
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
यो आदर्श पंक्तिका रचयिता हुन् कवि लेखनाथ पौड्याल । बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालका जेठो छोराका रूपमा विसं १९४१ पौष शुक्ल एकादशीको दिन कास्कीको अर्घौं अर्चलेमा जन्मेका लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा जति गरेपनि अपुरै रहन्छ । ५ वर्षको उमेर पुगेपछि घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका पौडयालले गंगागणेशस्तोत्र, अमरकोश, चण्डी पढ्दै अध्ययन अगाडि बढाएका थिए ।
दश वर्षको उमेरसम्ममा उनले गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरेका उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले काव्य सृजनाको लेखनविन्दुमा उनलाई पुर्याएको मानिन्छ । १४–१५ वर्षको भएपछि आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौँ गए । काठमाडौँमा गएपछि केही सय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे । यहाँ बस्दा नै उनमा कविता सिर्जनाप्रति विशेष रुचि जागृत हुँदै गयो ।
रानीपोखरी संस्कृत पाठशाला अध्ययन गर्दाको समय नै लेखनाथ पौड्यालको साहित्यिक जीवनको सुरुवात हो । पाँचबर्षको उमेरदेखि नै पढ्न थालेका लेखनाथलाई नौ बर्षको उमेरदेखि कविता लेख्ने प्रेरणा भने मिलेको थियो । पाठशालामा बसेर शिक्षा आर्जन गर्ने बेला रघुवंशको अर्थ लगाइरहेका गुरुलाई फेरि भन्न अनुरोध गर्दा लेखनाथको अनुरोधलाई उपेक्षा गरी टारिदिएका हुनाले उनलाई साहित्यमा लागेर ठूलो मान्छे बन्छु भन्ने थप प्रेरणा मिलेको थियो भनिन्छ ।
लेखनाथका प्रेरणाका अर्का स्रोत शिवकुमारले छात्राबासमा समस्यापूर्ति कविता लेख्न दिने तर समस्यापूर्ति गर्न लेखनाथलाई स्तर पुगेको छैन भन्दै सहभागी हुनबाट बञ्चित गरेपछि अरु पण्डितहरूलाई देखाउँदा ज्यादै राम्रो छ भन्ने प्रशंसाले प्रेरित हुदै गएका थिए । संस्कृतमा श्लोक लेख्दै सुक्तिसुधा, सुन्दरी र ‘माधवी’ लगायत साहित्यिक पत्रिकाबाट कवि शिरोमणिको साहित्यिक यात्रा अघि बढेको थियो ।
नेपालीमा भाषा र साहित्यमा अमूल्य योगदान पुर्याएका लेखनाथ पौड्याल नेपाली काव्यपम्पराका आधुनिक युगका निर्माता हुन् । विसं १९६१/६२ मा शृगारपच्चीसी र मानसाकर्षिणी नामक दुई फुटकर कविताका माध्यमबाट उनी चर्चित बन्न पुगे । नेपाली साहित्याकाशकै अमूल्य निधिका रूपमा रहेका उनका फुटकर कविताहरू मध्येको पिंजराको सुगा फुटकर कविताले त नेपाली साहित्यमा ठूलो हलचल नै मच्चाएको थियो । इन्द्रधनुष, कोइली, पिँजराको सुगा, कालमहिमा, सत्यसन्देश, जीवनचंगा,गौँथलीको चिरिबिरि आदि कविता अविस्मरणीय, प्रसिद्ध र लोकप्रिय छन् ।
विसं १९६१ सालमा कविता कल्पद्रुममा उनका दुई कविता सङ्ग्रहित भएको पाइन्छ । १९६९ मा लालित्य भित्र सङ्ग्रहित कविताका माध्यमबाट उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका पायो । १९७० मा शोक प्रवाह शीर्षकको शोक काव्य लेखे । उनकी धर्मपत्नीको निधन भएपछि १९७२ सम्म विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्यले भरिएका रचना लेख्न थाले । १९७२ सालमा उनको भेट स्वर्गद्वारी महाप्रभुसँग भएपछि उनको मार्गदर्शनबाट आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता महशुस गरे । १९७३ मा ऋतु विचार खण्डकाव्य र १९७३ मा नै बुद्धि विनोद खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो ।
कवि शिरोमणि लेखनाथ पौड्यालले मानवीय मनोविज्ञानको अन्तस्करणलाई केलाउँदै प्रकृति र जगत्मात्र होइन, मानिसका मनोभावहरूको पनि वर्णन गरेका छन्
नेपाली समाजमा ख्याति बढाउदै उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक बन्न पुगे ।यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो । यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो । यसै साल उनको सत्यकलि संवाद शीर्षकको अर्को कृति प्रकाशित भयो । यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो । साहित्य सिर्जनामा नै उनी निमग्न हुन थाले । उनले अनेकौँ फुटकर कविताहरू रचना गरे । पुस्तकहरू लेखे । उनका प्रकाशित कृतिमध्ये गीताञ्जली, लक्ष्मीपूजा नाटक, त्याग र उदयको युगल प्रकाशन स्तुतिकाव्य , अमर ज्योतिको सत्य स्मृति शोक काव्य, तरुण तपसी नव्य काव्य, मेरो राम खण्डकाव्य ,अभिज्ञान शाकुन्तल नाटक, भतर्हरि निर्वेद नाटक र गंगा गौरी महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन्।
राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो त्यसैले बनारसबाट प्रकाशित सूक्तिसूधा र कविताकल्पद्«ममा नेपाली र संस्कृत भाषामा कविता छापिनुका साथै सुन्दरी, माधवी, चन्द्रिका जस्ता साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । जसको निरन्तरता स्वरूप उनले नेपाली साहित्यलाई सुदृढ तथा सम्वृद्ध बनाउने काम गरे । परम्परागत तथा आधुनिक दुबै किसिमका विषवस्तुको प्रयोग गर्दै विभिन्न काव्यकृतिको उनले रचना गरेका थिए ।
उनका कृतिमा आध्यत्मिकता, मानवतावाद, प्रकृति प्रेम, संस्कृति, राष्ट्रियता, सामाजिकता लगायतका विशेषता पाइन्छन् । यिनै विविध साहित्यिक योगदानलाई मध्यनजर गर्दा उनको समग्र साहित्यिक जीवन उपलब्धिपूर्ण थियो भन्न सकिन्छ ।
१९९४ सालमा ‘लक्ष्मीपूजा’ नाटक, २००४ सालमा ‘पञ्चतन्त्र’ का मित्रभेदको अनुवाद, १९९४ सालमा नै सप्त प्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित भए । २०१० सालमा कविता सँगालो ‘लालित्य’ प्रथम भाग र विशिष्ट काव्य ‘तरुणतपसी’ प्रकाशित भएको थियो । ‘मेरोराम’ ‘रामायण सार’ २०११ सालमा प्रकाशित भए भने कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा ‘भर्तृहरिनिर्वेद’नामक संस्कृत नाटक र २०२५ सालमा ‘लालित्य’ भाग २ प्रकाशित भएको थियो ।
आधा शताब्दीसम्म सहित्य साधनामा जीवन व्यतित गरेका लेखनाथलाई २००८ सालमा राजा त्रिभुवनबाट कविशिरोमणिको उपाधि प्रदान गरिएको थियो भने २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा रथारोहण यात्रा सहित अभिनन्दन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासहित मन्त्री कर्मचारी र साहित्यकार तथा समाजसेवीहरूले कविशिरोमणि चढेको रथ तान्दै खुलेर प्रशंसा गरेका थिए ।
कविशिरोमणि लेखनाथ पौड्याललाई समकालीन कविसँग दाँजेर हेर्दा लेखनाथको बाटो मूलतः भाषा, शैली र पक्षमा अरुभन्दा फरक देखिन्छ । यिनको भाषा सरल, शैली कोमल मधुर र पक्ष बौद्धिक रहेको पाइन्छ । उनी बौद्धिकताहुदै दार्शनिकतातर्फ अगाडि बढेका साहित्यकार हुन् । साहित्यिक दृष्टिले भाषालाई चोख्याउनु, भावुकतामा बौद्धिकताको समन्वय गर्नु, कवि र दार्शनिकको हातेमालो गराउनु, सरल तरल शैलीमा चमत्कार उत्पन्न गर्नु आदि यिनका विशेषता हुन् ।
नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगका जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ ।
नेपाली भाषा तथा साहित्यमा स्तरीयता ल्याउने लक्ष्य राख्दै हलन्त बहिष्कारवादी आन्दोलन चलाएका थिए । हलन्त बहिष्कार आन्दोल नेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने चलन लेखक अनुसार फरक थियो। लेखनाथ जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा राममणि आदीको हलन्त बहिष्कार आन्दोलनमा सामेल भए । उनको योगदानको परिणाम नेपाली व्याकरण समृद्ध बन्यो ।
उनले नेपाली भाषाको समुन्नत विकास गर्ने उद्देश्यले उनले कैयौं संस्कृत भाषाका रचनाहरू अनुवादका माध्यमबाट नेपाली भाषामा ल्याए । कविता साहित्यका अतिरिक्त उनले नाट्यसाहित्यको फाँटमा पनि कलम चलाएर नेपाली नाटकमा माध्यमिककालीन शृंगारिकता र अनुवाद रूपान्तरणका परिधिबाट अघि बढाएका थिए । उनले पूर्र्वीयसंस्कृत नाट्य ढाँचा अन्तर्गत नै सामाजिक सन्दर्भ तथा शान्त रसका आध्यात्मिक चेततर्फ र मौलिकता एवं परिष्कृतितर्फ डोर्याउने काम गरे ।
उनका यिनै साहित्यिक योगदानलाई मध्यनजर गर्दै राष्ट्रले उनीप्रति विशेष सम्मान तथा श्रद्धाको भावना विकसित गरेको हो । उनका सम्पूर्ण साहित्यिक गतिविधिलाई हेर्दा उनको कवि व्यक्तित्व सबैभन्दा महत्वपूर्ण रहेको छ । उनका खण्डकाव्यहरूले नेपाली साहित्यमा आधुनिक नेपाली कविताको प्रथम धाराका रूपमा रहेको परिष्कारवादी धाराको प्रवर्तन गरे । उनलाई कविशिरोमणि पदले विभूषित गर्नमा ऋतुविचार खण्डकाव्यको विशेष योगदान रहेको कुराले नेपाली साहित्यमा चर्चा पाएको छ कविशिरोमणि लेखनाथ पौड्यालले महाकाव्यको नै रचना नगरे पनि महाकाव्य समकक्षी तरुण तपसीको रचना गरे । उनले आफ्नो जीवनको उत्तराद्र्धमा महाकाव्य नै भनी गंगागौरीको लेखनकार्य प्रारम्भ गरेका थिए जुन विसं २०६१ मा प्रकाशन भइसकेको छ । लक्ष्मीपूजा, भतृहरिविनर्वेद जस्ता नाटकका रचयिता लेखनाथ नाटकार पनि हुन् । पूर्र्वीय संस्कृत नाट्य ढाँचामा तयार गरिएका उनका यी नाटकहरूले उनलाई संस्कृत नाट्य परम्परा अँगाल्ने नाटककारका रूपमा परिचित गराउँछ ।
कविशिरोमणि लेखनाथ पौड्याल अनुवादक व्यक्तित्वका रूपमा समेत रहेको उनीद्वारा अनुवाद गरिएका विभिन्न काव्यकृतिहरूले प्रस्ट गर्दछन् । उनका पञ्चतन्त्र २००४, संक्षिप्त श्रीमद्भागवद्गीतासार १९७५, अभिज्ञान शाकुन्तलजस्ता अनुवादित कृतिहरूले उनलाई कुशल अनुवादकका रूपमा चिनाउँछन् । पौड्यालका अधिकांश साहित्यिक रचनाहरू धार्मिक तथा आध्यत्मिक चेतले युक्त भएको पाइन्छ । पूर्वीय साहित्यबाट विशेष रूपमा प्रभावित हिन्दू धर्म र दर्शनको अभिव्यक्ति दिने विशिष्ट कवि लेखनाथको बुद्धिविनोदले तर्कप्रधान, चिन्तन प्रणाली भएका मानिसहरूलाई थप कुरा सोच्न लगाउँछ ।
सत्यकलि सम्वादले बद्लिँदो अवस्थाको झलक दिँदै व्यंग्यपूर्ण उक्तिहरूले अतीततिर फर्काउँछ । प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मान गरेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले मानवीय मनोविज्ञानको अन्तस्करणलाई केलाउँदै प्रकृति र जगत्मात्र होइन, मानिसका मनोभावहरूको पनि वर्णन गरेका छन् । उनले नेपाली भाषा साहित्यमा रस र माधुर्य थपेका थिए । पौड्यालले पूर्वीय संस्कृत नाट्य ढाँचाअन्तर्गत नै सामाजिक सन्दर्भ तथा शान्त रसका आध्यात्मिक चेततर्फ र मौलिकता एवं परिष्कृतितर्फ डो¥याउने काम गरेका कारण नेपाली साहित्यमा पौड्यालको स्थान सधैँ उचो छ । लेखनाथमा दार्शनिक चेत कति थियो भनेर प्रष्ट पार्ने एउटा श्लोक यस्तो छ
इँट काठको वटुली राश ।
यो घर ठाडो पार्ने खास ।।
सकल विलाए कर्मि ज्यामी ।
ओत बसेका छौं आज हामी ।।
उनका रचनाहरु आधुनिक जीवनजगतको मूल्यांकन, शोषणप्रतिको विद्रोह, विश्वबन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले भरिएका छन् । उनको जन्मस्थल रहेको ठाउँलाई समेट्दै लेखनाथको नामबाट २०५३ सालमा नेपाल सरकारले लेखनाथ नगरपालिकाको नामकरण समेत गरेको थियो यसले पनि नेपाली भाषा र साहित्यमा लेखनाथको अमूल्य योगदानलाई थप प्रष्ट पारेको पाइन्छ ।
तपाईको प्रतिक्रिया