पञ्चासे प्राज्ञ मञ्चको सभा, वृत्तचित्र लोकार्पण

समाधान संवाददाता २०८१ पुष २३ गते १८:१८

पोखरा । पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा तथा वृत्तचित्र लोकार्पण कार्यक्रम मंगलबार भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य प्रकाश बरालले पञ्चासे प्राज्ञ मञ्चले पोखरा–२३ को विकास र इतिहास संरक्षणमा भूमिका खेल्नुपर्ने बताए ।

Advertisement

उनले पोखरा महानगरपालिका–२३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने बनाउन प्रचार–प्रसारमा अझ सक्रियता देखाउन सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने धारणा व्यक्त गरे । उनले वृत्तचित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक सम्पदालाई समेटेका कारण यसको प्रचार–प्रसारमा सहयोग पुर्‍याउने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका–२३ का वडा अध्यक्ष रामकाजी गुरुङले वृत्तचित्रले वडा नम्बर २३ र २४ को केही भागको प्रचार–प्रसारमा योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विधामा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा टेकनाथ पराजुली, ईश्वरीप्रसाद लामिछाने, अमित पराजुली, भक्तबहादुर गुरुङ, ममता दाहाल, सन्देश थापा र स्वामी निषेशानन्द छन् । तिनीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा हरिलाल पौडेलले कविता वाचन गरेका थिए भने ज्येष्ठ नागरिक मिलन केन्द्रले भजन प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष प्राज्ञ गगाधर तिमिल्सिनाले संस्थाले पोखरा–२३ क्षेत्रको इतिहास र धार्मिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजीकरण प्राज्ञ गगाधर चपाईं र सचिव प्राज्ञ विश्वनाथ पौडेलले गरेका थिए । विश्वेश्वर पराजुली, आत्माराम गौतम र नारायण गौतमले संस्थाले गरेका कामहरूको चर्चा गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया