८४ वर्षे फौदबहादुरको साइकल मोह

धनबहादुर गुरुङ २०८१ पुष १३ गते ४:५७

पोखरा । उमेरले ८४ टेकिसक्यो तर पोखरा १६ बाटुलेचौरका फौदबहादुर बस्नेत क्षेत्रीले साइकल यात्रा गर्न छाडेका छैनन् । बुढ्यौलीमा साइकल चलाएको देखेर छिमेकी छक्क पर्छन् । अझ ४ वर्ष पहिले खुट्टामा समस्या पछि पनि उनमा साइकलप्रतिको मोह घटेको छैन ।

Advertisement

स्वास्थ्य र प्रकृतिका हिसाबले उनले साइकल चलाउन छाडेका छैनन् । साइकल चढ्नुका पछाडि अर्को रहस्य पनि जोडिएको छ । त्यो हो, उनले चलाउने गरेको साइकल २६ वर्ष पुरानो । २०५५ सालमा किनेको साइकल अहिले पनि चलाइरहेका छन् । बिचबिचमा केही मर्मत त गरे तर, २५ वर्ष अघि देखिको साइकलको स्वरुप उस्तै छ । उनी आफै पनि साइकलको मोहमा फसेको सुनाउँछन् ।

भारतमा ३५ वर्ष साइकल कम्पनीमा सेवा गरेकाले पनि साइकलसँग माया जोडिएको उनले सुनाए । साइकल कम्पनीमा जोडिनु अघि उनी नेपाल आर्मीमा काम गर्थे । त्यहीबाट साइकलमा ध्यान गएको उनले बताए । ‘म २०१५ सालमा त्यो बेलाको महेन्द्र दलमा नेपाल आर्मीमा भर्ती भए । त्यो बेलामा लिखतबहादुर हबलदार मेयरले साइकल लिएर आउनुहुन्थ्यो,’ उनले भने, ‘१०१७ सालको कुरा हो । त्यही साइकल सिकेर अलिअलि चलाउन जाने ।’ फुर्सदको समयमा ओहरदोहर गरेको उनले सम्झिए ।

आर्मीमा सेवाका क्रममा बिहे भएपछि घरधन्दा चलाउन गाह्रो भएपछि २०२० सालमा भारत हानिएको फौद सुनाउँछन् । ‘बिहेपछि नेपालको कामले घर धान्ने गाह्रो भयो अनि हुँदाखाँदाको जागिर छाडें,’ उनले भने, ‘यत्तिकै बसेर त भएन । त्यसपछि काम खोज्न भारत हिडें ।’ उनले भारतकै प्रतिष्ठित टिआई साइकल कम्पनीमा जागिर सुरु गरे । तामिलनाडुस्थित कम्पनीमा उनको काम सुरक्षा गार्डको थियो ।

कम्पनीमा उनले साइकलका बारेमा धेरै बुझ्ने अवसर पाए । ‘मेरो काम त सुरक्षा दिनु थियो । तर, त्यहाँ धेरै सिक्ने अवसर पाएँ,’ उनले भने, ‘त्यो कम्पनी साह्रै ठूलो थियो । यताबाट उता जान साइकलकै भर पर्ने भयो । नेपालमा सिकेको सिपले मलाई झन सहज भयो ।’ उनले त्यहाँ ३५ वर्ष काम गरे । जति काम गरे त्यति सुरक्षा गार्डका भूमिकामा रहे ।

Advertisement

२०५५ सालमा उनले साइकल कम्पनीबाट बिदा लिए । बिदा भएर आउँदा २ वटा साइकल बोकेर बाटुलेचौर आएको फौदले सम्झिए । ‘घर आउने भएपछि मैले टिआई कम्पनीकै गियरवाला साइकल लिएको थिए । बिदा हुँदा कम्पनीले १२ सय आइसी पर्ने साइकल र एउटा ब्याग दिएको थियो,’ उनले भने, ‘सेवा गरे वापत र किनेको २ वटै बोकेर नेपाल आए ।’ बाटुलेचौर आएपछि कम्पनीले बक्सिस दिएको साइकल बेचेर आफैले किनेको साइकल चढ्न थालेको उनले बताए ।

साइकल नेपाल ल्याउँदा ठूलो समस्या झेल्नुपरेको फौदले सम्झिए । मान्छेको टिकट काटेर साइकल ल्याएको भनेर रेलमा झमेला भएको उनले बताए । ‘लखनउ, बनारसमा साह्रै झमेला भयो । भाडा नतिरेको भनेर होला एकछिन लफडा नै भयो,’ उनले भने, ‘मैले पनि मैले प्याक गरेर ल्याएको हुँ । मेरै सिटमा राखेर ल्याएँ भने । पछि स्टाफ भने पनि छोड्यो ।’ पोखरा ल्याएर आफैले फिटिङ गरेर चलाउन थालेको उनले सुनाए । कम्पनीमा सुरक्षा दिँदा साइकल फिटिङ गरेको देखेकाले जोडजाड गर्न सजिलो भएको उनले बताए ।

यसरी नेपाल आउनुभन्दा एक वर्षअघि ४ हजार आइसीमा २६ वर्ष अघि किनेको साइकल अहिले पनि फौदको यात्राको साथी बनेको छ । बाटुलेचौर आएपछि उनले पोखरा र आसपास पुग्न कहिल्यै गाडी प्रयोग गरेनन् । साइकल गियर वाला भएकाले कास्कीकोट, सराङकोट जस्ता डाँडामा समेत साइकलबाटै पुगेको उनले अनुभव सुनाए । ‘मैले बिजुली बिल तिर्न, पाहुनाको घरर जाँदा साइकल नै चढेर जान्थे,’ उनले भने, ‘म यहाँबाट कल्याण डाँडा, कास्कीकोट, ग्यारजाती, हेमजासम्म पनि पैदल ठेलेरै पुगेको छु ।’ अहिले घर नजिक मात्र यात्रा गरेपनि बुढेसकालले गर्दा टाढाटाढा जान नसकेको उनी सुनाउँछ ।

अहिले भएको साइकल बेचेर कहिल्यै नयाँ किन्न मन नलागेको फौदले बताए । केही वर्ष अघि गियरले झमेला दिएपछि फालेर चलाइरहेको उनको भनाइ थियो । छोरा नातीले मोटरसाइकल किने पनि जरुरी नै पर्दा बाहेक अरु बेला सवारी नचढेको उनले सुनाए । ‘यो साइकलको यति माया लाग्छ कि बेच्न पनि मन लाग्दैन् । अनि अर्को किनम भन्ने पनि हँुदैन,’ उनले भने, ‘५/६ वर्ष अघि साइकल चोरी हुँदा साह्रै पिर परेको थियो । एउटा बच्चाले लगेको रहेछ एक हप्ता पछि भेटियो ।’


धेरै दृष्टिकोणबाट साइकल चलाउनु फाइदाजनक रहेकाले २६ वर्ष अघि किनेको साइकलको मोहमा फसेको फौदले बताए । ‘साइकल चलाउँदा पैसा पनि जोगिने, पेट्रोलको गन्ध पनि आउँने कुरा भएन । वातावरण पनि स्वच्छ हुने,’ उनले भने, ‘पैसा पनि थोरै आफ्नो स्वास्थ्यलाई राम्रो । साइकल चलाउँदा साह्रै आनन्द आउँछ ।’ यही कारण आफूले सक्दासम्म साइकल चलाउन नछाड्ने उनको प्रतिवद्धता छ ।
पछिल्ला समय मोटर साइकल र कारमा मान्छेहरु लालायित भएको देख्दा उनी दिक्क पर्छन् । युवा पुस्तामा साइकलको महत्व बुझाउनुपर्ने उनको माग छ । अहिले बाटुलेचौर क्षेत्रमा नियमित रुपमा साइकल चलाउने ३/४ जना मात्र रहेको उनले बताए । ‘स्वास्थ्यका लागि राम्रो हुने कुरामा किन मान्छेहरुले ध्यान दिँदैनन् कुन्नि?,’ उनले भने, ‘बाटुलेचौरमा मसँगै ३ जना बुढाहरु छौं अनि यहिँ नजिकैको दिवस गुरुङ भन्ने एक जना बाबुले चलाउने रहेछ । यसरी १/२ जना युवाले साइकल चलाएको देख्दा पनि निकै खुसी लाग्छ ।’

फौदको साइकलप्रतिको मोहको कदर गर्दै साइकल सिटी पोखराले उनै फौदबहादुर बस्नेत क्षेत्रीलाई सम्मान गर्न लागेको छ । उनलाई सातौं टुर दी पोखरा अवसरमा सम्मान गरिन लागेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रीको उपस्थितिमा सम्मान गरिनेछ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया