विज्ञापन संघको सभा

समाधान संवाददाता २०८१ पुष १६ गते ११:४७

काठमाडौं ।
नेपाली आम सञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन, नेपाल विज्ञापन संघले आइतबार विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बन्धित सबै पक्षलाई समावेश गरी दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Advertisement


राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षले प्रस्तुत गरेको छुट्टाछुट्टै वार्षिक तथा आर्थिक विवरण, र आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणलाई बहुमतले पारित गरी नियमित प्रावधान पूरा गरिएको थियो ।


त्यसपछि आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बन्धित सबै पक्षलाई समावेश गरी ‘स्टेइङ रेलिभेन्टः रिसेपिङ’ नेपाल्स एडभर्टाइजिंग ल्याण्डस्केप’ शीर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुतकर्ता भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आ–आफ्नो क्षेत्रको धारणा राखेका थिए ।

वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए ।

Advertisement


तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मीहरु यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका श्री घनश्याम राजकर्णिकारलाई नेपालको विज्ञापन उद्योगलाई परिष्कृत भई आजको अवस्थामा ल्याउन उनीहरूले आ–आफ्नो क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो ।

थाइल्याण्डमा आयोजना हुने योङ लोटस वर्कसपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अस्ट्रेलिया लगायत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरू बीच भएको प्रतिस्पर्धामा उत्कृष्ट ५ भित्र पर्न सफल प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया