एपिएफले उचाल्यो त्रिवेणी कप

लमजुङ । ३२ औं त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौंले जितेको छ । शनिबार बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा फाइनलमा घरेलु टिम बिवाइसी भोटेओढारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै एपिएफले उपाधिसहित नगद १२ लाख, स्वर्ण पदक र प्रमाणपत्र जित्न सफल भएको हो । उपविजेताले ६ लाख, रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए । अतिरिक्त समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा मोडिएको थियो । फाइनल खेलमा एपिएफका ऐन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
यसैगरी, सर्वाधिक गोलकर्ताको उपाधि एपिएफकै प्रदीप लामा ९६ गोल० ले प्राप्त गरेका छन् । उनीले नगद २५ हजार प्राप्त गरे ।
त्यसैगरी, बिवाईसीका इमिनियलले उत्कृष्ट खेलाडीको उपाधिसहित नगद २५ हजार प्राप्त गरे ।
सेमिफाइनलसम्म पुगेका त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लब काठमाडौंलाई २÷२ लाख र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
विजयीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । उनले त्रिवेणी युवा क्लबबाट आयोजना हुँदै आएको राष्ट्रियस्तरको त्रिवेणी कपले लमजुङलाई मात्र नभई सिंगो गण्डकी प्रदेशलाई नै चिनाउन टेवा पुग्ने बताए । पाण्डेले खेलको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउनुपर्ने सरकारको धारणा रहेको बताए ।
समापन समारोह त्रिवेणी युवा क्लब अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको हो ।
गत १२ पुसदेखि सुरु भएको प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।
तपाईको प्रतिक्रिया