पोखरा महोत्सवमा २ सय ५८ स्टल

पोखरा । आउँदो २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक युनाइटेड क्लब पोखराले मंगलबार महोत्सव स्थल अमरसिंहचौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणसँगै पोखरामा खुला चिडियाखाना निर्माणमा पहल कदमी थाल्दै आएको युनाइटेड क्लबले १३औं संस्करणको पोखरा महोत्सवदेखि युनाइटेड छात्रावास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । युनाइटेड क्लबका महासचिव तथा प्रचार संयोजक दिनेश सुनारले १३औं संस्करणको पोखरा महोत्सव पश्चात छात्रावासको कामको सुरुआत हुने बताए ।
पोखरा महोत्सवकै आम्दानीबाट १३औं पोखरा महोत्सवसम्म आइपुग्दा पोखरा र आसपासका १९ वटा सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको छ । स्वास्थ्यको क्षेत्रमा विभिन्न दूरदराजका ग्रामीण भेगमा रहेकाहरूसँग लक्ष्य गरी निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको युनाइटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मूल आयोजक समितिका संयोजक लोकबहादुर थापाले बताए ।
महोत्सवमा शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाकसहित) हरुलाई निशुल्क प्रवेश गराइनेछ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल छन् र सम्पूर्ण स्टलहरू बुकिङ भइसकेका छन् । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानहरूको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरूको बजार सहजीकरण गराउने, सबै कलाकारहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गर्ने, क्षेत्रगत विकासमा टेवा पुर्याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् ।
अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाइटेड क्लबले हालसम्म पर्यटन प्रवद्र्धनतर्फ पोखरामा खुला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन वन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए । पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्तरता दिएको छ ।
१३औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एन्ड सन्नी इन्डस्ट्रिज प्रालिको बेटर, प्रायोजकहरूमा बन्दीपुर केबलकार एन्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सिड टेक्नोलोजिस, विवश इलेक्ट्रिकल प्रालि, साकुरा डिजाइनर्स एन्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एन्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि छन् ।
महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेसनल प्रालि, पेमेंट पार्टनरमा रेबल, एयरलाइन्स पार्टनरमा यती एयरलाइन्स, अफिसियल बैंकमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, अफिसियल इन्टरनेट वर्ल्डलिंक, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिंकिङ वाटर सोल्टी, विशेष सहयोगी संस्था पोखरा महानगरपालिका, सहयोगी संस्थाहरूमा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समूह र नेपाल टेलिकम छन् । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छ ।
त्यसैगरी महोत्सवमा आयोजना गरिने विद्यालयस्तरीय सामूहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने छ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।
१३ औं महोत्सवको थप आकर्षण र व्यावसायिक जानकारीका लागि अस्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ । पत्रकार सम्मेलनमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य लगायतले पत्रकार सम्मेलनमा सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया