उल्लासमय सप्री ल्होछार

धनबहादुर गुरुङ २०८१ पुष १५ गते १९:४१


पोखरा । पुसे पन्ध्रम् अर्थात तमु ल्होछार मनाउन पोखराका गुरुङहरुको सोमबार बिहानैदेखि चहलपहल थियो । गुरुङ पहिरनमा सजिएका बालबालिकादेखि वृद्धसम्म कोही समाज, कोही गुम्बा जाने तयारीमा थिए । मखमली र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, हरियो पटुका र मलिनको पछ्यौरीमा युवतीहरु बाटोमा देखिन्थे ।

हातमा चुरा, काँक्रे बियाँ औँठी, गलामा हरियो पोते, जन्तर, मुगाको माला, नौगेडी एवं ठोकाकण्ठ, शिरबन्दी, लाहुरे फुली, ढुंग्रीले अर्को पहिचान झल्काउथ्यो । पुरुषहरु सेतो कछाड, मलायको पेटी, सेतो भोटो, कालो मखमलको स्टकोट र कालै मखमलको टोपीमा ठाँटिएका थिए । कानमा कुण्डल तथा घाँटीमा गलबन्दीले मौलिकता अझै बलियो बनाएको थियो । मौलिक पहिरनमा भेटिएका उनीहरु गिद्ध वर्गको बिदाई र सर्प वर्गको स्वागतका लागि आतुर थिए ।

उनीहरुलाई समाज घरसहित तमु धिं नेपाल, तमु प्हे ल्हु संघ र बौद्ध अर्घौं सदनमा पुग्न हतारमा थियो । तमु धिं पुग्ने टोली ११ बजे मानवअधिकार चोकमा भेला भएई ल्होछार शुभकामना ¥यालीसहित चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै त्यहाँ पुगी ल्होछार विशेष कार्यक्रममा परिणत भएको थियो ।

Advertisement

विभिन्न संघ, संस्थामा जातीय पोशाकमा परम्परागत तरिकाले गुरुङहरुले नयाँ वर्ष (सर्प वर्ग) लाई स्वागत गरेका छन्

¥यालीमा विभिन्न झाँकी र परम्परागत नृत्य प्रस्तुत गरिए । तमु धिंको कार्यक्रममा अरु जातीय संघ, संस्था नेवाः खल कास्की, हेल्मो समाज, तामाङका प्रतिनिधिहरु पनि आ–आफ्नो पोशाकमा उपस्थित भएर जातीय सद्भाव र ऐक्यवद्धता जनाए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पुँजी भएको बताए । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको औंल्याए ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर मुलुक हो । यस्ता विविधता संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’, उनले भने, ‘नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुसियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्छ ।’

प्रदेश प्रमुख भट्टले अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु अहिलेको पुस्ताको मुख्य जिम्मेवारी भएको औंल्याए । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन् ।
कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मा तमु, नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे, गुरुदेव भानु, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ र पुरस्कृत व्याक्तित्व राजबहादुर गुरुङले ल्होछार गुरुङको नयाँ वर्ष भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिए ।

मौलिक पहिरनमा सजिएका केही गुरुङ धार्मिक संस्था तमु प्हे ल्हु संघमा पनि गएका थिए । त्यहाँ शुभकामना आदानप्रदानसहित नृत्य प्रदर्शन, छेलो, रस्साकस्सी प्रतियोगिता गरिएको छ । संघमा आइतबार राती १२ बजे नै सर्प वर्गको स्वागत गर्न ‘बोन फायर’ भएको थियो ।

ल्होछारका दिन बिहानै ४ बजेदेखि नै घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लमहरूबाट छ्येगुह्येगु (ग्रह काट्ने काम) गरिएको अध्यक्ष ओमबहादुर थिम्जे तमुले जानकारी दिए । प्हच्यु, घ्याब्री र बोन लामाहरूबाट रिपा लगाउने कार्यसँगै शुभकामना आदानप्रदान, सम्मान, खुला नृत्य प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

यस्तै, बौद्ध अर्घौ सदन, रामघाटले पनि ल्होछारमा विभिन्न कार्यक्रम गरेको छ । बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिने ग्रहशान्ति गर्ने, दर्शन गर्ने, दीप प्रज्ज्वलन, रिपा लगाउने र खाना दानको कार्यक्रम गरिएको बौद्ध अर्घौ सदन रामघाटका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिए । बौद्ध अर्घौं सदनमा करिब १० हजार जना पुगेका थिए ।

यो वर्षको सप्री ल्होछार उल्लासमय ढंगबाट सकिएको तमु धिं नेपालका कार्यवाहक अध्यक्ष अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले बताउँछन् । आगामी वर्ष अझ प्रभावकारी रुपमा ल्होछार मनाइने उनले सुनाए ।


विभिन्न व्यक्तित्व सम्मानित
तमु धिं नेपालमा भएको कार्यक्रममा तमु धिं नेपालले सञ्चालन गरेको पुरस्कार वितरण गरियो । स्व. धनबहादुर गुरुङ साहित्यिक पुरस्कारबाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भए । उनलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो । डा हर्क, डा चन्द्र र प्राध्यापक सन्त शिक्षा पुरस्कारबाट सञ्चारकर्मी सम्राट गुरुङ नगद १५ हजार रुपैयाँसहित सम्मानित भए ।

कोषबाट आकृति स्मृति अक्षयकोषबाट शंकर, सम्झना र विश्वास गुरुङ सम्मानित भए । उनीहरुलाई जनही १० रुपैयाँसहित सम्मान गरिएको हो । सुनील छात्रवृति अक्षय जन्नत, विसन र कलस गुरुङलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कर्णेल तीर्थकुमारी समाज सेवा पुरस्कारबाट तमु धिं नेपालका पूर्व उपाध्यक्ष एवं संरक्षक स्वं कर्णेल रामकाजीलाई गुरुङ नगद १५ हजार रुपैयाँसहित मरणोपरान्त सम्मान गरिएको थियो । सन्तबहादुर तमु स्मृति समाज सेवा पुरस्कारबाट तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङलाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

आदिकवि स्व. हर्क तमु स्मृति पुरस्कारबाट साहित्यतर्फ सुदर्शन, समाजसेवातर्फ लक्ष्मी, नेपाल बाहिरको सहित्यतर्फसुर्ज (युके) र नेपाल बाहिरको समाज सेवातर्फ नानी कमला गुरुङ (हङकङ) लाई सम्मान गरिएको छ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया