सम्पादकीयः नफापेको वैकल्पिक राजनीति

केही दिन अघि नेकपा(एमाले)बाट साधारण सदस्य समेत नरहने गरी निष्काशित डा भीम रावल नयाँ पार्टी खोल्ने तरखरमा छन् । पाँच दशक एमालेको राजनीति गरेका पूर्व उपाध्यक्ष रावलले कम्युनिस्ट छोड्ने र देशभक्तको पार्टी बनाउने घोषणा गरे । रावलले देशभक्तिपूर्ण वैकल्पिक शक्ति बनाएर मातृभूमि जागरण अभियान थालेका छन् ।
नेपालको इतिहासलाई फर्केर हेर्दा मुल पार्टीलाई विभाजन गरेर वा फुटाएर जाने कोही पनि दल फस्टाउन सकेको छैन । जुन पार्टीबाट जति पटक फुटेपनि, पटक पटक चोइटिएर गएपनि कित मातृ संस्थामा फर्किएका छन् । कित अस्तित्व रक्षाको लागि संघर्षरत छन् । कित नेपालको राजनीतिबाट विलाएर गएका छन् । यस्तो अवस्थामा पछिल्लो पटक पूर्व उपाध्यक्ष रावलले त्यस्तै अभ्यास गरेका छन् ।
खास गरी एमाले छाडेर जानेहरूको अवस्था टिठलाग्दो छ । २०५५ मा पार्टी विभाजन गरेर माले बनाएका वामदेव गौतम सफल नभएपछि एमालेमै फर्किए । त्यसो त एकीकृत समाजवादीको हालत खराब सूचीमा छ । दुई–दुईजना पूर्वप्रधानमन्त्री नेतृत्वको उक्त पार्टी तीन वर्षसम्म आइपुग्दा खिइँदो छ । पार्टी विभाजनको मर्मअनुसार अघि बढ्न नसकेकोले शीर्ष तहकै नेतादेखि सयौं नेता–कार्यकर्ता माउ पार्टीमै फर्किएका छन् ।
शेरबहादुर देउवाले ४ असार २०५९ मा आफू पक्षीय कार्यकर्ताको भेला गरेर नयाँ पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) घोषणा गरे । तर पहिलो संविधानसभा निर्वाचनअघि २०६४ सालमा देउवाको पार्टी माउ पार्टीमा विलय भयो । अहिले माओवादी मूलधारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड समूह संविधानसभामार्फत संविधान निर्माण गर्ने पक्षमा उभिँदा मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)लगायतका समूह त्यसमा विमति जनाउँदै छुट्टिए । अहिले विप्लव नेतृत्वको नेकपा माउ पार्टीतिरै फर्कने तयारीमा छ भने मोहन वैद्यको क्रान्तिकारी माओवादी अस्तित्व रक्षाको संघर्षमा छ ।
तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी यात्राको बिट मारेपछि जोडिएका सारथिले समेत साथ छोड्दै गए । अहिले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पनि अस्तित्व संकटमा छ । माउ पार्टी छाडेर क्षेत्रीय दल खोलेकाहरू धेरै माथि उठ्न सकेका देखिँदैनन् । २०५४ मा एमाले छोडेर मधेशी जनअधिकार फोरम गठन गरेका उपेन्द्र यादवदेखि आफ्नै क्षेत्रमा कमजोर छन् ।
विचारको अस्पष्टता, सांगठनिक संरचना निर्माणमा लगाउनुपर्ने प्रयास र नेता–कार्यकर्तामा विश्वास जगाउन नेतृत्व चुक्दा चोइटिएर गएका दलहरु फस्टाउन नसकेको हो । पार्टी सिद्धान्तसँगै सांगठनिक संरचनाको आधारमा हुन्छ । त्यो सिद्धान्तबाट बाहिर गइसकेपछि त्यसमा फेरि ठूलो कोसिस गर्नुपर्ने देखिन्छ । नेता कार्यकर्ताले सिद्धान्त र विचारमा स्पष्टता त खोज्ने भइहाले, साथमा आर्थिक, पदीय स्रोत तथा सुनिश्चितता र विश्वास पनि नेतृत्वबाट खोज्छन् ।
निर्वाचनमा टिकट लिनेदेखि जनताबाट निर्वाचित भएर आउने सुनिश्चितता नदेखेपछि नेतृत्वसँग जोडिरहने वा उक्त संगठनमा रहनुको औचित्य नेता कार्यकर्ताले देख्न छाड्छन् । अनुयायीहरू क्रमशः कमहुँदै जाँदा माउ पार्टी छाडेर जानेहरूका सवाल कमजोर हुन्छ । यस्तो अवस्थामा रावलको आवेग, असन्तुष्टि र अराजकताले पार लगाउने देखिन्न ।
तपाईको प्रतिक्रिया