लेखनाथ महोत्सवमा बुद्ध प्रतिमाले खिच्यो ध्यान

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरूको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धासम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखि टिकटक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन्, ‘बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरूको ध्यान तान्न सफल भएको छ नै, त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।’
झन्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमै निर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ । यसले लेखनाथ क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको दाबी छ ।
बिहीबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार १० हजार दर्शकहरूले अवलोकन गरेका छन् । ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरू रामजी खाण, सरस्वती लामिछाने, मधु रसाइली, कृष्ण सुवेदी, सबिना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुति दिएका थिए । बेलुकी लाइभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जीवसिंह रानाले स्टेज तताएका थिए ।
शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तिश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुति दिनेछन् भने हास्यव्यङ्ग्यतर्फ पवन खतिवडा ‘म्याकुरी’ को प्रस्तुति रहनेछ । बेलुकापख हुने लाइभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।
शुक्रबार महिला/आमा समूहका बीच भएको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समूह सेमिफाइनल चरणमा प्रवेश गरेको छ । विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुति दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन् । प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।
तपाईको प्रतिक्रिया