माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल फागुनमा

समाधान संवाददाता २०८१ पुष २४ गते १७:०५

पोखरा ।
कास्कीको माछापुच्छे गाउँपालिकाले गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।

Advertisement


खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ बताए ।


माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गतेसम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको विजेताले उपाधिसँगै नगद २ लाख र उपविजेताले नगद १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समूहलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ ।

Advertisement


यता खुल्ला महिला भलिबल तर्फ विजेतालाई उपाधिसँगै नगद १ लाख र उपविजेतालाई नगद ५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समूहलाई नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबल तर्फ एक समूहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।


पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागततर्फ बेस्ट प्लेयर, कोच, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सर्भरलाई पालिकाको लोगोअंकित खेलकुद पोसाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले बताइन् ।

Advertisement


प्रतियोगितामा सहभागी हुन फागुन १२ गते दिउँसो ३ बजे भित्र टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए । उनका अनुसार टिम दर्ताका कुनै रकम तिर्नु पर्दैन ।

तपाईको प्रतिक्रिया