सम्पादकीय—नयाँ वर्ष, नयाँ संकल्प

अहिले संसार नै अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न तम्तयार छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू वर्षभर भएका घटना विवरण तयार पारी प्रकाशन गरिरहेका छन् । ती विवरणबाट निछोड निकालेर भावी योजना निर्माणमा सजगता अपनाउने सन्देश पनि सँगै दिने गरिएको छ । व्यापारिक कम्पनीहरू आफ्ना उत्पादन प्रवद्र्धन गर्न नयाँ वर्ष विशेष प्याकेज घोषणा गरिरहेका छन् । नयाँ कम्पनी खुल्ने अन्तिम तयारीमा जुट्नेको संख्यासमेत उत्तिकै छ ।
नयाँ वर्षसँगै आर्थिक वर्ष गणना हुने देशहरूका निम्ति त यो दिन विशेष हुने नै भयो । धेरैजसो युरोपका देश, ल्याटिन अमेरिकी देश, कतिपय अफ्रिका र एसियाली देशमा नयाँ वर्षदेखि नै आर्थिक वर्ष फेरिन्छन् । त्यस्ता देशका निम्ति नयाँ कार्यक्रमको घोषणा र वर्षभरको समीक्षा गर्ने यो विशेष दिन पनि बन्ने नै भयो । अंग्रेजी नयाँ वर्षको महत्व बढिरहनुमा प्रविधिको छलाङले पनि भूमिका निर्वाह गरेको छ ।
अहिले संसारभर नेपाली पुगेका छन् । यसको अर्थ संसारभरको संस्कृतिसँग नेपाली परिचित भइरहेका छन् । अंग्रेजी नयाँ वर्षको उत्सव अब नेपालीको पनि विशेष बनिरहेको छ । त्यसैले यो दिनलाई विशेष महत्वका साथ हेर्न थालिएको छ । नयाँ वर्षलाई विशेष बनाउने संस्थागत र व्यक्तिगत तरिकाहरु छन् । नेपालीले अंग्रेजी वर्ष मनाइरहँदा यी दुवै विकल्पमा खुला हुनुपर्छ । त्यो भनेको सरकारको नेतृत्वमा रहनेहरूले संस्थागत रूपमै वर्षभरको समीक्षा र नयाँ संकल्प गर्नु राम्रो हुन्छ । मानिसहरुले व्यक्तिगत रूपले पनि नयाँ वर्षलाई विशेष बनाउन सक्छन् । ठूलो संख्या र अंग्रेजीभाषीहरुले यो वर्ष मनाउने हुँदा यसको चर्चा बढी हुनु स्वभाविकै हो । त्यसमा पनि धेरै विकसित देशले यो संवत मान्ने भएकाले अरुले यसको अनुशरण गर्नु पनि अनौठो रहेन ।
नेपालमा अहिले विशेष गरी तीन थरि संवत मान्ने गरिएको छ । अंग्रेजीसहित विक्रम संवत र नेपाल संवतलाई मान्यता दिइएको छ । सँगसँगै विभिन्न जातिका पृथक नयाँ वर्ष र संवतहरु पनि यहाँ छन् । शासन सत्तामा बस्नेहरूले वर्षभर भएका गल्तीहरुको समीक्षा गरेर एउटा निष्कर्ष निकाल्नु जरुरी छ । यो वर्ष दक्षिण एसियाकै बंगलादेश र श्रीलंका निरंकुशताले पराजय भोगेको छ । युद्ध नीतिविपरीत आश्वासन दिने डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएका छन् ।
नेपालमा चीसो मौसममा मनाइने यो नयाँ वर्ष पर्यटनका हिसाबले अफ सिजन हो । अर्थतन्त्र चलायमान बनाउन र पाहुना आकर्षित गर्नसमेत यो नयाँ वर्षको उपयोग गर्न थालिएको छ । पोखरामा आयोजना गरिने सडक महोत्सव यसैको बलियो माध्यम बनेको छ । नेपालीमा सहिष्णुता र अरुको संस्कार, संस्कृतिको सम्मान गर्ने बानी छ । सँगसँगै आफ्ना संस्कार, संस्कृति, संवत प्रवद्र्धन र संरक्षण गर्ने दायित्व पनि हाम्रै हो । पुराना वर्षका गल्ती, कमजोरीबाट सिक्दै नयाँ वर्षमा नयाँ संकल्प गरौँ ।
तपाईको प्रतिक्रिया