फेवामा दौडिए ड्रागन जस्ता डुंगा

पोखरा । पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ जारी छ । आइतबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिनेछ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सहआयोजनामा भएको प्रतियोगिता युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सुरुआत गरे ।
मन्त्र ी चौधरीले पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट कामहरू भइरहेको बताए । उनले सन् २०२७ मा हुने यु १९ महिला क्रिकेट विश्व कपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिम लगायतका क्षेत्रमा बजेट विनियोजना गरिने आश्वासन दिए ।
नेपालका लागि चिनियाँ राजदुत चन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेस्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । चिनियाँ नगारिकका लागि पोखरा गन्तव्यका रूपमा रहेको भन्दै उनले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले भएको सुनाए । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताए । ड्रागन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताए । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा यस किसिमका खेलकुदका गतिवधिले सहयोग पुर्याउने उनको भनाइ छ ।
प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चीनका विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र सिंगापुरबाट प्रतिनिधित्व गर्ने १ गरी २० समूहको छ । प्रतियोगितामा आइतबार २ सय मितर र ५ सय मिटरतर्फ पहिलो चरणका खेल भएका छन् ।
सोमबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछन् । प्रतियोगिताका विजेताले ५ हजार अमेरिकी डलर, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार २ सय डलर पुरस्कार पाउनेछन् । सहभागी अन्य सबै टिमलाई प्रोत्साहन स्वरूप ५ सय डलर प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया