समुदायिक प्रहरी सेवा पृथ्वीचोकको वार्षिक कार्ययोजना निर्माण

समाधान संवाददाता २०८१ पुष १३ गते १८:३६

पोखरा । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन रोकथाम तथा नियन्त्रणको लागि अभियान चलाउने लगायतका विषयलाई समेटेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पुथ्वीचोकले वार्षिक कार्ययोजना निर्माण गरेको छ । आर्थिक वर्ष २०८२/०८३को लागि निर्माण गरिएको कार्ययोजनामा सामुदायिक छात्रवृत्ति एवं ग्रामिण तथा दुर्गम क्षेत्रको निशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।

Advertisement

आगामी वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी तथा सम्पन्न भएका कार्यक्रमको समिक्षाको अवसरमा अध्यक्ष श्रेष्ठले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन रोकथामको लागि सचेतनामुलक अभियान सञ्चालन गर्ने बताए । अभियानको क्रममा ५ वटा सार्वजनिक स्थल सेचतनामुलक साइनबोर्ड राख्ने उल्लेख गरे ।

पोखरा महानगरपालिकाको वडा नम्बर ८, ९ १० र १५ सामुदायिक सेवा केन्द्र पृथ्वीचोकको कार्यक्षेत्र पर्छ । सम्बन्धित वडाहरुको सहकार्यमा तीन वटा वडामा वृहत सचेतनामुलक कार्यक्रम गर्ने उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय कास्कीले ल्याएका अभियान तथा कार्यक्रममा सहकार्य गर्ने जानकारी दिदै उनले विद्यार्थी, सवारी चालक र पैदलयात्रीलाई लक्षित गरी ट्राफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम गर्ने बताए ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले सुर्ती जन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०७६ले गरेका व्यवस्था कार्यान्वयनका लागि अभियान सञ्चालन गरेको जनाए । उनले जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सरोकारवालाको समन्वय र सहकार्यमा अभियान गरेको उल्लेख गरे । ‘ऐन कार्यान्वयन गर्ने क्रममा प्लेकार्ड सहित सचेतनामुलक र्‍याली निकाल्ने, माइकिङ, पर्चा पम्प्लेट वितरण गर्ने लगायतका प्रचारात्मक कार्यक्रम गरिएको छ,’उनले भने, ‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने लगायत ऐन उल्लघंन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रयास भएको छ ।’ अध्यक्ष पराजुलीले विद्यालयको १ सय मिटर आसपासको क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने व्यवस्थालाई कडाइका साथ पालना गराउने प्रयत्न भएको बताए । उनले सरोकारवाला निकायले हप्ताको १ पटक अनुगमन गर्ने निर्णय भएको जनाए ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले विकृति विसंगतिको न्यूनीकरणको लागि सामुदायिक सेवा केन्द्रसँग सहकार्य गर्ने बताए । उनले सामुदायिक सेवा केन्द्रले अन्नपूर्ण गाउँपालिकामा गतिविधि गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाएको उल्लेख गरे । ‘अन्नपूर्ण पर्यटकीय हिसाबले महत्वपूर्ण छ । वडा नम्बर १देखि ११सम्म गतिविधि सञ्चालन गर्नुस्,’उनले भने, ‘अन्नपूर्ण ११मा रहेको अन्नपूर्ण आधार शिविरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भ्रमण गर्नु भएको छ ।’ उनले पर्यटन प्रवद्र्धनको लागि सबै संघ संस्थासँग सहकार्य गर्ने जनाए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ९का अध्यक्ष दिपेन्द्र मर्सानीले सबै सामाजिक संघ संस्थाले स्थानीय सरकारको उपस्थितिमा कार्यक्रम गर्नु पर्ने सुझाव दिए । उनले वडा कार्यालय प्रत्येक संघ संस्थाको अभिभावक बन्ने जानकारी दिए । विकृति विसंगतिको क्षेत्रमा काम गर्ने संस्था आफु संस्कार युक्त भएमा अरुलाई सुधार गर्न सकिने उनले उल्लेख गरे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष देवीप्रसाद अधिकारी, लेखनाथका अध्यक्ष गंगा खनाल, पृथ्वीचोकका उपाध्यक्ष कुमारी मुना बास्तोला, सचिव उत्तम जोशी, कानुनी सल्लाहकार जगन्नाथ ढकाल, सल्लाहकार मिनप्रसाद भट्टराई, पूर्व सहसचिव उर्मिला भट्टराई, रेडियो नेपाल पोखराका वरिष्ठ कार्यक्रम अधिकृत शान्ति राणा लगायतले शान्ति सुरक्षा, विकृति विसंगति न्यूनीकरण, लैंगिक हिंसा न्यूनीकरणका लागि भएका कार्यक्रमको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया