मानव तस्करी विरुद्ध एक होऔँः भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कोपिला नेपालले आयोजना गरेको ‘दक्षिण एसियामा आधुनिक दासत्व र मानव ओसारपसारका विरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ सुरुआत गर्दै भट्टले मानव बेचबिखन तथा ओसारपसार एक गम्भीर सामाजिक तथा मानवता विरुद्धको विश्वव्यापी समस्या रहेको उल्लेख गरे ।
उनले सुरुमा मानव बेचविखन दास र बधुवा श्रमिक वा यौनदासीको रुपमा मात्र सीमित रहेको आजको युगमा आधुनिक दासताका रुपमा देखापरेको उल्लेख गरे । मानव बेचबिखन तथा ओसारपसारको समस्यामा विशेष गरी बालिका र महिला प्रभावित भएको भन्दै उनले आधुनिक दासतालाई रोक्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रयत्न भइरहेको जनाए।
मानवअधिकार विरुद्धको कार्यलाई रोक्न समाजले सकारात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको उल्लेख गर्दै उनले पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवनयापनका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, विभेद, शोषण, बेरोजगारी, लैंगिक विभेद, पारिवारिक हिंसा र अशिक्षा नै मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारण हुन्,’ प्रदेश प्रमुख भट्टले भने, ‘विश्वसामु आधुनिक दासत्वको अँध्यारो पक्षसँग कसरी लड्ने भन्ने गम्भीर चुनौतीपूर्ण प्रश्न तेर्सिएको छ । नेपाल र तेस्रो विश्वका अन्य मुलुकका लागि त झन् यो भयावह रूपमा देखापरेको छ ।’
मानव बेचविखन विरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्य राखिएको यस सम्मेलन दक्षिण एसियाली मुलुकका अभियानकर्मीबीच आपसी सिकाई र राम्रो अभ्यासहरूको आदानप्रदानका लागि फलदायी बन्ने विश्वास व्यक्त गरे । ‘दासत्व र मानव बेचविखन विरुद्ध साझा सञ्जाल निर्माण गर्न र सरोकारवालाबीच संवादलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम लाभदायक रहनेछ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सांसद सरस्वती गुरुङले मानवबेचबिखन नियन्त्रणका लागि जनचेतना नै आवश्यक रहेको विचार राखिन् । सांसद नन्दकला नेपालीले महिला र बालबालिकामा सो समस्या देखिएकोप्रति चिन्ता व्यक्त गरिन् ।
जिल्ला समन्वय समिति अध्यक्ष लीलाधर पौडेलले समाज नै जागरुक भएर लागेमा यस्ता घटना कम हुने बताइन् । संस्थाका सल्लाहकार प्रकाश वाग्लेले यसका स्टेकहोल्डर र सरकारी निकायहरु अझै चनाखो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले दक्षिण एसियामा नै यो समस्या विकराल बन्दै गएकाले न्यूनीकरणका लागि मिडियालाई सशक्त बनाएर लैजानुपर्ने जनाए । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव विनोदविन्दु शर्मा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सम्बन्धित निकायका प्रतिनिधिहरुले आधुनिक दासत्व र मानववेचविखनको बारेमा बोलेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्मी शाहीको अध्यक्षतामा भएको सो सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकमा सामाजिक तथा बालबालिकाका क्षेत्रमा कार्यरत अभियानकर्मीको सहभागिता छ ।
वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार संसारभर ५ करोड मानिस आधुनिक दासका रूपमा बाँचिरहेका छन् । मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब ३५ हजार व्यक्ति बेचिने गरेका छन् । नेपालको संविधान र कानुनले यस अपराधलाई रोकी नागरिकको मानव अधिकारको सम्मान गर्ने प्रयत्न पनि गरेको छ । राष्ट्र संघीय दासत्व महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको १९६३ मै हो ।
तपाईको प्रतिक्रिया