भूतपूर्व खेलाडी मञ्चले पोखरामा मासिक दौड गर्ने

समाधान संवाददाता २०८१ पुष १६ गते १८:२६

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा मासिक र साप्ताहिक दौड कार्यक्रम गर्ने भएको छ । ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ नारालाई आत्मसात् गर्दै, मञ्चले पोखरा महानगर पालिकाको सहयोगगमा मासिक र साप्ताहिक दौड कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

Advertisement

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङका अनुसार पहिलो मासिक दौड कार्यक्रम पुस २७ गते हुने भएको छ । ३ किमी र ५ किमीको छात्र तथा छात्रा दौडमा ८ देखि १६ वर्ष उमेरका बालबालिका सहभागी हुन सक्नेछन् । ३ किमीको दौड ८–१२ वर्ष उमेर समूह (कक्षा ५ सम्म) र ५ किमीको दौड १२–१६ वर्ष उमेर समूह (कक्षा १० सम्म) का लागि छुट्याइएको छ ।

दौडको मार्ग रंगशालाबाट सुरु भई पोखरा वडा नं. १० इन्द्रमार्ग हुँदै पुनः रंगशालामा समापन हुने तय भएको छ । दर्ता प्रक्रिया पनि खुला गरिएको छ र ५ किमीको दौडमा पहिलो ५० छात्र र ५० छात्राले प्रविधि मैत्री ‘चिप्स’ को प्रयोग गर्न पाउनेछन् ।

अन्तिम दर्ता मिति पुस २६ गतेसम्म राखिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई मेडल, प्रमाणपत्र, र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।


मञ्चका अध्यक्ष दिलबहादुर गुरुङका अनुसार यो दौड कार्यक्रम केवल प्रतियोगिता मात्र नभई खेलकुद संस्कृतिको विकास गर्ने र स्वस्थ समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो । यस अभियानलाई सफल बनाउन विशेष सहयोगका लागि मञ्चले विशेष अनुरोध समेत गरेको छ । यो मासिक दौड कार्यक्रमले नयाँ खेलाडी उत्पादन गर्न र पोखरालाई दौड संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement


मञ्चले स्थापनाकालदेखि पोखरा खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विभिन्न सामाजिक र खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । मञ्चले थालेको पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया