नेपालमा ८५ हजार यौन श्रमिक

पोखरा । गोरेटो नेपालले यौन श्रमलाई निरअपराधीकरण गर्न माग गरेको छ । नेपालको कानुनले यौन श्रमलाई अपराधीकरण गरेको सन्दर्भमा संस्थाले त्यस्तो माग गरेको हो ।
संस्थाकी निवर्तमान अध्यक्ष विमला गुरुङले यौन श्रमलाई कानुनी मान्यता दिन नहुने तर्क गरिन् । ‘यौन श्रमिकलाई हुने विभेदको अन्त्यः हाम्रो गन्तव्य’ विषयक कार्यक्रममा उनले नेपालको कानुन र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय दस्तावेजहरुले यौन श्रमिकको पक्षमा धेरै व्यवस्था गरेको दाबी गरिन् । उनले नेपालका यौन श्रमिकले कानुनमा भएका व्यवस्थाको हक भोग गर्न नपाएको बताइन् ।
‘यौन श्रमलाई अपराधिकरण गरिएको छ । कानुनी रुपमा भएका भएका व्यवस्था हक भोग गर्नबाट बञ्चित छन्,’ उनले भनिन्, ‘यौन श्रमिकलाई हिंसा लाञ्छना, कलंक र भेदभाव गरिएको छ । राज्यका निकायले दिने सेवा, सुविधामा पहँुच पुगेको छैन ।’ उनले राज्यका सेवा प्रदायक सयन्त्रलाई संवेदनशिल बनाउन माग गरिन् ।
यौन श्रमिकलाई हेर्ने दृष्टिकोण फरक भएको चर्चा गर्दै उनले यौन श्रमिकलाई समाज भाड्ने तत्वको रुपमा चित्रण गरिएको टिप्पणी गरिन् । उनले राज्यका निकायले अपराधीलाई जस्तो व्यवहार गरेको आरोप लगाइन् । निवर्तमान अध्यक्ष गुरुङले यौन श्रमिकको सामाजिक, आर्थिक, स्वास्थ्य र श्रम अधिकार जस्ता मानव अधिकार प्राप्तिका लागि दबाबमूलक कार्यक्रम गरेको जानकारी दिइन् ।
यौन श्रमलाई भेदभाव रहित सुरक्षित बनाउन पर्ने र राज्यका निकायले स्वतन्त्रतापूर्वक जीवन यापनको वातावरण बनाउन पर्ने उनको माग छ । यौन श्रमले कानुनी रुपमा वैधता पाउन नहुने तर्क गर्दै उनले कानुनी मान्यता पाए झन बढी जोखिममा पर्ने दाबी गरिन् ।
जागृति महिला महासंघ काठमाडौंका कार्यकारी निर्देशक लक्ष्मी रानाभाटले महासंघ तथा स्वासा नेपालको सर्वेक्षणमा नेपालमा ८५ हजार यौन श्रमिक रहेको अनुमान गरिएको सुनाइन् । उनले कास्कीमा १ हजार ५ सय यौन श्रमिक संस्थाको सम्पर्कमा आएको बताइन् ।
संस्थाले यौन श्रमिकलाई पेशा गर्न प्रोत्साहित नगरेको दाबी गर्दै उनले ब्युटी पार्लर, चप्पल बनाउने तालिम, तरकारी, फलफूल व्यवसाय लगायतका वैकल्पिक पेशा अगाल्ने प्रेरित गरेको जनाइन् । उनले वैकल्पिक काममा जीविकोपार्जन गर्न नसकेर त्यही पेशामा फर्कन बाध्य भएको उल्लेख गरिन् ।
लैंगिक हिंसा, यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आएको सुनाउँदै उनले एचआइभी एड्स, यौन रोगबाट जोगाउनमा ध्यान दिएको बताइन् । अरुलाई जस्तै श्रमको मान्यता दिन आग्रह गर्दै उनले नागरिकले छनोट गरेको पेशालाई व्यवस्थित गर्नुपर्ने तर्क गरिन् ।
कार्यक्रममा गोरेटो नेपालका अध्यक्ष बुद्धलक्ष्मी गुरुङले १६ जिल्लामा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको पक्षमा काम गरेको जनाइन् । संस्थाका निवर्तमान उपाध्यक्ष पवित्रा मल्लले नेपाल, बंगलादेश, भारत र श्रीलंकाले सयुक्त रुपमा यौन श्रमिकको आधारभूत मानव अधिकार प्राप्तिका लागि संयुक्त रुपमा कार्यक्रम गरेको बताइन् ।
तपाईको प्रतिक्रिया