स्थापनाको ४ वर्षपछि भवन बनाउँदै गण्डकी प्राविधिक शिक्षालय

धनबहादुर गुरुङ २०८१ पुष २० गते ७:०९


पोखरा । गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटी) स्थापना गर्‍यो । २०७६ सालमा ऐन बनाएर सोही ऐनअनुसार ४ वर्षअगाडि खुलेको प्रतिष्ठानको कार्यालय अहिले पोखराको ड्यामसाइडमा छ ।

Advertisement

तत्कालीन गण्डकी यातायात व्यवस्था (लाइसेन्स) कार्यालयको भवनको ४ वटा कोठाबाट काम सुरु गरेको जिटिइभिटीले जनताले महसुस गर्ने गरी काम गरेको भेटिँदैन । प्रतिष्ठानले प्रदेशले ल्याएका योजनामा कार्यक्रमहरु चलाउने, स्थानीय तहसँग आवश्यक जनशक्तिका लागि छलफल लगायतका कार्यक्रम गरिरहेको छ । तर, ठूलो महत्वकांक्षा बोकेर स्थापित संस्थाले लामो समयसम्म पनि काम नदेखिँदा जतनाले कार्यकर्ता रिझाउन खोलिएको संस्थासम्म भन्न भ्याएका थिए ।

विविध कारण काम गर्न नसकेको जिटिइभिटीले अन्ततः शनिबार प्रशासनिक र आवासीय भवनको शिलान्यास गरेको छ । स्याङ्जा फेदीखोला १ गुर्धुमको १ सय ६० रोपनी जग्गा प्रतिष्ठानको नाममा आएपछि डिपिआरको काम सकेर शिलान्यास गरिएको हो । जहाँ प्रतिष्ठानले ‘नमुना प्राविधिक संरचना’ बनाउने लक्ष्य राखेको छ ।
भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पूर्वमन्त्रीहरु सिताकुमारी सुन्दास, पञ्चराम गुरुङ, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङ, प्रदेश सांसद सुधीरकुमार पौडेल, कल्पना तिवारीलगायत उपस्थित थिए ।

स्याङ्जाको फेदीखोलास्थित १ सय ६० रोपनी जग्गामा भवन लगायत पूर्वाधार बनाउन कोइकाले ९० लाख अमेरिकी डलर अनुदान दिने

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्राविधिक शिक्षा आजको मुल आवश्यक भएको बताए । प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सिप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उनले सुनाए । देशमै रोजगारी गर्न वा विदेशमा रोजगारीका लागि जान चाहनेहरुका लागि यसले टेवा पु¥याउने उनको भनाइ थियो । ‘अहिले नेपालमा केही पनि गर्न सकिदैन भन्ने नकरात्मक सोंच छ । अब यसबाट उत्पादन भएका विद्यार्थीहरुले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष सिपयुक्त व्यक्ति निर्माण गर्छ,’ उनले भने, ‘यहाँबाट ज्ञान, सिप प्राप्त गरेकाहरुमा भोलिका दिनमा नेपालकै केही सकिन्छ र यही गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ ।’

Advertisement

शिक्षालयको पूर्वाधारका लागि कोरिया इन्टरनेसनल कोपरेसन एजेन्सी (कोइका) सँग सम्झौता भएलगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो । शुक्रबार बिहानै यसबारेमा कोरिया इन्टरनेसनल कोपरेसन एजेन्सी (कोइका) सँग सम्झौता भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका प्रतिनिधिबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्झौता भएको हो ।

परियोजना अन्तर्गत कोइकाले करिब ९० लाख अमेरिकी डलर (करिब सवा अर्ब रुपैयाँ) को सहायता अनुदान उपलब्ध गराउने छ । सम्झौतापछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरियाली सरकारलाई गण्डकी प्रदेश सरकार र प्रदेशवासीको तर्फबाट धन्यवाद ज्ञापन गरे । सरकारले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न गराउनमा कोइकाले उपलब्ध गराएको यो सहयोग महत्वपूर्ण सावित हुने उनको भनाइ थियो ।
३ वर्षअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका कन्ट्री डाइरेक्टर सङहुन घोले सहयोगको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार कोइकाले ३ वर्षसम्म ९० लाख डलर उपलब्ध गराउने सम्झौता भएपछि काम अघि बढेको हो ।

कार्यक्रममा सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए । जसले अन्ततः देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लामो समयदेखिको फेदीखोला १ का स्थानीयको आशंका तोडिएको बताए । जिटिइभिटी सञ्चालन गर्ने भनेर जग्गा अधिग्रहण गरेर राख्ने तर काम सुरु नहुने हुँदा स्थानीयले योजना तुहिनेमा शंका गरेको उनले सुनाए । गुर्धुममा भवन बनेपछि स्थानीयले पनि धेरै क्षेत्रबाट फाइदा लिन सकिने उनको भनाइ थियो । भवन निर्माणको काम सम्पन्न गर्नका लागि पालिकाको तर्फबाट साथ र सहयोग रहने सुनाउँदै शिक्षालय छिटो सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले परियोजनाले युवाहरू, महिला र असक्षम व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए । पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सिपले सुसज्जित गर्ने उनको भनाइ थियो । कोइकाले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्दै सोही अनुसार शिक्षालयलाई सहयोग गरेको उनले सुनाए ।

कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम थालिसकेको छ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपी लगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले काम थालिसकेको छ ।

गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षपण अनुसार तालिमहरु सञ्चालन गर्नका लागि पूर्वाधारका लागि प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताए । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिमहरु यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ ।

सम्झौता अनुसार परियोजना सन् २०२५ बाट सुरु भई ५ वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोईका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछ । कोइकाले ४ हजार ६ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ ।

गुर्धुममा पहिलो चरणमा प्रशासनिक भवन, महिला छात्रावास, ३ ल्याब भवन, परिक्षा भवन, शैक्षिक भवन बन्ने प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सापकोटाले जानकारी दिए । भवन निर्माणको काम सकिएपछि इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम/हस्पिटालिटी विषयमा पठनपाठन हुने उनले बताए ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया