क्यान्सर रोकथाम सम्बन्धी अन्तरक्रिया

पोखरा । नेपाल अर्बुद रोग निवारण संस्था कास्की शाखाको आयोजनामा ‘क्यान्सरको रोकथाम, निदान, र आधुनिक उपचार प्रविधिबारे अन्तरक्रिया कार्यक्रम’ पोखरामा हालै भएको छ । कार्यक्रममा सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपालका ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञ प्राडा सञ्जिवन गौतमले क्यान्सर रोगका विभिन्न आयामबारे विस्तृत जानकारी प्रदान गरे ।
डा. गौतमले क्यान्सरका विभिन्न प्रकार, कारण, लक्षण र पछिल्लो समयमा निकै प्रभावकारी मानिएको सेल थेरापी विधिबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनले क्यान्सरका प्रमुख कारक तत्वहरूको रूपमा धूमपान, मादक पदार्थ सेवन, अस्वस्थकर जीवनशैली, अनुवांशिक कारण र वातावरणीय प्रदूषणलाई औंल्याए ।
साथै, उनले क्यान्सरको प्रारम्भिक चरणमा नै रोग पहिचान गरेर उपचार गर्दा निको हुने सम्भावना बढी हुने कुरामा जोड दिए ।
डा. गौतमले क्यान्सरको उपचारका लागि सर्जरी, किमोथेरापी, रेडियोथेरापी र इम्युनोथेरापी जस्ता परम्परागत विधिहरुसँगै हालै विकास भएको इमर्जिङ सेलुलर थेरापी विधिबारे पनि विस्तृत जानकारी प्रदान गरे । उनका अनुसार, यो विधिले शरीरका अन्य स्वस्थ कोषिकाहरूलाई क्षति नपुर्याइकन क्यान्सर कोषिकाहरूलाई मात्र लक्षित गर्ने भएकाले यो विधि निकै प्रभावकारी र सुरक्षित मानिन्छ । यस विधिले क्यान्सर उपचारमा नयाँ युगको थालनी गरेको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका सभापति प्रेमबहादुर भुजलले अध्यक्षता गरेका थिए भने कार्यसमिति सदस्य तेजनाथ न्यौपानेले डा. गौतमको परिचय गराएका थिए । कार्यसमिति सदस्य रविप्रसाद बरालले धन्यवाद ज्ञापन गर्दै क्यान्सर रोकथाम र उपचारमा यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्वलाई जोड दिए ।
तपाईको प्रतिक्रिया