सम्पादकीयः विग्रहकर्मीको मुखमा ‘मेलमिलाप’

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ सालमा लिएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको सम्झनामा नेपाली कांग्रेसले यस पटक पनि विभिन्न कार्यक्रम आयोजना गरेका छ । कांग्रेसले बर्सेनि १६ पुसमा बिपीको मेलमिलाप नीति सम्झने गरेको छ । निर्वासनबाट स्वदेश फर्कंदै गर्दा बिपीले राष्ट्रिय स्वाधीनताका निम्ति तत्कालीन राजासँग एकता भनेका थिए । तिनै बिपीको सत्ता र जननिर्वाचित संसद् भंग गर्दै २०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायत लादेपछि कांग्रेसले सशस्त्र विद्रोह गर्ने हिम्मत गरेको थियो ।
तर, कांग्रेसको विद्रोहले पञ्चायत अन्त्य गर्न नसकेपछि बिपी कोइरालाले मेलमिलापको नीति लिएका थिए । त्यो नीतिलाई लिएर कांग्रेस नेताहरू आजभोलि देशको सार्वभौमिकताप्रति चिन्ता गर्ने गर्छन् । पञ्चायतको जेल र निर्वासित जीवनपछि स्वदेश फर्कने क्रममा बिपीले पनि मुलुकको सार्वभौमिकताकै एजेन्डा उठाएका थिए । त्यो बेला बिपीले मेलमिलापको नीति लिइरहँदा र अहिलेको राजनीतिक परिस्थितिमा आकाश–पातालको परिवर्तन आइसकेको छ । उहिले र अहिलेका परिस्थिति तुलनायोग्य छैनन् तर नेताहरु विभिन्न कारण बर्सेनि यस्तो उपक्रम निम्त्याइरहन्छन् ।
पञ्चायत २०४६ सालमै ढल्यो, २०६२/०६३ सालपछि राजतन्त्रकै अन्त्य भइसक्यो । त्यो बेला खतराका रूपमा व्याख्या गरिएको कम्युनिस्ट पार्टीहरूसँग त कांग्रेसले धेरै पटक सहकार्य गरिसक्यो । अहिले कांग्रेस र एमालेकै सरकार छ । २०४६ सालको परिवर्तनकै बखत कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेको थियो । राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा पनि कम्युनिस्टसँगै कांग्रेसको सहकार्य भयो । २०४७ साल र २०७२ सालको संविधानका अन्तर्वस्तुमा पनि कम्युनिस्टसँग कांग्रेसले साझेदारी गर्नुप¥यो । तसर्थ, बिपीले त्यो बेला देखेको राजनीतिक परिवेश र परिवर्तित सन्दर्भ मिल्दैन । यी परिवेशमा ठूलो अन्तर छ । तथापि, कांग्रेसका केही नेताहरू मेलमिलापको नीति सान्दर्भिक भएको रट लगाइरहन्छन् ।
शक्ति संघर्षकै समीकरण हेर्दा कांग्रेसले निकाल्ने ‘सान्दर्भिकता’ शब्द सही होइन किनकि कम्युनिस्टलाई खतरा देख्ने अनि राजासँग मुलुकको सार्वभौमिकताका निम्ति साझेदारी भन्ने कुरो नै असान्दर्भिक भईसक्यो । त्यति बेला बिपीले गरेको त्यही थियो । त्यसैले यसबारे धेरै चर्चा गरिरहनुपर्दैन । जहाँसम्म मुलुकको सार्वभौमिकताको सन्दर्भ छ, त्योचाहिँ अहिले पनि ढुक्क हुने स्थिति छैन । मुलुक सञ्चालनको सम्पूर्ण निर्णय सार्वभौम जनताको जनादेश बमोजिम नभइरहेको नेताहरूले बेला बखत बताउने गरेका छन् । सत्ता परिवर्तनको एउटा महत्वपूर्ण कारण नै विदेशी शक्ति रहेको टिप्पणी सुनिन्छ ।
सत्ताको अस्थिरता नै विकासको सूचीमा देश पछाडि परेको छ । नेपाली जनतामा निहीत सार्वभौमिकतालाई सर्वोपरी ठानेर निर्णय लिने कुरा गर्दा बिपीको नीति सान्दर्भिक मान्न सकिन्छ । सत्ता स्वार्थबाट मुक्त भएर नेताहरूले जनता, देश र संविधानप्रति इमान्दार हुँदा बिपीप्रति पनि सम्मान हुन्छ । सत्ता प्राप्तिकै लागि अनेक सम्झौता गर्ने, अनेक गठबन्धन गर्ने, जुनसुकै सम्झौत पनि गर्ने र बिपीको मेलमिलाप र त्यागको कुरा गर्नु सुहाउँदैन ।
तपाईको प्रतिक्रिया