पुसमै घन्क्यो रत्यौली, महिला नाच्ने पुरुष हेर्ने

भीमपाणि बराल २०८१ पुष २२ गते १८:२१

लेखनाथ । पुसको जाडो, त्यसैमाथि मध्यान्नसम्म कुहिरोले ढाकेको मौसमका बाबजुद कास्कीको लेखनाथमा जारी महोत्सवमा रत्यौली गीतको प्रस्तुतिले दर्शकहरूलाई तताएको छ । विवाहको लगन नभए पनि लेखनाथ महोत्सवमा घन्किने मगर बाजाले विवाहको झल्को मेट्ने गरी बेहुला र बेहुलीको अभिनयमा रत्यौली प्रस्तुत गरिन्छ ।

Advertisement

महोत्सवमा एकतिर स्टेज र अर्कोतर्फ विवाह मण्डप सजाइएको हुन्छ । वैदिक विधिअनुसार पण्डितले पाठ गरी बेहुलीको घरतर्फ जन्ती गएपछि स्टेजमा रत्यौली गीत सुरु हुन्छ । परम्पराअनुसार रत्यौलीमा महिलाहरू मात्र सहभागी हुने प्रचलन रहेको छ, जसमा पुरुषले हेर्न र सुन्नसमेत नपाउने मान्यता थियो । तर यहाँ भने पुरुष दर्शकहरू खुल्ला रूपमा रत्यौली हेर्न महोत्सव धाउने गरेका छन् ।

पुरुष दर्शकहरू ठाँटिएर जन्ती जाने, महिलाहरूले बेहुलाको घरमा व्यङ्ग्यात्मक रूपमा गीत गाउने र रमाइलो गर्दै खेलिने रत्यौली महोत्सवमा हेर्न पाउने भएपछि युवा, वृद्धवृद्धा सबै यसलाई मन पराउन थालेका छन् । पुसको पहाडी घाम ताप्दै बदाम र सुन्तला खाँदै स्टेजमा आमादिदीबहिनीहरूले प्रस्तुत गर्ने रत्यौली महोत्सवको प्रमुख आकर्षण बनेको छ ।

सोमवार महोत्सवमा प्रतिभा जागृति महिला समूह, पोखरा–३३ र बहुउद्देश्यीय महिला समूह, पोखरा–३० ले आफ्नो प्रस्तुति दिएका थिए । महोत्सव अवधिभर दैनिक दुई समूहका दरले २२ समूहले रत्यौली गीत प्रस्तुत गर्ने संयोजक गंगा मल्लले जानकारी दिएकी छिन् । निर्धारण गरिएको समयमा गीत प्रस्तुत हुने र उक्त गीतको तालमा महिला र पुरुष दर्शकहरू नाच्ने अवसर पाउँछन् । साथै, लुठो (जोक्कर) ले हसाउने अभिनय गर्दै सबैलाई मनोरञ्जन दिन्छ ।

बेहुली लिएर आएपछि बेहुला र बेहुलीले समेत नाच्ने, स्टेजमा जन्तीलाई खाजाको रूपमा कसार, रोटी र अचार खुवाउने परम्परा महोत्सवको विशेषता बनेको छ । स्टेज संयोजक लोकदोहोरी गायकद्वय शिवहरि ढुंगाना र उमा खनालले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुतिको खुलेर प्रशंसा गर्दा दर्शकहरू उत्साहित देखिन्छन् ।

Advertisement

महोत्सव अवधिभर ३५ टिम दर्ता भए पनि प्रस्तुतिका आधारमा २२ समूहले मात्र प्रतियोगितामा भाग लिने अवसर पाएका छन् । सहभागी प्रत्येक समूहलाई प्रस्तुतिका आधारमा पुरस्कृत गरिने छ ।

विसं २०५७ सालदेखि सुरु भएको लेखनाथ महोत्सवले हरेक वर्ष फरक शैली अपनाउँदै आएको छ । २०६९ सालदेखि रत्यौली गीत प्रतियोगिता सञ्चालन गर्दै आएको महोत्सवले २०७५ सालदेखि प्रस्तुतिका आधारमा पुरस्कार प्रदान गर्दै आएको महासचिव जानुका अधिकारीले बताएकी छन् ।


यसैबीच, महोत्सवको पाँचौं दिन सोमवार करिब १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । प्रचारप्रसार उपसमितिका संयोजक जानुका अधिकारीका अनुसार सो दिन २५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा ३ सय ३६ वटा स्टल छन् । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिका लोपोन्मुख रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शन हुने आयोजकले जनाएका छन् ।

त्यसैगरी, ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट महोत्सवका थप आकर्षणका रूपमा रहेका छन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया