साढे ४१ करोडमा पोविविको नयाँ भवन

समाधान संवाददाता २०८१ पुष २२ गते १९:२९

पोखरा । पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र अत्याधुनिक शैक्षिक भवनको शिलान्यास सोमबार गरिएको छ । विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा बेदराज केसीले रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीको उपस्थितिमा भवनको शिलान्यास गरे । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, र कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो ।

Advertisement

नयाँ शैक्षिक भवन प्राज्ञिक भवन कम्प्लेक्सको पश्चिमपट्टि, स्कुल अफ इन्जिनियरिङ र स्ुूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि रहेको स्थानमा निर्माण हुँदैछ । निर्माणको जिम्मेवारी श्रेष्ठ एन्ड सन्स, चो रोल्पा जेभी, काठमाडौंले पाएको छ भने सुपरभिजन पेस कन्सल्टेन्ट, काठमाडौंले गर्नेछ ।

२०८१ साउन १५ बाट सुरु भएको यो परियोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ४१ करोड ४३ लाखमा निर्माण हुने यो भवनसँगै स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कुल अफ बिजनेसका लागि शौचालय निर्माण, र पुरानो प्रशासनिक भवनको मर्मत कार्य पनि अघि बढाइनेछ ।

Advertisement

भवन भुइँतलादेखि ७ तलासम्म निर्माण हुनेछ । यसमा २६ वटा कक्षाकोठा, १२ प्रशासनिक कोठा, २४ शिक्षकका कोठा, र ४ वटा विभागीय प्रमुखका कोठा रहनेछन् । साथै, प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री, बिजुली कोठा, र ४ वटा भण्डार कोठाहरू पनि रहनेछन् । भवनमा दुईवटा भर्‍याङ् र एउटा लिफ्टसहित ३०० जना क्षमताको अडिटोरियम हल र ४० जना क्षमताको मिनी हलको व्यवस्था गरिनेछ। भवन परिसरमा १९ वटा कार र १२० वटा मोटरसाइकल पार्किङ सुविधा पनि उपलब्ध हुनेछ । निर्माण कम्पनीले भवनलाई पर्दा, कार्पेट, र फर्निचरसहित सुसज्जित गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछन् ।

कार्यक्रममा निवर्तमान उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयमा नयाँ शैक्षिक भवन शिलान्यास भएकोमा खुसी व्यक्त गरे । उनले यसलाई आफ्नो सपना पूरा भएको महत्वपूर्ण क्षण भन्दै विश्वविद्यालय परिवारलाई बधाई दिए ।

Advertisement

नयाँ शैक्षिक भवनले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

तपाईको प्रतिक्रिया