खुमै डाँडा जान १०० रुपैयाँ प्रवेश शुल्क

प्रमिला कुँवर २०८१ पुष १५ गते १४:५२

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको खुमैडाँडा जान पर्यटकबाट एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । ग्रेट माछापुच्छ्रे ट्रेलअन्तर्गतको खुमाई डाँडा र कोर्चा जाने पर्यटकबाट प्रवेश शुल्क लिने गरिएको हाे ।

Advertisement


प्रवेश शुल्कको निर्णयले यात्राको अनुभवमा केही खलल पारेको र यसले असहज बनाएको खुमैडाँडा उक्लिन लागेकी पोखराकी अस्मिता थापाले बताइन् । शुल्क लिएपछि सेवामा थप सुधार गरेमा पर्यटकले यसको मूल्य पाएको महशुस गर्न सक्ने उनको बुझाइ छ ।

खुमैडाँडाको संरक्षणका लागि शुल्क लिइनु उचित भएपनि पर्यटकको दृष्टिकोणले यो अन्यथा महँगो लागेको उनको भनाइ छ । यसलाई बढी सुलभ र सहज बनाउन थप सोचविचार गर्न जरुरी रहेको थापाले बताइन् ।


उनले भनिन्, ‘कुनै शुल्कको अपेक्षा नगरेकाले, १०० रुपैयाँ प्रवेश शुल्क त धेरै हो जस्तो लाग्यो । अन्य गन्तव्यहरू निशुल्क भएकाले यात्रामा जाने पर्यटकको अनुभवमा असर पुर्‍याउन सक्छ । सफाइ, सुरक्षा र मार्गदर्शनमा सुधार भएको छैन भने यो शुल्क अनावश्यक लाग्न सक्छ ।’


नेपाली पर्यटकबाट एक सय रुपैयाँ र विदेशी पर्यटकबाट २ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । प्रवेश शुल्कले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र खुमैको संरक्षणमा मद्दत पुर्‍याउने उनको भनाइ छ । प्रवेश शुल्कबाट उठेको रकमले खुमैडाँडाको थप विकास र संरक्षणमा योगदान पुग्ने गुरुङले विश्वास व्यक्त गरे ।

Advertisement

‘कुनै शुल्कको अपेक्षा नगरेकाले, १०० रुपैयाँ प्रवेश शुल्क त धेरै हो जस्तो लाग्यो ।’


‘प्रवेश शुल्कबाट भएको आम्दानी खुमैको संरक्षण र व्यवस्थापनका लागि नै प्रयोग हुनेछ । यातायात, खानेपानीमा निर्माण गर्ने, पर्यटकलाई यात्रा गर्न सहज र सुरक्षित बनाइने योजना छ,’ उनले भने ।


गुरुङका अनुसार, पर्यटकहरुको बढ्दो आगमनले प्राकृतिक स्रोतहरुमा दबाब पुर्‍याउने सक्छ । शुल्कले यो दबाब कम गर्न र स्थानको प्राकृतिक सौन्दर्यलाई बचाउन सहयोग पुर्याउन सक्छ । शुल्कको प्रयोगले स्थानीय व्यवसाय र पर्यटन उद्योगमा सहयोग भएमा स्थानीय समुदायलाई आर्थिक फाइदा पुग्न सक्छ ।


माछापुच्छे गाउँपालिका १ घाचोकमा सूचना केन्द्र स्थापना गरेर प्रवेश शुल्क उठाउने गरिएको छ । केन्द्रमा खुमै, कोर्चा, मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे नमूना पैदलमार्ग लगायतका पर्यटकीयस्थलमा पदयात्रामा जाने पर्यटकको अभिलेख संकलन गरिन्छ ।


केन्द्रमा खुमै तथा मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिन्छ ।


प्राकृतिक सौन्दर्य र रमणीय दृश्यको लागि प्रसिद्ध खुमैडाँडा र्यटकको आकर्षणको केन्द्र बनेको छ । करिब ३,२४५ मिटरको उचाइमा रहेको डाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखला स्पष्ट रूपमा देख्न सकिन्छ ।
बिहानको सुर्योदय र बेलुकीको सूर्यास्तको दृश्यले खुमाई थप सुन्दर रहेको । नजिकै रहेका गुरुङ बस्ती र त्यहाँको परम्परागत खाना पनि पर्यटकका लागि थप आकर्षण बनेका छन् ।


सरकारी निकाय र स्थानीयको सहकार्यमा पर्यटकीय पूर्वाधारमा सुधार गरे खुमैडाँडालाई राष्ट्रियस्तरमै चर्चित गन्तव्य बनाउन सकिने सम्भावना रहेको छ । खुमैडाँडाको लोकप्रियताले कास्कीको पर्यटनलाई थप बल दिएको छ । आगामी दिनमा यहाँ पर्यटकीय चहलपहल अझै बढ्ने अनुमान गरिएको छ ।


पोखराबाट २ दिन एक रातमै पुरा गर्न सकिन्छ खुमै/कोर्चा पदयात्रा । पोखराको हरिचोकबाट सरिपाखा भन्ने ठाउँसम्म जिपमा जान सकिन्छ । एउटा जिपको ३५ सय रुपैयाँ पर्छ, जसमा ७ जना सम्म यात्रा गर्न सकिन्छ । हरिचोकबाट १ देखि साढे १ घण्टामा सरिपाखा पुग्न सकिन्छ ।


सरिपाखाबाट सुरु भएको पदयात्रा ७/८ घण्टामा खुमैडाँडामा पुगिन्छ । हिँड्न सक्नेहरू एक दिनमै कोर्चनसम्म पुगेर त्यहीँ बास बस्न सक्छन् । सिधै कोर्चन पुग्न नसक्ने भएमा खुमैमा बास बस्न सकिन्छ । भोलिपल्ट बिहान साढे तीन बजे उठेर दुई घण्टा हिँडेमा सूर्योदय हेर्न ३,६८२ मिटरको उचाइमा रहेको कोर्चा पुग्न भ्याइन्छ ।

जहाँबाट पोखरा सहर र हिमालको आकर्षक र अनुपम दृश्य देख्न सकिन्छ । प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्रीलाई अद्भुत अनुभव दिन्छ । खान बस्नको लागि प्याकेजको व्यवस्था छ । प्रतिव्यक्ति १८ सय देखि २ हजार रुपैयाँसम्मको प्याकेज पाइन्छ । त्यसमा बेलुकीको खाना, बास र बिहानको नास्ता समावेश हुन्छ । होटेल पहिल्यै बुकिङ गरेर जाँदा उचित हुन्छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया