरूले यो गतिविधि अझै बढी लोकप्रिय बनाएको छ । विशेष गरी ‘टुर दी पोखरा’ जस्ता कार्यक्रमहरूले पोखरामा साइक्लिङको संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । १२ वर्षअघि सन २०१२ मा ४/५ जना मिलेर खोलिएको साइकल सिटी पोखराले प्रत्येक वर्ष साइक्लिङलाई प्रवद्र्धन गर्दै आएको छ ।


त्यसअघिसम्म पोखरामा साइकल चलाउनेहरु भए पनि संस्थागत थिएनन् । साइकलभन्दा अन्य सवारीतर्फ आकर्षण बढ्दो थियो । साइकलको व्यापार पनि यत्ति थिएन । तर, मान्छेहरु व्यस्त हुँदै गएका थिए । पर्यटकीय गतिविधि बढे पनि साइक्लिङ गर्नेहरु एक जुट थिएनन् । त्यसबेला प्रकाश बज्राचार्य, कमलमोहन कोइराला, महेन्द्र कोइराला, श्यामकृष्ण श्रेष्ठ, दिनेश भारी र जीतेन्द्रमान शाक्यलाई लाग्यो अब पोखरामा साइक्लिङलाई प्रवद्र्धन गर्न संस्थागत रुपमा जानुपर्छ ।
अनि, उनीहरुले सन् २०१२ मा खोले साइकल सिटी पोखरा । ‘संस्था खोल्न पनि २० जना चाहिने रैछ । हामी ४/५ जना मात्र थियौं । सबैले नजिकका साथीभाइलाई भनेर २० जना पु¥यायौं अनि, साइकल सिटी पोखरा खोल्यौं,’ साइकल सिटी पोखराका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले भने । नेपाल बन्द भइरहने, विदा परिरहने भएकाले साइकल सिटी पोखराले यति बेलादेखि स्वास्थ्यसँग जोडेर कार्यक्रम गर्न थालेको उनले बताए ।

‘त्यो बेला काम बाहेक साइकल चढ्ने चलन खासै थिएन, हामीहरुले संस्था खोल्यौं । विस्तारै साइकल चढनेहरु जोडिन थाल्नुभयो । हामीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्र्दै पर्यटनसँग जोडेर प्रचार ग¥यौं,’ बज्राचार्यले विगत सम्झे, ‘नेपाल बन्द हुँदा के गर्ने भन्ने हुन्थ्यो । व्यवसाय पनि बन्द गर्नुपर्ने । सवारी पनि चलाउन नपाइने । हामीहरु सबै मिलेर साइकल चलाउँथ्यौं । डाँडामा जाने फोटो हाल्न थाल्यौं ।’
सन् २०१५ सम्म आइपुग्दा साइकल चढ्नेहरु धेरै जोडिएको उनी सम्झन्छन् । ‘को कहाँबाट कहाँ जम्मा हुने सबै संस्थागत हुन थाल्यो । कार्यक्रम हुन्थ्यो । रक्तदान गर्ने साइकल प्रेमीहरुलाई सम्मान गर्न थालेपनि विस्तारै मान्छेहरु आकर्षण देखियो । अहिले हामीहरु पोखरा महानगरपालिकासँग पनि मिलेर पर्यटन प्रवद्र्धन गरिरहेका छौं,’ बज्राचार्यले भने ।

साइक्लिङ जस्तो सक्रियता र एड्भेन्चर स्पोटर््सको माध्यमबाट ‘टुर दी पोखरा’ अहिले नेपालकै ब्रान्ड बनेको उनले सुनाए । अहिले पोखराकै धेरैले पूर्व पश्चिम साइक्लिङ गरिसकेको उनी बताउँछन् । अहिले दैनिक १ हजार जनाले साइकल चढ्ने उनले दाबी गरे । त्यसबाहेक साइकल सिटी पोखराले भूतपूर्व खेलाडी मञ्चको म्याराथनमा स्कटिङ गर्दै आएको छ ।

Advertisement

साइकल सिटीले साइकल यात्रा केबल एक शारीरिक क्रियाकलाप मात्र नभएर, पोखराको स्थानीय संस्कृति र प्राकृतिक धरोहर भएको भन्दै यसलाई अगाडि बढाएको छ । पोखराको हरियाली, तालहरू, र हिमालयका दृश्यहरू साइक्लिङका लागि उपयुक्त वातावरण सिर्जना गरिरहेको उनीहरु बताउँछन् । टुर दी पोखरा ब्रान्डले साइकल यात्रीहरूलाई यी सबै आकर्षणहरूको आनन्द दिने साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ बताउँछन् । उनले यो १२ वर्षको अवधिमा आफूहरु अहिले सातौं टुर दी पोखरा मनाउने अवस्थामा आइपुगेको बताए । ‘पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि टुर दी पोखरा नारा दिएका छौं । साइकल चलायो भने न स्वास्थ्य बिग्रन्छ न वातावरण,’ उनले भने । यसपटक स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल नारासहित टुर दी पोखरा हुँदैछ ।

‘अहिले हाम्रो देशबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको छ,’ उनले भने । साइकलले इन्धन खर्च नगर्ने भएकाले यसको महत्व बढ्दै गएको उनले सुनाए । ‘साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ,’ उनले भने, ‘साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । टुर दी पोखरालाई पोखराको ब्रान्ड बनाउन लागि परेका छौं । यसबाहेक सहरलाई साइकल सिटीका रुपमाअघि लैजान पनि हाम्रो प्रयास हो ।’

आगमी दिनमा पनि साइकल सिटीले विद्यालय विश्वविद्यालयमा साइक्लिङ बारे ब्रिफिङ गर्दै पुग्ने, पोखरामा साइकल स्ट्यान्डहरु निर्माण गर्ने सचिव रामचन्द्र भट्टले जानकारी दिए । उनले वातावरणसँग जोडेर साइक्लिङलाई प्रवद्र्धन गर्ने बताएका छन् । ‘साहसिक खेलमध्ये साइक्लिङ पनि हो । टुर दी पोखरालाई पनि टुर दी फ्रान्सजस्तै प्रचार गरेर पोखरालाई पर्यटकीय राजधानी निर्माण गर्छौं,’ भट्टले भने ।
शनिबार हुने कार्यक्रममा कोरिया, भारतदेखि साइकल यात्रीहरु आउँदै छन् । बाहिरबाट २० जना बढी साइकल यात्रीहरु आउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । २४ किलोमिटर क्षेत्रमा यस र्‍याली गरेर यसलाई प्रवद्र्धन गर्ने उनले सुनाए । ‘यो मुख्य बजारमा मात्र साइकल र्‍याली गर्छौं । यसले पक्कै स्थानीयलाई साइक्लिङ बारे जानकारी दिन्छ,’ उनले भने ।

७ बजे सभागृहमा जम्मा भएर पृथ्वीचोक, बसपार्क, बुद्ध चोक, कुँडहर मियापाटन, माटेपानी, महेन्द्रपुल, पिएन क्याम्पस, ट्याक्सीचोक, मोहरिया टोल, जिरो किलोमिटर हुँदै सभागृहमा पुगी कार्यक्रम सकिने छ । र्‍यालीमा ५ सय देखि १ हजार जना सहभागिता उनीहरुको अनुमान छ । र्‍यालीमा सहभागिताका लागि १ हजार रुपैयाँ दर्ता शुल्क राखिएको छ । उक्त शुल्क तिरेपछि सहभागीले ज्याकेट, खाजा र मेडल प्राप्त गर्न सक्नेछन् ।

विगतमा पनि साइकल सिटी पोखराले स्वस्थ्य मुटुको लागि साइकल, साइकल सिटीका लागि जहिले पनि जहाँ पनि, स्वास्थ्य वातावरण तथा पर्यनका लागि साइकल लगायतका नारामा टुर दी पोखरा गरिसकेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया