प्रदेशभित्रै सचिव सरुवा, सामाजिक सचिव पाण्डे अर्थमा
सरुवा भएका उपसचिवले ५ महिनासम्म रमाना लिएनन्

पोखरा । गण्डकी प्रदेश सरकारले २ सचिवको पदस्थापनसँगै सरुवा समेत गरेको छ । लामो समयदेखि निमित्तको भरमा चलेको आर्थिक मामिला मन्त्रालयमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई सरुवा गरिएको छ ।
आर्थिकका सचिव पुरुषोत्तम शर्माको असोजमा सरुवा भएदेखि १० औं तहका अधिकृत डिल्लीराज रिज्यालले निमित्तको जिम्मा पाएका छन् । त्यसयता २ सचिव प्रदेमा आए पनि अर्थमा नपठाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालयमा पठाइएको थियो । आर्थिक मामिला मन्त्रालयमा संघीय दरबन्दीका राजश्वतर्फका उपसचिव पनि हुन्छन् । १० औं तहका अधिकृतलाई निमित्तको जिम्मेवारी दिएपछि आन्तरिक रुपमा असन्तुष्टि चुलिएको थियो । जसका कारण मन्त्रालयको कार्यसम्पादन नै प्रभावित भएको त्यहिँ कार्यरत कर्मचारीहरु बताउँछन् ।
राजनीतिक नेतृत्वको दबाब र चाहाना अनुसार सचिवहरु काम गर्न तयार नहुने गरेका दृष्टान्त यसअघि नै देखिँदै आएका छन् । सचिवहरु बलराम रिज्याल र पुरुषोत्तम शर्मा सरकार ‘अनुकुल’ हुन नसकेकै कारण १ वर्ष पनि नबसी संघमै फर्किएका हुन् । ठूलो मात्रामा रकमान्तर गर्नुपर्ने, योजनामा रकम थप्नुपर्ने साथै बजेटमै नभएका योजनाका लागि समेत रकम छुट्याउनुपर्ने दबाब आर्थिक मामिला मन्त्रालयका सचिवमाथि पर्ने गरेको छ ।
पुस ५ गते संघ सरकारको निर्णय अनुसार सरुवा भइ आएका २ सचिवमध्ये राजश्वका क्याडर टंकप्रसाद पाण्डेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने अनुमान गरिएको थियो । तर उनलाई प्रदेशकै योजना आयोगमा पठाएर सरकारले सामाजिकका राजेन्द्रदेव पाण्डेलाई आर्थिक मामिलामा पठाइएको छ ।
टंकप्रसादसँगै सरुवा भएर आएका नवराज ढकाललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिला संघबाटै मन्त्रालय तोकेर तोकेर पठाइने गरेकामा अहिले प्रदेश आएका सचिवलाई प्रदेशको मन्त्रिपरिषदले मन्त्रालय वा निकायमा खटाउने गरिएको छ ।
सरुवा भएका उपसचिवले ५ महिनासम्म रमाना लिएनन्
लामो समय सचिव रिक्त रहेको आर्थिक मामिला मन्त्रालयमा प्रशासनतर्फ उपसचिवको एउटा दरबन्दी छ । एउटा दरबन्दी रहेको ठाउँमा ५ महिनादेखि २ जना कार्यरत छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साउन अन्तिममा कर्मचारीको सरुवा गरेको थियो । आर्थिक मामिला मन्त्रालयका उपसचिव श्रीप्रसाद अधिकारीको उतिबेलै प्रदेशकै स्वास्थ्य मन्त्रालयमा सरुवा भए पनि अहिलेसम्म गएका छैनन् ।
सरुवा भएको २१ दिनभित्र रमाना बुझ्नुपर्नेमा उनले आर्थिक मामिला मन्त्रालयबाटै तलब खाइरहेका छन् । उनको सरुवा बदर पनि भएको छैन । बरु उनकै ठाउँमा प्रशासनकै उपसचिव डिल्लिराम रिज्याल गएका थिए । उनै रिज्याल अहिलेसम्म निमित्त सचिव छन् । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ व्यावहारिक समस्याका कारण उपसचिव अधिकारी सरुवा भएको कार्यालयमा जान नसकेको बताए । उनले भने, ‘केही व्याहारिक समस्या रैछ, अब १/२ दिनमै उपसचिव अधिकारीको रमाना हुन्छ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया