जनमत कसैको बिर्ता होइन

समाधान संवाददाता २०८१ पुष १८ गते १६:२८

५० को दशकका सर्वाधिक लोकप्रिय नेता जननेता मदनकुमार भण्डारीलाई नेपाली जनता प्रधानमन्त्री भएको देख्न चाहन्थे, तर उनी युवा अवस्थामै देशले गुमायो । देशले सर्वाधिक अपेक्षा गरेका डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा जुन लोकप्रियता कमाएका थिए, प्रधानमन्त्री हुँदा त्यो लोकप्रियता जोगाउन सकेनन् । ‘त्यो निर्वाचन क्षेत्र त फलानो पार्टीको गढ हो नि । त्यहाँ त त्यो पार्टीको उम्मेदवार जसरी उठे पनि जित्छ’ भन्ने कुरा बिरलै सुन्न पाइनेछ ।

Advertisement


नेपाली राजनीतिक आकाशमा जनमतको कदर कमै राजनीतिज्ञले गरेको पाइन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को त्यो लामो पृष्ठभूमि हेर्ने हो भने जनताको ओठले लिने नाम सायदै आधा दर्जन प्रधानमन्त्रीको नाम आउँछ होला । प्रजातान्त्रिक पृष्ठभूमिमा आफ्नो राजनीति अगाडि बढाएका बीपी कोइराला, कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारको नेतृत्व गर्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, दस वर्षको कठोर संघर्षपछि बनेको गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्ता केही नेताहरूको नाम जनताले लिने गरेका छन् । यद्यपि, यही नाममा पनि सबैले विकास र समृद्धिसँग जोडेर हेरेको पाइँदैन ।


जनताको सामान्य समस्या समाधान गर्ने नीति विचारसहित आएको मनमोहन सरकारपछि अरुले जनताको आशा जोगाउन सकेको देखिँदैन । नेपाली जनताले उच्च आशा देखेका केही नेताहरु, जसले जनमत जोगाउन सक्थे कि भन्ने थियो, तर विडम्बना, उनीहरू त्यो नेतृत्वमा पुग्नै नपाई यस धर्तीबाट बिदा भए ।


नेपाली जनताको चेतना निकै फराकिलो भइसकेको छ । अब कुनै धूर्त राजनीतिज्ञले ’गढ बनायो’ भन्ने कुरा बकवास मात्रै हुनेछन् । २०४६ पछिको राजनीतिलाई फर्केर हेर्ने हो भने कति निर्वाचन क्षेत्रमा कति थरिका उम्मेदवारले विजय प्राप्त गरे, कतिले पराजय? ’जनमत कसैको बिर्ता होइन’ भन्ने कुरा सबैभन्दा बलियो प्रमाण भनेको २०७९ सालको स्थानीय तहको निर्वाचन र २०८० सालको संघ र प्रदेश सभाको निर्वाचनको मतपरिणाम हो । देशभरिका तथ्यांक संकलन गरेर हेर्दा, ०७९ सालको स्थानीय तहमा करिब ३५८ जना स्वतन्त्र उम्मेदवारहरू विजय भएका छन् ।


सोचौं, ती ३५८ स्थानमा पहिलो चुनावमा कुनै न कुनै राजनीतिक पार्टीका उम्मेदवारहरूले जितेका थिएनन् र ? देशभर चर्चामा रहेका बालेन, हर्क, गोपीजस्ता स्वतन्त्र उम्मेदवारको विजय के जनताको मत फिर्ता अभियानको केही अंश थिएन र? कसले समीक्षा गरेको छ किन स्वतन्त्र उम्मेदवारहरू विजय भए? किन पुराना दलहरूले आफ्नो साख गिराउँदै गएका छन् ?
पछिल्लो निर्वाचन २०८० मंसिर ४ गते सम्पन्न भयो । तर कुन राजनीतिक दलका कुन नेताले कसरी जित–हार सहन पर्‍यो ? राष्ट्रिय स्वतन्त्र पार्टीका मत कुन पार्टीका थिए ? राप्रपाले पाएको मत कहाँबाट आयो? खास कुन दलले कहाँबाट के कसरी विजय–पराजय भोग्न पर्‍यो ? मसिनो गरेर कसैले तथ्याङ्क लिएको पाइँदैन ।

Advertisement


पछिल्लो समय प्रायः विजय प्राप्त गरेका उम्मेदवारहरूले जित्दा ‘म बलियो भएकाले जितेँ’ र हार्दा ‘अन्तर्घात भयो’ वा ‘आफ्नैले असहयोग गरे’ भन्ने समीक्षा गरेका छन् । हार्नेहरुले खासमा ‘म किन हारेँ? मलाई जनताले किन मत दिन रुचाएनन् ? मेरो विपक्षीले के कारण जनताको मत पाए? भोलि मैले जनताको मत जित्न के कुरामा ख्याल गर्नुपर्छ ?’ भनेर समीक्षा न त पार्टीले गर्छ न त उम्मेदवारले ।


जित्नेहरुले पनि जितेपछि ‘सबैभन्दा म अब्बल भएकाले विजय भएँ । मभन्दा अरु उठेको भए कहाँ जित्थे र ?’ भन्ने घमण्डका कारण समस्या सिर्जना हुँदै गएको पाइन्छ । ‘मलाई जिताउन मभन्दा धेरै मेरो समर्थक र शुभेच्छुकको कारणले विजय प्राप्त भयो’ भन्ने कुरा सायदै कमै विजय उम्मेदवारमा देखिन्छ ।


जनताले यस कारण फिर्ता लिन सक्छन् आफ्नो मत
आफूले चुनेको प्रतिनिधि जनउत्तरदायी नभएमा ।
जनप्रतिनिधिले भूमिका सही ढंगले निर्वाह नगर्दा ।
नीति निर्माण र विकास निर्माणमा सन्तुलन मिलाउन नसक्दा ।
साझा चरित्र प्रस्तुत गर्न नसक्दा
ठालु स्वभाव
जनतासँगको सम्बन्ध पातलो हुँदै
आफूले चुनेको प्रतिनिधि जनउत्तरदायी नपाउँदा


हाम्रो जस्तो औसत जीवनस्तर भएका मुलुकका जनताको चाहना विकास निर्माण मात्रै नभई सामान्य रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य विषयमा पनि आफूले चुनेको प्रतिनिधिसँग अपेक्षा गरेको हुन्छन् । जनताको अप्ठ्यारोमा जनप्रतिनिधिले साथ दिएको छ वा छैन, यो सबैभन्दा महत्त्वपूर्ण विषय हो । आवश्यकताका र प्राथमिकताका आधारमा जनप्रतिनिधिले योजना तथा नीति बनाएका छन् वा बनाएनन्, वा व्यक्तिगत स्वार्थमा लागेर आफू अनुकूल काम गरेका छन् वा गरेका छैनन्, जनताले निकै मसिनो गरी हेरेका हुन्छन् । जब जनतामैत्री काम भएको पाइँदैन, तब जनमत फिर्ता अभियान बेडोजले चल्नेछ ।

जनप्रतिनिधिले भूमिका सही ढंगले निर्वाह नगर्दा
सामान्यतः वडा सदस्य, वडा अध्यक्ष, पालिका/नगर प्रमुख, उपप्रमुख, प्रदेशसभा सदस्य, संघीय सभा सदस्य जो होस्, यदि जनताबाट अनुमोदित छ भने उसले आफू को हुँ, किन निर्वाचित भएँ, मेरो काम, कर्तव्य र अधिकार के हो भनेर बुझ्न जरुरी छ । निर्वाचित प्रतिनिधिले आफू को हुँ भन्ने बिर्सेर जनताको गर्नै पर्ने काम नगर्दिने, नगर्ने काम गर्ने, भ्रष्टाचार, अनियमितता प्रोत्साहन गर्ने, असमान वितरण प्रवद्र्धन गर्ने, बजेट विनियोजन गर्दा आवश्यकताको आधारमा नभई राजनीतिक दल र कार्यकर्ताका आधारमा गर्ने, प्राकृतिक न्यायका आधारमा नभई राजनीतिक दलका मतको हिसाब–किताबका आधारमा अन्याय गर्ने हो भने पनि जनताले आफ्नो मत फिर्ता लिने अभियान चलाउनेछन् । यस्तो अभियान चल्दा, पहिला निर्वाचित भए पनि, त्यसका गतिविधिले उसको पार्टीलाई ठूलो क्षति पुर्‍याउने निश्चित छ ।

नीति निर्माण र विकास निर्माणमा सन्तुलन मिलाउन नसक्दा
राजनीतिको मूल मर्म नै राज्यको सही नीति निर्माण गर्नु हो । सही नीति निर्माण भएर बनेको नीति अनुसार कार्यान्वयन भएमा मात्रै राज्य सवलिकरणको बाटोमा हिँड्नेछ । यो देशका लागि सबैभन्दा महत्त्वपूर्ण विषय पनि हो । देशको आवश्यकताका आधारमा नीति तय हुनु र कार्यान्वयन हुनु सामान्य विषय हुँदै होइन । देशको आर्थिक नीति, परराष्ट्र नीति, न्यायपालिका, कार्यपालिका कस्तो हुने, कस्तो स्वरूप दिने—सबै यही भित्र पर्छ । यहाँ बुद्धिमतापूर्वक काम गर्न सके देशले क्षणभरमै परिवर्तन गर्न सक्छ । यहाँ आएर कुनै राजनीतिज्ञ चुक्छ भने उसको जनमत खिइँदै जानेछ । तसर्थ ’जनमत बिर्ता होइन’ भन्ने बुझ्ने समझदार व्यक्ति नेतृत्वमा पुग्न जरुरी छ ।

निर्वाचित भएपछि साझा चरित्र प्रस्तुत गर्न नसक्दा
सामान्यतः राजनीतिक पार्टीको चुनाव चिह्नबाट निर्वाचित प्रतिनिधिले सोही दलको विशेष योगदान गर्नु र सोही दलको नीति, कार्यक्रम, र घोषणापत्र कार्यान्वयन गर्नु उसको नैतिक धर्म हो । तर, जब एउटा पार्टीको कार्यकर्ता निर्वाचित हुन्छ, उ त्यो पार्टीको मात्रै नभई आम सबै खाले मतदाताको, वा मत दिन नपाएका जनताको पनि प्रतिनिधि हुने गर्दछ । निर्वाचनमा जाँदा कुनै अमूक दलको मात्रै नभई सबै खाले जनमतको प्रतिनिधित्व गर्नुपर्ने भएकाले उसले सार्वजनिक रूपमा साझा चरित्र प्रस्तुत गर्न सक्नुपर्छ । खासमा, एउटा सामाजिक व्यक्तिको हरेक मिनेट, हरेक क्षण सामाजिक परीक्षण हुने गर्दछ । उसको काम कारबाही शुद्ध र सर्वपक्षीय हुन जरुरी छ ।

ठालु स्वभाव
संसारमा धेरै मानिसको अन्याय उसको गलत स्वभावका कारण हुने गर्दछ भने संसारका सफल र सक्षम मानिस पनि तिनकै अनुकरणीय स्वभावका कारण हुने गर्दछ । हिटलर आफ्नो घमण्डी स्वभावका कारण अन्त्य मात्रै भएनन्, संसारकै क्रूर शासकको रूपमा परिचित भए । २० वर्ष जेल बसेर पनि सामान्य किसानका छोरा नेल्सन मण्डेला दुनियाँका प्रेरणाका स्रोत बनेर अस्ताए । इतिहास भिन्न भए पनि हिटलर कसैलाई मन पर्दैन, तर मण्डेला संसारभरका मानिसको मानसपटलमा सधैं जीवित छन् ।


यसरी नै नेपाली राजनीतिमा पनि स्वभावका कारण स्थापित र विस्थापित नेतृत्वको शृंखला लामो छ । वर्तमान अवस्थामा नेपाली राजनीतिमा ठालु स्वभाव प्रदर्शन गर्नेहरू व्यापक भेटिन्छन् । उनीहरूले बोलेका कुरा र गरेका काम जनताले पत्याइरहेको हुँदैन । जब नेतृत्वले विकासको जस लिन खोज्छ र ’सबै मैले गरेको हो’ भन्छ, जनताको नजरमा गिरिन्छ ।


जनतासँगको सम्बन्ध पातलो हुँदै जाँदा
जब जनप्रतिनिधिको जनतासँग सम्बन्ध पातलो हुँदै जान्छ, तब उसको व्यक्तिगत जीवन मात्रै होइन, उसले प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीको समेत जनतासँग सम्बन्ध पातलो हुँदै जान्छ । जनताको हरेक अप्ठ्यारोमा जनप्रतिनिधिले साथी बनेर उपस्थित हुन जरुरी छ ।


खासमा जनमत कसैको कहिल्यै बिर्ता हुन सक्दैन । जनताको मन जित्न सक्नेलाई मात्रै जनताको प्रतिनिधि भन्न सकिन्छ ।

सुवेदी रुपा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया