सम्पादकीय—पर्यटनमा पुनर्जीवनको प्रयास

पर्यटनको राजधानी पोखराले पुस महिनामा सडक महोत्सव, यःमरी महोत्सव र अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलजस्ता कार्यक्रमहरू मार्फत आफ्नो सांस्कृतिक, प्राकृतिक र व्यावसायिक महत्वलाई उजागर गर्यो । यी मेला, महोत्सवले पर्यटकलाई आकर्षित मात्र गरेनन्, पोखराको पर्यटन क्षेत्रलाई कोरोनापछिको संकटबाट पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेले । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले आयोजना गरेको २६ औं सडक महोत्सवले ५ दिनको अवधिमा करिब ५ लाख पर्यटकलाई आकर्षित गरेको अनुमान छ ।
यो तथ्यले पोखराको पर्यटन व्यवसायको सम्भावनालाई उजागर गर्छ । महोत्सवकै दौरान होटलको अकुपेन्सी ८० प्रतिशतसम्म पुगेको तथ्यले महोत्सवको प्रभावकारिता पुष्टि गर्छ । र पर्यटनमा यस्ता गतिविधि किन चाहिन्छ भन्ने प्रष्ट गर्छ । त्यसो त अंग्रेजी नयाँ वर्षमा पोखरा नआउने र आएका पनि फर्किने प्रवृत्ति रोक्न र यहीं पर्यटक रोक्न तथा आकर्षित गर्न सुरु पोखरा सडक महोत्सवले आफ्नो औचित्य पुष्टि गरिरहेको छ ।
सडक महोत्सवसँगै पामेमा भएको अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल र यःमरी महोत्सवले पनि पर्यटकहरूको चासो बढाए । यी महोत्सवहरूले पोखराको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई प्रवद्र्धन गर्न सहयोग गरेका छन् । बेलुन फेस्टिभलका कारण नेपाल र पोखराको पर्यटकीय सौन्दर्य अन्तर्राष्ट्रिय मञ्चमा नयाँशैलीमा प्रचारित भएको छ । त्यसो त पोखरा सबै मौसमका लागि भन्ने नै गरिएको छ । यस्ता गतिविधिले महिनामहिनामा कुनै न कुनै पर्यटकीय प्रडक्ट पस्कनका लागि प्रेरित गरेका छन् । जसका कारण थरीथरी रुचिका पर्यटकलाई पोखरा निम्त्याउन सकियोस् र यहाँको अर्थतन्त्रलाई थप चलायमान बनाउन सकियोस् । बरु, मेला महोत्सवहरुको तालिका मिलाउने र आयोजकहरुबीच तालमेल मिलाउनेतिर भने ध्यान दिन जरुरी देखिन्छ ।
रेस्टुरेन्ट व्यवसायीले आयोजना गरेको भए पनि त्यसको प्रत्यक्ष फाइदा पर्यटनका सबैजसो विधालाई पुगेको छ । होटल, प्याराग्लाइडिङ, डुंगा व्यवसाय, कृषि, यातायातजस्ता क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पुर्याएको छ । यो समयमा देखिएको पर्यटकको चहलपहलले कोरोनापछि शिथिल भएको पर्यटन क्षेत्रमा आशा जगाएको छ । तर, यो उत्साहलाई निरन्तरता दिन योजनाबद्ध कार्यक्रमको खाँचो छ । जनवरी र फेब्रुअरी महिनामा थप कार्यक्रमहरूको आयोजना गरी पोखरालाई वर्षभरि नै पर्यटनको केन्द्रबिन्दु बनाउन सकिने सम्भावना देखिएको छ ।
तपाईको प्रतिक्रिया